प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

 असार २६, २०७७ शुक्रबार ७:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड (म्यानयु) विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टोन भिल्ला माथि ३–० को फराकिलो जित दर्ता गरेको हो ।

म्यानयुलाई जिताउन ब्रुनो फर्नान्डो, मेसन ग्रीनउड र पौल पोग्बाले एक एक गोल गरेका थिए । स्टोनभिल्लाको घरेलु मैदानमा पाहुना टोली म्यानयुले २७ औं मिनेटमा अग्रता लिएको थियो । ब्रुनो फर्नान्डोले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरी पहिलो हाफको अतिरिक्त समयमा मेसन ग्रीनउडले गोल गरेपछि पहिलो हाफ म्यानयुले २–० ले अग्रता बनाउँदै सकाएको थियो ।

५८ औं मिनेटमा पौल पोग्बाले गोल गरेपछि म्यानयु ३–० ले अघि बढ्यो । त्यसपछि दुवै तर्फबाट कुनैपनि गोल नभएपछि एस्टोन भिल्ला ३–० ले पराजित भयो । जितसँगै म्यानयु ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने पराजित भएको भिल्ला २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यस्तै, प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा एभर्टन र साउथ ह्याम्पटन एक एक गोलको बराबरीमा रोकिएका छन् । ३१ औं मिनेटमा साउथ ह्याम्पटनका विलियन इंग्सले गोल गर्दै अग्रता दिलाए पनि ४३ औं मिनेटमा एभर्टनका रिचर्लसनले बराबरी गोल गरेका थिए । एर्भटन १० औ तथा साउथ ह्याम्पटन ११ औं स्थानमा छन् ।

अर्को खेलमा टोटनेहम र एएफसी बर्नमाउथ भने गोलरहित बराबरीमा रोकिएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया