सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि बसेर काम गर्न बाध्य

 साउन १, २०७७ बिहिबार १९:४७:४३ | रासस
unn.prixa.net

दार्चुला – चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनि बसेर काम गर्न बाध्य छन् । 

व्यास गाउँपलिका १ छाङ्गरु र सीमा प्रहरी चौकी तिङ्करकाे छायालेकमा रहेका प्रहरी त्रिपालमुनि बसेर काम गर्न बाध्य छन् । सीमा प्रहरी चौकी तिङ्कर छायालेकमा रहेको नेपाल प्रहरीले साप्ताहिक रुपमा नेपाल–चीन सीमासम्म गस्ती गर्छन् । 

गएको जेठ महिनामै छायालेक पुगेको प्रहरीले सीमा क्षेत्रसम्म साप्ताहिक गस्ती थालेको हो । नेपाल–चीन सीमा स्तम्भ नम्बर १ सम्म नेपाल प्रहरीको साप्ताहिक रुपमा गस्ती भइरहेको सीमा प्रहरी चौकी छायालेक तिङ्करका इञ्चार्ज हरकसिंह महताले बताउनुभयो । 

यो क्षेत्रमा विवाद छैन । तर पनि नेपाल प्रहरीले आफ्नो गस्ती समयअनुसार गरिरहेको उहाँले बताउनुभयो ।​छायालेकबाट तिङ्कर भञ्जाङमा रहेको सीमा स्तम्भसम्म पुग्न ४ देखि ६ घण्टाको उकालो हिँड्नुपर्छ । यहाँ पुग्न माथिल्लो बाटाबाट लेक लाग्ने गर्छ । सबै यो सीमा स्तम्भसम्म पुग्न सक्दैनन् । 

अप्ठ्यारो ठाउँ भए पनि कार्य क्षेत्रभित्रको सीमा स्तम्भ भएको कारण बेला बेलामा पुग्ने गरेको सुरक्षाकर्मी बताउँछन् । यस्तै छायालेकमा रहेको सीमा प्रहरी चौकीले रकाङ, तिङ्कर गाउँ, स्याङ्खोला, टाटालगायतका क्षेत्रमा नियमित गस्ती गर्छ । अत्यधिक हावाहुरी चल्ने ठाउँ छायालेकमा उनीहरु त्रिपालले छानो छाउने तथा झ्याल ढोकामासमेत त्रिपाल राखेर रात बिताउन बाध्य छन् । सानो भवनभित्र मिलेर रात काट्नुपर्ने प्रहरीको बाध्यता छ । 

भवन नभएका हाेइनन् तर भवनको छत राखिएको छैन । थोरै जस्तापातामा त्रिपाल राखेर बस्ने गरेको प्रहरी सुनाउँछन् । छायालेकका दुवै भवन बस्न लायक छैन । अहिले प्रहरीले एउटै भवनको दुई कोठामा जस्तापाता र त्रिपाल राखेर रात बिताउँछन् । 

विगतमा यो क्षेत्रमा रहेको प्रहरी चौकी भवनमा आगजनी भएपछि त्यसयता मर्मत सम्भार हुन नसक्दा प्रहरीले चिसो ठाउँमा त्रिपालको सहारा लिनुपरेको हो ।

दिनभरि हावाहुरी चल्छ । प्रहरी चौकी इञ्चार्ज महताले भन्नुभयो, ‘पहिल्यैदेखि यस्तै भवनमा प्रहरी बसेका रहेछन् । यो क्षेत्रमा आगो बाल्न दाउरा खोज्नै मुस्किल छ । चिसो ठाउँमा रात बिताउने प्रहरीले जमिनभित्रको रुखका जरा खोजेर आगो बालेर रात बिताउँछन् ।’

छाङ्गरु प्रहरी भवन जीर्ण

तिङ्करका छायालेक सीमा प्रहरी चौकी मात्र हाेइन, छाङ्गरुमा रहेको नेपाल प्रहरीको भवन पनि जीर्ण छ । विगतमा भेडा बाख्रा राखिएको गोठमा नेपाल प्रहरीले रात बिताउँदै आएको छ । 

व्यास गाउँपालिकाका कर्मचारी दिपक खातीले भन्नुभयो, ‘राष्ट्रकाे सुरक्षामा खटिएको प्रहरी बस्ने ठाउँको लागि पहल हुनुपर्छ ।’

उहाँले भन्नुभयो, ‘यी दुवै प्रहरी चौकीका भवन देख्दा साह्रै चित्त दुख्यो । जीर्ण प्रहरी चौकीको अवस्थाबारे गाउँ सभामा कुरा राख्छु । यो वर्ष मर्मतको लागि भए पनि बजेट छुट्याउन आग्रह गर्छु ।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमबहादुर विष्ट छाङ्गरु र तिङ्कर प्रहरी चौकीको भवनबारे आफूले माथिल्लो निकायमा जानकारी गराएको बताउनुहुन्छ । प्रहरीलाई बाह्रैमास राख्नको लागि आधुनिक सुविधायुक्त भवन चाहिन्छ । प्रदेश र सङ्घीय सरकारसँग भवनको बारेमा जानकारी पुगेको छ ।

प्रहरीलाई फोन छैन

छाङ्गरुमा इन्टरनेट र फोन सुविधा रहे पनि तिङ्करमा फोन सेवा छैन । तिङ्कर प्रहरी चौकी रहेको ठाउँमा फोन लाग्दैन । सञ्चार सेटमार्फत जिल्लामा सम्पर्क गर्नुबाहेक घरपरिवारसँग कुराकानी गर्न फोन सेवा छैन । छाङ्गरुमा राखिएको स्काई फोन टावरले तिङ्करसम्म काम गर्न नसक्दा प्रहरीमात्र हाेइन स्थानीय पनि फोन सेवाबाट वञ्चित भएका छन् । 

दुई हप्ताअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपाल–चीन सीमा स्तम्भसम्म संयुक्त गस्ती गरेका छन् । झण्डै साढे पाँच हजार मिटर उचाइमा रहेको नेपाल–चीन सीमा स्तम्भमा दुवै सुरक्षा निकायले संयुक्त गस्ती गरेका हुन् ।

सशस्त्र प्रहरी व्यास गाउँपालिकाको वडा नम्बर १ छाङ्गरुको गागामा छ । गागाबाट खटिएको प्रहरी निरीक्षक लिलीबहादुर चन्द र नेपाल प्रहरीका छायालेक तिङ्कर सीमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरकसिंह महता नेतृत्वको टोलीले संयुक्त रुपमा सीमा स्तम्भसम्म गस्ती गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया