‘समुदायमा कोरोना भाइरस हुन सक्छ’

 साउन ३, २०७७ शनिबार ७:८:१६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै  – सरकारले समुदायमा कोरोना सङ्क्रमण नफैलिएको दाबी गरे पनि सर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा संकलन गरिएका यात्रा विवरण नभएका तीन हजार व्यक्तिको नमुना परीक्षण गर्दा तीन जनाका कोरोना सङ्क्रमण भेटिएको छ । उदयपुर, पर्सा, बाँके, कास्की, सोलुखुम्बु लगायतका जिल्लामा पनि यात्रा विवरण तथा सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्तिमा भाइरस देखिएको थियो ।

विदेशबाट घर फर्किएका वा सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिमा मात्र कोरोना देखिंदै आएकोमा यात्रा विवरण नभएका तथा सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्तिमा समेत सङ्क्रमण देखिएपछि समुदायमा भाइरस फैलिएको चिन्ता बढेको छ । 

निकै बाक्लो बस्ती रहेको काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट स्थानीय ‘केस’ देखिन थालेपछि कतै भाइरस समुदायमै फैलिएको त छैन भन्ने चिन्ता बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण नदेखिएको बताएको छ, तर विज्ञहरुले समुदायमा भाइरस फैलिएको हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । 

कस्तो अवस्थामा समुदायमा हुन्छ ?

सङ्क्रमित क्षेत्रबाट आएका तथा सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्तिमा पनि भाइरस देखिनुलाई समुदायमा भाइरस देखिएको भनिन्छ । सोझो अर्थमा कुनै पनि व्यक्तिमा कोबाट भाइरस सर्यो भन्ने पहिचान गर्न सकिएन भने त्यस्तो अवस्थालाई समुदायमा भाइरस फैलिएको भनिन्छ । 

यो अवस्था नेपालमा पनि देखिन थालेको भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । भाइरस कोबाट कसकोमा गैरहेको छ भन्ने थाहा हुँदासम्म मानिसलाई अलग्याउन र उपचार गर्न सजिलो हुने भए पनि त्यो पहिचान हुन नसक्दा रोग नियन्त्रणमा चुनौती थपिन्छ । समुदायमा एकैपटक धेरैमा सङ्क्रमण देखिन सक्छ । नेपालमा पनि समुदायमा भाइरस देखिन थालेकोले अब थप सतर्क हुनुपर्ने विज्ञहरुको सुझाव छ । 

सरकारले समुदायमा कोरोना भाइरस फैलिसकेको कुरा बताएको त छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे अहिले नै समुदायमा भाइरस नफैलिएको दावी गर्नुहुन्छ । तर सम्भावना रहने कुरा भने नकार्नुहुन्न ।

उहाँ भन्नुहुन्छ “हामीले काठमाण्डौका विभिन्न ठाउँमा तीन हजार नमुना लिंदा तीन जनामा सङ्क्रमण भेटियो । उहाँहरुको यात्रा विवरण तथा सङ्क्रमित व्यक्तिको सम्पर्क नरहेकोले यसलाई स्थानीय केस भनिएको छ, थप अध्ययनको लागि नमुना संकलनको काम भैरहेको छ ।”

तर स्थानीय व्यक्ति जसले यात्रा गरेको छैन र सङ्क्रमितसँग सम्पर्क पनि भएको छैन भने उसलाई कहाँबाट भाइरस सर्यो त ? यही प्रश्नले विज्ञहरुलाई चिन्तित बनाएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी यसलाई कोरोना समुदायमा फैलिएको लक्षण भन्दै थप सतर्ककता आवश्यक रहेको बताउनुहुन्छ । 

डा. मरासिनी भन्नुहुन्छ “फाट्टफुट्ट स्थानीय केस देखिन थालेका छन्, यसको अर्थ अब समुदायमा पनि भाइरस हुन सक्छ भन्ने हो, जोखिम धेरै बढेको छ, मानिसले बेवास्ता गर्न थालेका छन्, यस्तै हो भने गहिरो संकट आउँछ, त्यसैले सतर्क बन्नुपर्यो । 

शैक्षिक संस्था खोल्नु थप चुनौती

डा.मरासिनी अहिले समुदायमा फाट्टफुट्ट देखिन थालेको कोरोना संक्रमण शैक्षिक संस्था खुल्ला गरेमा चाँडो फैलन सम्भावना रहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ “अहिले मानिसहरु निकै नजिकको चिनजानको व्यक्तिबाहेक अरुको घरमा गएका छैनन्, बालबालिकालाई बाहिर पठाएका छैनन् र बाहिर निस्कनेहरुले केही न केही सुरक्षाका उपाय अपनाएका हुन्छन् तर विद्यालयमा त्यो सम्भावना हुँदैन । त्यसैले विद्यार्थीबाट धेरैमा पुग्छ र त्यहाँबाट धेरै घरमा पुग्छ । त्यसैले शैक्षिक संस्थाबाट समुदायमा चाँडो फैलने सम्भावना रहन्छ ।”

विदेश वा सङ्क्रमण फैलिएको क्षेत्रबाट आएकाहरुमा मात्र कोरोना सङ्क्रमण देखिंदाको तुलनामा सङ्क्रमण समुदायमा फैलियो भने त्यो निकै चुनौतीपूर्ण हुने विज्ञहरु बताउँछन् । समुदायमा कोरोना फैलिएमा अवस्था डरलाग्दो हुने भएकोले हरेक व्यक्ति सचेत हुनुपर्ने डा. मरासिनी बताउनुहुन्छ । 

समुदायमा भाइरस फैलियो भने हामीलाई कतिबेला कोबाट भाइरस सर्छ भन्ने थाहा हुन्न । यो बेला जोखिम धेरै बढ्ने भएकोले थप सावधानी आवश्यक छ । कोरोना सङ्क्रमण हुनबाट बच्ने मुख्य उपाय व्यक्तिगत दूरी कायम, हात धुने र मास्कको प्रयोग गर्ने हो । 

पछिल्लो समयमा सडक तथा बजारसँगै सार्वजनिक यातायात समेत खुलेका छन् । सडक बजारमा चहलपहल बढेको छ । यसैले हरेक व्यक्ति थप सचेत भएर भाइरसबाट बच्ने उपाय अपनाउन विज्ञहरुको सुझाव छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया