१२० दिनपछि लकडाउन हट्याे

 साउन ६, २०७७ मंगलबार १९:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार रातिदेखि हट्ने भएको छ ।

कोरोनाको जोखिम कायमै रहे पनि सङ्क्रमणको दर घटेकाले लकडाउन हटाइएको अर्थ एवं, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । यसैबीच सरकारले पटक पटक लकडाउनकाे अवधि थप्दै आएकाे थियाे ।

आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताउनुभयो । लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो ।

सरकारले मङ्गलबार रातिदेखि लकडाउन खुला गर्ने निर्णय गरे पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थल, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, ब्युटी पार्लर, स्विमिङ पुललगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उहाँले बताउनुभयो । यद्यपि विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उहाँले बताउनुभयो ।

सरकारले साउन १५ गतेबाट होटल, रेस्टुरेन्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । तर सेमिनार र भेला भने गर्न नपाइने उहाँले बताउनुभयो ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवत जावत बन्द गरिएको उहाँले बताउनुभएको छ । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा बिन्दुबाट आउन पाइने तर लुकीछिपी आएको खण्डमा कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया