‘फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ, थप सजग रहौँ’

 साउन ११, २०७७ आइतबार १३:३२:८ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डाै – एक सय २० दिनसम्मको लकडाउन अन्त्य भएसँगै देशभर चहलपहल बढेको छ । समुदायस्तरमा कोरोना फैलिएका ठाउँबाहेक अरु सबै ठाउँमा गतिविधि बढेका छन् । तर सरकारले आवश्यक मापदण्ड नै पूरा नगरि लकडाउन हटाएको भनेर विरोध पनि हुन थालेको छ । 

अस्पतालमा भेन्टिलेटर बढाउनुपर्ने, आवश्यक जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने, आवश्यक जनचेतना जगाउनुपर्ने लगायत काम नगरिकन एक्कासी लकडाउन हटाउँदा यसको दूरगामी असर देखिने हो कि भन्ने चिन्ता सबैमा छ । यसै विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग टेकमान शाक्यले कुराकानी गर्नुभएको छ ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपछि चहलपहल बढेको छ । तर हरेक दिन सङ्क्रमित त बढेको बढ्यै छ, आइपर्ने जोखिमबाट कसरी बच्ने ?

लकडाउन नियन्त्रित तरिकाले खुलेको हो । लकडाउन खुले पनि सभा, सम्मेलन र जमघट गर्न पाइँदैन । स्कुल कलेज खुलेका छैनन् । भिडभाड नगर्ने, भौतिक दुरी दुई मिटरको कायम गर्ने, आवश्यक नपरि घरबाट बाहिर ननिस्कने, अनिवार्य मास्क लगाउने, हात राम्रोसँग धुने, स्यानिटाइजर प्रयोग गर्ने लगायत मापदण्ड अपनाएर काम गर्दै जाने हो । 

हामीले केही समयको लागि मात्रै लकडाउन खुलाएका हौँ । यसको हामी नतिजा हेर्छाैँ । नतिजा के आउँछ, हामी सुक्ष्म तरिकाले अध्ययन गरिरहेका छौँ । यदि सङ्क्रमण बढ्न थाल्यो भने फेरि लकडाउन गर्ने अवस्था पनि आउन सक्छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गरौँ । सबै मान्छे कोरोना पोजेटिभ छन्, म एक जना मात्रै कोरोना नेगेटिभ हो, उनीहरुबाट आफू बच्नुपर्छ भन्ने किसिमले धारणा बनाएर बाहिर निस्कनुपर्छ ।

तर नेपालका केही जिल्लामा त सङ्क्रमण दर बढिरहेको छ । लकडाउन खुलाउन अलि हतार भएन ?

हो, नेपालका केही जिल्लामा अलि धेरै सङ्क्रमण भइरहेको छ । यसो भन्दैमा सबै ठाउँमा सधैँभरि लकडाउन गरेर पनि सम्भव हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्‍याैँ भने लकडाउन धेरै गर्नु नै पर्दैन । कोरोनामा मात्रै अल्झिएर पनि हुँदैन । कोरोनाभन्दा अरु रोगको पनि उपचार गर्नुपर्छ हामीले ।

कोरोनाका कारणले भन्दा भोकमरीले मान्छे धेरै मर्न थालेको भन्ने कुरा पनि आउन थालेका छन् । राज्यले यो सबै कुराको अध्ययन गरेर मात्रै काम गरेको छ । लकडाउन सधैँभरि गर्न सकिँदैन । तर समस्या पर्‍याे भने फेरि पनि गर्न सकिन्छ । दैनिक जीवनयापन सहज हुनुपर्‍याे, आर्थिक क्रियाकलाप सहज हुनुपर्‍याे, राज्य पनि चल्नुपर्‍याे, सबैले काम गर्न पाउनुपर्‍याे । त्यो खालकाे वातावरण बनाउनकै लागि भनेर तत्कालका लागि लकडाउन हटाइएको हो ।

लकडाउन हटाउनका लागि के-के आधार आवश्यक थियो तर त्याे पूरा नभइ लकडाउन अन्त्य भयो नि हैन र ?

लकडाउन हटाए पनि जनस्वास्थ्यका मापदण्ड अपनाउनु भनेको हाे, के गाह्रो काम लगाएको छ र सरकारले ? भिडमा नजान, दुरी कायम गर्न, कपडाकै भए पनि मास्क लगाउन भनेको त हो नि । लकडाउन गरिरहँदा पनि विरोध, हटाए पनि फेरि किन विरोध ? सङ्क्रमण नबढाउने जिम्मेवारी हामी सबैको हो, होइन र ? आधार भनेकै यही त हो । 

तर परीक्षणको दायरा बढाउने, अस्पतालमा जनशक्ति बढाउने लगायत आधार खडा गरेर मात्रै लकडाउन हटाउनुपर्थ्यो हैन र ?

हामी अहिले दैनिक १५ हजार मानिसमा पीसीआर विधिबाट परीक्षण गर्न सक्छौँ । आवश्यक जनशक्ति पनि व्यवस्थापन गरेकै छौँ ।

तपाईँ भन्नुहुन्छ दिनकै १५ हजारमा सङ्क्रमण परीक्षण गर्ने क्षमता छ तर त्यो सङ्ख्यामा परीक्षण चाहिँ किन भइरहेको छैन ?

आवश्यक पर्दा हामी परीक्षण गरिहाल्छौँ । पहिले दैनिक २५ हजार मान्छे भारतबाट आउँदा अलि प्रेसर थियो तर अहिले दिनमा जम्मा १२ सय मात्रै आइरहेका छन् । अनि १२ सय मान्छेलाई १५ हजार टेस्ट कसरी गर्ने हो र ? परीक्षण गर्ने मान्छे नै छैन, अनि जो पायो त्यहीलाई परीक्षण गर्दै हिँड्ने कुरा त आउँदैन नि, आउँछ र ? 

त्यसैले अब हामी भिडभाड भएको ठाउँहरु जस्तै पसल, अस्पतालहरुबाट हामी परीक्षण बढाउँदै लैजान्छौँ । सेवा सुविधा भएपछि त परीक्षण गर्ने कुरा ठूलो कुरा भएन नि । हामी जहिले आवश्यक पर्छ, त्यही समयका लागि परीक्षण गर्न तयार भएर बसेका छौँ ।

कतिपय ठाउँमा समुदायस्तरमा पनि कोरोनाको सङ्क्रमण फैलिरहेको छ । ती ठाउँमा चाहिँ परीक्षण कसरी भइरहेको छ ?

धेरै सङ्क्रमणको आशङ्का गरिएका ठाउँबाट हामीले नमुना सङ्कलन गरिरहेका छौँ । उनीहरुको रिपोर्ट आएपछि मात्रै भन्न सक्छौँ । अस्पतालमा भेन्टिलेटर, दक्ष जनशक्ति बढाउने कुरा त लकडाउन हटाउनुअघि नै पूरा गर्नुपर्ने थियो हैन र ? सरकारले गर्न सक्ने र गर्नुपर्ने सबै तयारी पूरा गरेर नै लकडाउन हटाएको हो । आवश्यक पूर्वाधार सबै व्यवस्था भएको छ ।

अब सरकारले कस्तो रणनीति बनाएर अघि बढ्छ ?

हामीले अहिले चार महिनाको योजना बनाएका छौँ । चार महिनामा कति पूर्वाधार चाहिएला, कतिमा परीक्षण गर्नुपर्ला, कति औषधिलगायत सामग्री चाहिएला भन्ने तयारी गरेर हामी थप रणनीति बनाउँछौँ । अबको चार महिनामा सङ्क्रमित कति बढ्छ वा बढ्दैन भनेर हेर्छाैँ । त्यसैको आधारमा अरु रणनीति हामी तय गर्नेछौँ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया