रातो मच्छिन्द्रनाथको रथजात्राः कोरोना भाइरस र धार्मिक आस्थाबीचको अन्योल

 साउन १५, २०७७ बिहिबार १२:४९:४० | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डाै – सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि गएको १० गते रातो मच्छिन्द्रनाथको रथाराेहण गरियो । तर जात्रा कहिले हुन्छ भन्ने टुंगो लागेको छैन ।

वैशाख शुक्ल प्रतिपदाका दिन गर्नुपर्ने रथारोहण महामारीका कारण रोकिएको थियो । काठ, वेत र जुटबाट बनाइएको रथ, मूलदेवताको रथारोहणपछि चौथौ दिनमा तान्ने परम्परा छ । तर यसपालि रथजात्रा कहिले हुन्छ भन्ने टुंगो छैन । सरकारले पनि जात्रा गर्न अनुमति दिइसकेको छैन । 

रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवता मानिन्छ । १२ वर्षसम्म पानी नपरी अनिकाल भएपछि १६ सय वर्षअघि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका किसान ललित रथचक्रले भारत असमको कामरुकामाक्षबाट मच्छिन्द्रनाथ नेपाल ल्याएको र त्यसपछि वर्षा भएको किम्बदन्ती छ ।

किम्बदन्ती अनुसार परापूर्वकालमा गोरखनाथ उपत्यका आएका बेला काठमाण्डौ उपत्यकाका बासिन्दाले उनलाई भिक्षा दिएनछन् । भिक्षा नपाएको रिसले गोरखनाथ नागहरुलाई नियन्त्रणमा लिएर आफनो आसन बनाएर तपस्या गर्न थालेछन् । नागमाथि आसन जमाएर  बसेका कारण पानी पर्न छोड्यो ।

यही क्रम १२ वर्षसम्म कायम रह्यो । पानी नपरेपछि बाली उब्जन सकेन, धानबाली लागे पनि चामल नभएको धान मात्र फलेछ । जनजीवन अस्तव्यस्त हुन थाल्यो। किन पानी परेन भनेर छलफल हुन थाल्यो । तान्त्रिकहरुले गोरखनाथ नागको आसन बनाएर बसेकाले पानी नपरेको निष्कर्ष निकाले ।                 

गोरखनाथलाई आसनबाट कसरी उठाउने त रु उत्तरको खोजी हुन थाल्यो । अन्ततः भारतको कामारुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई ल्याउने निर्णय भयो । ल्याउने कसरी रु यसबारे पनि विस्तृत छलफल  भयो । समस्या तीनवटै देशको भएकाले तीनै देशका प्रतिनिधि जाने तय भयो । 

भक्तपुरका त्यसबेलाका लिच्छवी राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका किसान ललित रथचक्रको टोली मच्छिन्द्रनाथलाई ल्याउनको लागि बन्यो । राजाको नेतृत्वमा टोली भारतको कामारु कामाक्ष गयो । तान्त्रिकको शक्तिले रातो मच्छिन्द्रनाथलाई तान्न थाल्यो । 

रातो मच्छिन्द्रनाथ तान्त्रिकको नियन्त्रणमा पर्न थाल्यो । फलस्वरूप मच्छिन्द्रनाथलाई तान्त्रिकको ठाउँमा जाउँ जाउँ  लाग्न थाल्यो । जतिखेर पनि घरबाट निस्कन प्रयास गर्न थाले । यो कुरा उनकी आमालाई मन परेन । त्यसैले आफू सुतेको समयमा छोरा घरबाट बाहिर जान नसकोस् भनेर कपाल ढोकामा फिंजाएर उनकी आमा सुतिन । यता तान्त्रिकको तान्ने शक्तिले मच्छिन्द्रनाथलाई बसी नसक्नु भएछ । 

जतिखेर पनि बाहिर निस्कौं निस्कौं लाग्न थाल्यो, निस्कने कसरी आमाको कपाल नाघेर रु त्यसैले उनले आफ्नी आमाको एउटा एउटा कपाल पन्छाउँदै घरबाट निस्कनको लागि बाटो बनाउन थाले । सबै कपाल पन्छ्याएको जस्तो लागेर निस्किए । तर आमाको एउटा कपाल पन्छाउन बाँकी रहेको उनले चालै पाएनन् । आमाको कपाल नाघेका कारण उनलाई खुट्टामा कुष्ठरोग लाग्यो भन्ने गरिन्छ ।

भँवराको रुपमा ढोकाबाट निस्किएका मच्छिन्द्रनाथलाई ललित ज्यापूले बोकेको चाँदीको कलशभित्र थुनेर टोलीले नेपाल ल्यायो । यसरी ल्याउनको लागि तीन जनाको टोलीलाई ह्यग्रीभ भैरव, टीका भैरव, कर्कोटक नाग लगायतले पनि  सहयोग गरेको कारण मच्छिन्द्रनाथको रथका चार पांग्रालार्इ चार भैरवको प्रतीक, रथको अगाडको लामो काठलाइ कर्कोटक नागको प्रतीक र नागलाई छोप्नको लागि ह्यंग्रीभ भैरवको सुनको मुखौटा राखिएको हुन्छ । देवतालाई नेपाल त ल्याइयो, तर कहाँ राख्ने भनेर विवाद हुन थाल्यो ।

मेरो नेतृत्वमा मच्छिन्द्रनाथलाई यहाँ ल्याएकोले भक्तपुरमा राख्नु पर्दछ भन्न थाले भक्तपुरका राजा । त्यस्तै मैले तारण नहानेको भए मच्छिन्द्रनाथलाई कसरी नियन्त्रणमा लिन सकिन्थ्यो भन्ने तर्क थियो काठमाण्डौका तान्त्रिकको । त्यस्तै मैले बोकेर नल्याएको भए कसरी नेपाल ल्याउन सकिन्थ्यो भन्ने तर्क थियो ललितपुरका ललित ज्यापूको । त्यसैले रातो मच्छिन्द्रनाथलाई कहाँ राख्ने भन्ने विवाद लम्बिन थाल्यो । 

पछि ललितपुरका ललित ज्यापूले पास्नी सकेका बृद्ध देवता सरह हुने भएकाले बृद्धले जे निर्णय गर्छन्, त्यही मान्ने भन्ने प्रस्ताव राखे । सबैले प्रस्तावमा समर्थन गरे । ललितपुर इटी टोलका एक बृद्धलाई ज्यापूले नुन मिसाएर दही चिउरा खान दिए । नुनको सोझो गर्नुपर्छ भनेर बृद्धले मच्छिन्द्रनाथलाई पाटनमा राख्नुपर्दछ भने । 

सबैले बृद्धको कुरा मान्ने भनेर वचन दिएकाले मच्छिन्द्रनाथलाई पाटनमा नै राखेर भक्तपुरका राजा र काठमाण्डौका तान्त्रिक खाली हात फर्किए । तर जानुअघि भक्तपुरका राजाले दशैँसम्म पनि रातो मच्छिन्द्रनाथको रथजात्रा सकिएन भने देवतालाई भक्तपुरमा लैजाने चेतावनी दिएर गए ।

भक्तपुरको न्यातापोल मन्दिर मच्छिन्द्रनाथको लागि बनाएको भन्ने गरिन्छ ।   तर नुनको सोझो गरेका कारण बृद्ध जमिनमा भासिए भनिन्छ । आजसम्म पनि बृद्ध भासेर गएको खाल्डो इटी टोलमा छ  । 

रातो मच्छिन्द्रनाथलाई सम्मान गर्न गोरखनाथ नागको आसनबाट उठे । फलस्वरुप नागहरु मुक्त भए र पानी पर्न थाल्यो भन्ने किवंदन्ती उपत्यकामा प्रचलित छ । 

त्यसैले अहिलेसम्म पनि रातो मच्छिन्द्रनाथको रथारोहण गर्नुअघि भारतको कामारुकामाक्षबाट ल्याएको प्रतीक स्वरुप कटुवालदहबाट देवता ल्याउने चलन छ । कटुवालदहबाट चाँदीको कलशमा देवता ल्याएपछि मात्र रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिन्छ । पुल्चोकमा रहेकी मच्छिन्द्रनाथकी आमा जोगाम्बर पीठलाई साक्षी राखेर सूवर्ण विमानरूपी रथमा विराजमान गर्ने परम्परा छ।

कटुवाल दहबाट कलशमा राखेर ल्याएको दिन नै रथारोहण गर्ने परम्परा छ । तर यस वर्ष यो क्रम भंग भएको छ । 

वैशाख १२ गते देवतालाई कटुवाल दहबाट ल्याइएको थियो। तर कोरोना लकडाउनका कारण रथ निर्माण हुन नसकेकाले त्यसदिन मूर्तिलाई रथारोहण गर्न सकिएको थिएन । त्यसैले रथको साटो मच्छिन्द्रनाथलाई मच्छिन्द्रबहालमा रहको भजनपाटीमा राखिएको थियो। त्यसपछि पटकपटकको रथारोहणको साइतलाई स्थगित गर्दै तीन महिनापछि साउन १० गते रथारोहण गरियो।

परम्परा अनुसार रथारोहण गरेको चौथो दिन मीननाथलाई रथारोहण गरिन्छ । यसवर्ष साउन १३ गते  पाटनको तंगलमा निर्माण गरेको रथमा मीननाथलाई रथारोहण गरियो। 

परम्परा अनुसार त्यसै दिन मीननाथको रथलाई तंगलबाट पुल्चोकसम्म तानेर मच्छिन्द्रनाथलाई स्वागत गर्नको लागि पुर्याउनुपर्ने हो ।  त्यसपछि मीननाथको रथलाई अघि लगाएर रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहालसम्म पुर्रयाइने गरिन्छ । तर साउन १३ गते यसो हुन सकेन ।

दुवै देवताका मूर्तिहरूको रथारोहण सम्पन्न भए पनि यसवर्षको रथजात्रा भने अझै कोरोना भाइरसको संक्रमण कायम भएका कारण अनिश्चित बनेको छ। 

१६ वर्ष पहिलेदेखि रातो मच्छिन्द्रनाथको मूल पुजारीका रुपमा काम गर्दै आउनुभएका कपिल बज्राचार्यले पहिले अप्ठेरो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको बताउनु भयो । अहिले माहामारीको समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उहाँको भनाइ छ ।

वि. सं. २०७२ मा भूकम्पका कारण घरहरु भत्किएको र चर्किएकाले रथयात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि वैशाखमा रथजात्रा रोकिए पनि दशैँताका  जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उहाँको भनाइ छ ।

त्यस्तै रातो मच्छिन्द्रनाथका ज्योतिष दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीले पनि अहिलेसम्म कहिल्यै पनि जात्रा नरोकिएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर रथजात्रा सञ्चालन गर्नुपर्ने बताउनुभयो । विशेषतः९ महिनामा देवतालाई बुंगमती फर्काउन नहुने भन्दै उहाँले मलमास पनि नजिकिंदै आएकोले पाटनबाट देवतालाई जति सक्दो छिटो बुंगमती फर्काउनु पर्नेमा जोड दिनुभयो। 

त्यस्तै दशैँमा बुंगमतीमा सिहंसार्थबाहु र मच्छिन्द्रनाथबीच चन्द्रहार खड्ग साट्ने जात्राका लागि  पनि मच्छिन्द्रनाथको उपस्थित बुंगमतीमा  अनिवार्य हुनुपर्ने ३२ पानेजु संघका सदस्य माणिकराज शाक्यले बताउनु भयो। 
विशेषतः पुल्चोकबाट रथ तानेर गाःबहाल, हखा, सुन्धारा, लगनखेलमा विश्राममा राखिने समयमा रातो मच्छिन्द्रनाथको आमा जोगाम्बर पीठलाई साक्षी राखेर  विशेष पूजा गर्ने, हखामा नदी पार लगाउने, भक्तपुरका

राजाको तर्फबाट गरिने होम, महाबली पूजा, देवाली पूजा लगायतका पूजा अनिवार्य गरिन्छ ।

रथारोहण गरिएको स्थान पुल्चोकमा नै यस्तो पूजा विधि गर्न नमिल्ने ज्योतिष गुथियारहरूको भनाइ छ । रथजात्रा मात्र नै एउटै विकल्प भएको उनीहरुले बताए ।

घाम पानीले गर्दा रथ बिग्रिने सम्भावना भएकाले स्वास्थ्य सुरक्षाका सबै उपाय, मापदण्ड पालना गरेर जात्रा छिट्टै सञ्चालन गरिनुपर्ने रथ निर्माणमा संलग्न बाराही गुथियार दिलकुमार बाराहीले बताउनु भयो।

रथयात्रा अन्योलसँगै मच्छिन्द्रनाथलाई भक्तपुरमा लैजाउनुपर्ने माग पनि उठ्न थालेको छ । करिब १३०० वर्ष लामो रथयात्राको क्रममा  अहिलेसम्म  मच्छिन्द्रनाथ भक्तपुर लगिएको इतिहास छैन । तर प्राचीन किंवदन्तीलाई आधार मानेर दशैँसम्म रथयात्रा नभए भक्तपुरमा मच्छिन्द्रनाथ लैजानपाउनु पर्ने आवाज उठन थालेको छ । अहिलेसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा समयमा नभएर भक्तपुर लैजानु परेको इतिहास नभेटिएको भन्दै भक्तपुरका संस्कृतिविद् ओम धौभडेल  रातो मच्छिन्द्रनाथ भक्तपुर लैजान सहज नभएको बताउनु हुन्छ । 

नेवार समुदायले छुट्टाछुट्टै कामको अभिभारा लिएर यो रथजात्रा सञ्चालन हुन्छ । वाराही समुदायले रथ निर्माणको क्रममा काठको कामको जिम्मा लिएको हुन्छ भने यवालंले रथलाई बेतले बाँध्ने गर्छन् । त्यस्तै घकु गुथियारले रथ तान्ने समयमा पाङग्रामा काठको ब्रेक लगाउँछन् भने बज्राचार्य, शाक्यले गुथियार पुजारीका रूपमा देवताको रेखदेख गर्छन् ।

जोशी समुदायले देवताका हरेक धार्मिक कामको लागि साइत निकाल्ने र राजोपाध्यायले रथ तान्ने क्रममा अगाडि उभिएर निर्देशन दिने गर्छन् । त्यस्तै किसान समुदायले पनि रथ तान्नको लागि भूमिका खेलेको हुन्छ । 

गुथी संस्थानको नेतृत्व, ललितपुर महानगरपालिकाको सक्रियता, जिल्ला प्रशासन कार्यालयको सुरक्षा एवमं ज्यापू समाजको अगुवाइमा ललितपुरका विभिन्न जातीय समुदायको सहभागितामा रथजात्रा हुँदै आएको छ ।

मच्छिन्द्रनाथको आगमनसँगै वर्षा भयो र पुनः सहकाल लाग्यो भन्ने सम्झनामा भव्यताका साथ मनाइँदै आएको यस रथजात्रालाई यसवर्ष कसरी कहिले सञ्चालन गर्ने भन्ने जिम्मा जात्राका सरोकारवाला पक्ष सबैको काँधमा आएको छ । जात्राका प्रभावले जस्तोसुकै कठिन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ । 

 

अन्तिम अपडेट: भदौ २२, २०७७

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया