जात्रा र पर्वकाे समयमा भीडभाड नगर्न महानगरपालिकाकाे आग्रह

 साउन १६, २०७७ शुक्रबार १०:४३:१० | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ उपत्यकामा कोभिड-१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ ।

‘पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ ।  जात्रा र पर्वको समय पनि सुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो ’, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । ’

बिहीबार सम्पन्न कामपाको ५० औँ कार्यपालिका बैठकले विभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । उहाँले गृह प्रशासनले असुरक्षितरूपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था झन जोखिम हुने बताउनुभयो ।

‘अहिलेसम्मको प्रतिवेदनलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी सङ्क्रमण देखिएको छ ’, उहाँले भन्नुभयो, ‘उनीहरुबाटै समुदायमा समेत कोरोना सङ्क्रमण फैलिनसक्ने सम्भावना भएकाले सबैभन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ । ’ 

कामपा उपप्रमुख  हरिप्रभा खड्गीले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्ने धारण राख्नुभयो । बैठकले कामपा  विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि–२०७७ पनि पारित गरेको छ । 

त्यसैगरी बैठकले  भवन निर्माणको भेरियसन स्वीकृत गरेको छ भने चालू आर्थिक वर्षका लागि निर्माण सामग्रीको दररेट स्वीकृत गरेको छ । जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको निर्माण सामग्री, ज्याला, ढुवानी, भाडाको दररेट नै महानगरले स्वीकृत गरेको हो ।

काठमाण्डाै उपत्यकामा अहिलेसम्म ५७३ जनामा कोरोना भाइरसको पुष्टि भएकोे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले भन्नुभयो, ‘काठमाण्डौ उपत्यका जस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा सङ्क्रमण फैलिएमा जटिल समस्या आउन सक्छ । सबैले सचेत हुनुपर्छ ।’ 

पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा सङ्क्रमणको जोखिम उच्च देखिएको जनाइएको छ । उहाँले भन्नुभयो ‘यसरी आउने व्यक्तिले सम्बन्धित पालिकालाई सूचना आवश्यक छ ।’ जोखिममा रहेका समूहलाई परीक्षणको दायरामा ल्याउनुपर्छ । यसो भयो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुने उहाँको भनाइ छ । 

मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत बढी सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ । निर्देशक डा पाण्डेका अनुसार उपत्यकामा देखिएका कोरोनाका सङ्क्रमितमध्ये ३५० स्थानीयवासी रहेका छन् ।

उहाँहरुमध्ये २१० पुरुष र बाँकी महिला  छन् । सङ्क्रमितमध्ये केहीलाई जटिलता देखिएको पनि जानकारी गराइएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया