यात्रुसँगै उपत्यकामा कोरोना भित्रिएपछि नाकामा थप कडाइ

 साउन १६, २०७७ शुक्रबार १३:२३:५८ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – देशका विभिन्न जिल्लाबाट काठमाण्डौ भित्रिनेको सङ्ख्या बढ्न थालेसँगै उपत्यकामा कोरोनाका सङ्क्रमित थपिन थालेका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । लकडाउनको अवधिमा खान बस्न अभाव भएपछि मानिस पैदल हिँडेर आफ्नो गृह जिल्ला पुगेका थिए । 

लकडाउनको समयमा नागरिक हिँडेर गाउँ फर्किन थालेपछि देशभरका पालिकाले आफ्नो क्षेत्रका नागरिकलाई गाडी रिजर्भ गरेर लगेका थिए । लकडाउनका बेला अति आवश्यकबाहेकका कार्यालय बन्द हुँदा घर गएकाहरु लकडाउन खुलेसँगै उपत्यका भित्रिने क्रम बढेको छ । 

साउनको ७ गतेदेखि सरकारले लकडाउन हटेको घोषणा गरेसँगै लामो समय बन्द भएका कलकारखाना, विभिन्न कार्यालयलगायत खुल्न थालेका छन् । त्यहीअनुसार उपत्यका छाडेर गृह जिल्ला गएकाहरु काठमाण्डौ फर्किन थालेका हुन्  । 

उपत्यका प्रवेश गर्नेमा कोरोना सङ्क्रमणको जोखिम नभएका र उच्च जोखिम भएका सबै ठाउँका नागरिक छन् । यो क्रममा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएकामध्ये केहीमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार गएको चार दिनमा मात्रै काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङबाट आठ हजार चार सय एक जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ  । 

जसमध्ये नागढुङ्गाबाट आएका चार हजार सात सय १० जनाको नमुना सङ्कलन गर्दा २ हजार ३ सय २ जनाको रिपोर्ट आएको छ । नागढुङ्गा नाकाबाट आएर कोरोना परीक्षण गरिएकामध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

त्यसैगरी साँगाबाट दुई हजार चार सय नौ जनाको नमुना सङ्कलन गरिएकामा चार सय ३० जनाको रिपोर्ट आएको छ । त्यहाँ ११ जनामा कोरोना भएको पाइएको छ । यसैगरी नागढुङ्गा नाकाबाट काठमाण्डौ प्रवेश गर्न लागेका एक हजार दुई सय ८२ जनाको नमुना सङ्कलन गरिएको छ । जसमध्ये सात सय ४० जनाको रिपोर्ट आउँदा १० जनामा कोरोना पुष्टि भएको छ । तीन हजार चार सय ७३ जनाको परीक्षण गर्दा २४ जनामा कोरोना भएको पाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।  

अहिले स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँगको समन्वयमा उपत्यका छिर्ने नाकामा आइपुगेकाबाट छनोट गरेर कोरोना परीक्षणको लागि नमुना सङ्कलन गरिरहेको हो । उहाँका अनुसार जोखिम धेरै भएको ठाउँबाट उपत्यका प्रवेश गरेकालाई प्राथमिकता दिएर कोरोना परीक्षणको लागि नमुना सङ्कलनको काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘गाडीमा आएकाहरु सबैको पनि स्वाब सङ्कलन हुँदैन, त्यसबाट पनि नमुना स्वरुप व्यक्ति छनोट गरिन्छ । त्यसमा जोखिमयुक्त ठाउँबाट आएकालाई प्राथमिकता दिइनेछ ।’ 

नाकामा थप कडाइ

सरकारले शुक्रबारदेखि काठमाण्डौ भित्रने नागरिकको निगरानीमा थप कडाइ गरेको छ । काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गा, फर्पिङ र साँगाबाट आएका नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि थप निगरानी बढाइएको हो । 

केही दिनयता उपत्यका भित्रिने यात्रुको नाका मै कोरोना परीक्षणको लागि नमुना सङ्कलन गरेको सरकारले नाकामा आइपुगेका केहीमा कोरोना सङ्क्रमण भएको पाएपछि बिहीबार रातिदेखि नै रातको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ । 

यस्तै शुक्रबारदेखि दिउँसो उपत्यका प्रवेश गर्नेको पनि व्यक्तिगत विवरण सङ्कलन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो । अब दुई–तीन दिनको अवस्था हेरेर कसरी अघि बढ्ने भन्नेबारेमा छलफल थालेको उहाँले प्रस्ट पार्नुभयो । 

विभिन्न नाकामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण भएका व्यक्ति पनि रहेका पाइएपछि कोरोना काठमाण्डौ आइरहेको पुष्टि भएको भन्दै उहाँले परीक्षणको दायरा बढाउने तयारी गरिएको पनि बताउनुभयो । त्यसको लागि को, कहाँबाट आएको, किन आएको लगायतका विवरण सङ्कलन गर्ने काम भइरहेको छ । 

‘उपत्यका भित्रिने सबैको कोरोना परीक्षण गर्न सक्ने अवस्था छैन, खर्चले पनि धान्दैन । त्यही भएर नमुनाका रुपमा केही व्यक्तिको कोरोना परीक्षण गर्ने र अरु व्यक्तिको सबै जानकारी लिने गरेका छौँ’, गुरागाईंले भन्नुभयो, ‘यसबाट नै बाहिरबाट आएकाहरुमार्फत उपत्यकामा कोरोना भित्रिएको पुष्टि भएको छ । अझै दुई–तीन दिनको अवस्था हेरेर कसरी अघि बढ्ने भन्नेबारेमा छलफल थालेका छौँ ।’

यस्तै लामो दुरीमा कसरी गाडी चलाउने लगायतका बारेमा मोडालिटी तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवसायीसँग छलफल गरिरहेको गुरागाईंको भनाइ छ । 

कोसँग सचेत हुनुपर्ने ? 

अहिले उपत्यका प्रवेश गरेका सैलुनमा काम गर्ने व्यक्ति, ड्राइभर, मजदुर, व्यापारीदेखि जनप्रतिनिधिसम्मलाई कोरोना भएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार सबैभन्दा धेरै पर्साको वीरगञ्जबाट आएकाहरुमा कोरोना देखिएको छ । त्यसपछि विराटनगर, बारा, सप्तरी, सर्लाही, महोत्तरीबाट आएकाहरुमा कोरोना देखिएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएकाले व्यक्ति आफै सचेत हुनुपर्ने देखिएको छ । आफ्ना आसपासका जो कोहीलाई कोरोना भएको हुन सक्ने शङ्का गरेर आफू सचेत हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बारम्बार आग्रह गर्दै आएको छ । आफू जोगिएमात्रै परिवार, घर, छिमेकी, समुदाय र देशलाई जोगाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमको भनाइ छ । 

स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाकै कारण नेपालमा ५२ जनाले ज्यान गुमाएका छन् । १९ हजार सात ४७ जनामा सङ्क्रमण पुष्टि हुँदा निको हुनेको सङ्ख्या १४ हजार दुई सय ४८ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने पाँच हजार दुई सय ४७ रहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

2 Comments

  • मेराे नाम न्हुछें हाे नुछे हाेइन

    July 31, 2020, 3:52 p.m.

    हाेइन दाजु नेपालाॅ किन काम नहुन्छ कसरी काम नहुन्छ । फेरी गर्नेले मुडकिले राॅगाे नी ढाल्छ नगर्नेले झिंगाे नमार्छ । हेर्नुस न कुलमान टिमले बिजुलिकाे चिम बाले । काेविड १९ बाट बच्न महसुल विध्युतिय माध्यम बाट बुझाउन सक्ने बनाइयाे । उता कुन जातकाे KUKL मा महसुल बुझाउन ताॅती लाग्नुपर्ने । ग्रामीण खा पा काे महसुल online बाटै हुने यता राजधानीमा लकिर लाग्नु पर्ने । फेरी यता हाम्राे चिरी काजी भन्ने नगर प्रमूख छ ओठ भन्दा दाॅत अघिल्तिर परेका सुपर पण्डित गफै बढि। सडकमा भ्वाॅग उता बात गर्छन फ्लाइ वभर । उता कर बुझाउन असिन पसिन हुन्छ । कता गयाे जापान घुमेकाे ? माेबाइल बाट टिक्रीक्क गर्ने बित्तिकै नगरकाे खातामा पैसा कहिले पुर्याउने हाे ? गफै बढि । यस पालीकाे चुनाब पार्टि हैन क्याम्ब्रीज र अक्सफाेर्ड वाला लाइ । पार्टि हैन प्रफेशनल लाइ ।

  •  0 Reply
  • विध्या कुमार नायक

    July 31, 2020, 1:51 p.m.

    काठमाण्डौ छिर्ने नाकामा कडाई गरेर स्वाब संकलन गर्नु धेरै राम्रो काम गरेको हो / सरकारले अब बाँकी की महानगरपालिका र उपमहानगरपालिकाको सीमामा आवत जावत गर्ने मान्छेहरुको स्वाब संकलन गरेर कोरोना टेस्ट गर्यो भन्ने कोरोनाको संक्रमणबाट वच्न सकिन्थियो होला। धन्यबाद।

  •  0 Reply

तपाईको प्रतिक्रिया