शिक्षक सरुवामा विभेद गरेको भन्दै नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी

 साउन १८, २०७७ आइतबार २०:२६:३६ | भावुक योगी
unn.prixa.net

बर्दिया – शिक्षक सरुवामा विभेद गरेको आरोप लगाउँदै नेपाल शिक्षक सङ्घ ठाकुरबाबा नगर समितिले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आइतबार तालाबन्दी गरेको छ ।

ठाकुरबाबा नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलानको बहानामा स्वेच्छाचारी तथा मनोमानी ढङ्गले आपुूखुसी शिक्षकको सरुवा गर्ने निर्णय गरेकोले तालाबन्दी गरिएको नेपाल शिक्षक सङ्घ ठाकुरबाबा नगर समितिका अध्यक्ष खडकप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।   

‘शिक्षक सरुवाको निर्णय गर्दा नगर शिक्षा समितिले नेपाल शिक्षक सङ्घ र नेपाल शिक्षक महासङ्घ ठाकुरबाबा नगर कमिटीसँग कुनै परामर्श तथा सल्लाह नलिइ एकलौटी रुपमा आफुखुसी शिक्षक सरुवा गर्ने निर्णय गरेको हुँदा आन्दोलनमा उत्रनु परेको हो’, अध्यक्ष उपाध्यायले भन्नुभयो ।

ठाकुरबाबा नगर शिक्षा समितिले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ र नगरपालिकाले बनाएको नगर शिक्षा ऐन २०७५ तथा शिक्षक व्यवस्थापन कार्यविधि २०७५ का सम्पूर्ण प्रावधान पन्छ्याउँदै शिक्षक सरुवा गरेको बताएको छ । स्वविवेक र स्वेच्छाचारी प्रवृत्तिबाट राजनीति आस्था र जातजातिका आधारमा शिक्षक सरुवा गर्ने निर्णय गरेको समितिले आरोप लगाएको छ । 

शिक्षक सरुवा गर्नुअघि नगर शिक्षा समितिलाई सहमतिका आधारमा सरुवाको निर्णय गर्न ध्यानाकर्षण गराउँदा गराउँदै अटेर गरेर बहुमतको दम्भमा एकलौटी शिक्षक सरुवाको निर्णय गरिएको नेपाल शिक्षक महासङ्घ ठाकुरबाबा नगर कार्यसमितिका अध्यक्ष किरुलाल चौधरीले बताउनुभयो ।   

समितिले शिक्षक सरुवाको निर्णय तत्काल खारेज गर्न र शिक्षा शाखाको संयोजनमा शिक्षकका पेसागत सङ्घ सङ्गठनको सहभागितामा गठन भएको कार्यदलमार्फत प्रचलित ऐन, नियम र कार्यविधि अन्र्तगत रही कार्यादलले दिएको सिफारिसका आधारमा शिक्षक सरुवा गरिनु पर्ने माग गरेको छ ।

सरुवाको निर्णय फिर्ता तथा अन्य माग पूरा नहुञ्जेलसम्म शिक्षा शाखामा तालाबन्दी कायम रहने नेपाल शिक्षक सङ्घ ठाकुरबाबा नगर कमिटीले जनाएको छ । निर्णय फिर्ता नहुुँदासम्म शिक्षकहरु विद्यालय जाँदा हातमा कालोपट्टी बाँधेर र घाँटीमा ‘विभेदपूर्ण शिक्षक सरुवा खारेज गर’ नारा लेखिएको प्ले कार्ड झुण्डाएर जाने निर्णय गरेको छ । माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अघि बढाइने सङ्घले जनाएको छ ।

ठाकुरबाबा नगर शिक्षा ऐन २०७५ लाई कार्यान्वयन गर्ने क्रममा शिक्षक सरुवा तथा दरबन्दी मिलानको काम थालनी गरिएको र ४१ जना शिक्षकको सरुवा तथा दरबन्दी मिलानको काम ऐन नियमअनुसार नै अगाडि बढेको ठाकुरबाबा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । ‘यो निर्णय विवादको विषय नभइ कसैको असन्तुष्टि मात्र हो, आगामी दिनमा थप छलफल गरेर अगाडि बढ्न सकिन्छ’, उहाँले भन्नुभयो । 

नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका ४१ जना शिक्षकको सरुवा समायोजन गर्दा समन्वय नगरेको भन्दै नेपाल शिक्षक सङ्घ, नेपाल शिक्षक सङ्घ र थारु कल्याणकारिणी सभाले आपत्ति जनाउँदै नेपाल शिक्षक सङ्घले शिक्षा शाखामा गरेको तालाबन्दीमा ऐक्यबद्धता जनाएको थारु कल्याणकारिणी सभा ठाकुरबाबा बर्दियाका अध्यक्ष मैजु थारुले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिका शिक्षा समितिले गरेको शिक्षक सरुवा समायोजनप्रति नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ठाकुरबाबा नगर कमिटीका अध्यक्ष कलम शाहीले उचित निर्णय भएको प्रतिक्रिया दिनुभएको छ ।

नगर शिक्षा समितिका केही सदस्यहरुको असहमति भए पनि बहुमतका साथ नगर शिक्षा समितिको बैठकबाट मावि तहका १० जना, निमावि अर्थात् आधारभूत तहका ११ जना र प्रावि तहका २० जना गरी ४१ जना शिक्षकको शुक्रबार दिउँसो नगर शिक्षा ऐन २०७५ अनुसार सरुवा समायोजन निर्णय भएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।   

ठाकुरबाबा नगर शिक्षा समितिले शिक्षा ऐन २०७५ अनुसार शिक्षकको सरुवा समायोजन गरेको बताउँदै शिक्षा क्षेत्रको समग्र विकासका लागि ऐनअनुसार नगर शिक्षा समितिले निर्णय गरेको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया