पहिरोको कारण भालुबाङ-रोल्पा सडकखण्ड अवरुद्ध : अरु ६ वटा सडक पनि ठप्प

 साउन १९, २०७७ सोमबार ८:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पहिरोको कारण भालुबाङ-रोल्पा सडकखण्ड अवरुद्ध भएको छ । प्युठानको सरुमारानी गाउँपालिका-४ मा आज बिहान पहिरो खस्दा यो सडकखण्ड अवरुद्ध भएको हो । 

पहिरो पन्छाउन पहल भइरहेको प्युठान प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण ४ दिनदेखि अवरुद्ध सुर्खेत-जुम्ला सडकखण्ड पनि सञ्चालनमा आएको छैन ।

दैलेखको घट्टेखोलामा पहिरो गएपछि यो सडकखण्ड बन्द भएको हो । साँफेबगर-मार्तडी सडकखण्ड पनि लामो समयदेखि बन्द नै छ । 

बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । 

म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन ।

ठाउँ-ठाउँमा पहिरो गएकाले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ दार्चुला सडकखण्ड फेरि अवरुद्ध भएको छ । यो सडकखण्ड खुल्ने, बन्द हुने क्रम चलिरहेको छ । ठाउँ-ठाउँमा पहिरो गएकाले रसुवागढी नाका जोड्ने सडक पनि ठप्प छ ।

बन्द भएको सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया