'दुई अध्यक्षबीच सोचेभन्दा बढी हार्दिकता साटासाट सुरु भएको छ'

 साउन २०, २०७७ मंगलबार ७:४०:८ | सुवासचन्द्र नेम्वाङ
unn.prixa.net

काठमाण्डौ - स्थायी कमिटी बैठक स्थगन भएपछि र स्थायी कमिटीका केही साथीहरु छुट्टै भेलामा बस्नुभएपछि जुन तरंग उत्पन्न भएको थियो त्यसले हाम्रो पार्टीको जीवनमा केही जटिलता ल्याएको छ। 

त्यसपछिका केही दिन संवादहीनताको स्थिति रह्यो । हाम्रा दुई अध्यक्षबीच यो अवधिमा सम्पर्क रहेन । तर हामी सबैको प्रयासले फेरि छलफल सुरु भएको छ । उहाँहरुबीच राम्रो संवादको सुरुवात भयो । दुई अध्यक्षबीच सबै विषयमा छलफल गरेर निष्कर्षमा पुर्याउने कसरत भैरहेको छ ।

उहाँहरुबीच सोचेभन्दा पनि बढी हार्दिकता साटासाट हुने काम सुरु भएको छ । संवादहीनता टुटेको छ । संवाद र सहमतिबाटै एउटा निष्कर्षमा पुग्न सकिन्छ भनेर दुई अध्यक्ष लाग्नुभएको छ । पार्टीमा कुनै पनि हालतमा टुटफुट आउन दिनु हुँदैन भन्ने कुरामा दुई अध्यक्षबीचमा हार्दिकतापूर्वक समझदारी सुरु भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक स्थगित गर्नुभएको विषयमा केही साथीहरुले टिप्पणी गर्नुभएकै हो । ओली कमरेडले पनि प्रचण्ड-माधव नेपालको भेलालाई लिएर असन्तुष्टि व्यक्त गर्नुभएको छ । त्यसैले त यो विवाद सतहमा देखिएको हो । 

तर खुसीको कुरा, त्यो संवादहीनता टुटेको छ, दुई अध्यक्ष छलफलमा जुट्नुभएको छ । दुई अध्यक्षको सल्लाह र सहमतिले मात्रै पार्टीका सबै क्रियाकलाप अघि बढाउने भन्ने भएकोमा त्यस्तो हुन नसकेर नै स्थिति बिग्रिएको भन्ने प्रश्नहरु केही समयदेखि उठिरहेका थिए । 

सचिवालय, स्थायी कमिटी सबैमा यही कुरा उठेर नै समस्या भैरहेको हो । दुई अध्यक्षबीच अन्योल र जटिलताको बीचमा अचानक हार्दिकता साटासाट हुने कुरा कसरी सम्भव भयो ? भन्ने प्रश्न पनि उठ्न सक्छ । 

यो अचानक आकाशबाट झरेको कुरा होइन । धेरै कमरेडहरुको प्रयासले सम्भव भएको हो । पार्टीभित्र दुर्घटना नहोस् भनेर धेरै साथीहरु चिन्तित हुनुहुन्छ । प्रतिपक्षीका साथीहरुले पनि समस्या सुल्टाउन सुझाव दिनुभएको छ ।

हामी सबै मिलेर स्थापना गरेको जुन प्रणाली छ, त्यो प्रणाली नै कतै भत्किने पो हो कि भनेर प्रश्न पनि उठिरहेका छन् । यो विपक्षी या भनौँ बैरी खुसी हुने अनि देश र नागरिक दुःखी हुने काम बन्द गर्नुपर्छ भनेर सबैले भनेका थिए । त्यसैको परिणाम अहिले संवादहीनता अन्त्य भएको हो ।

बैरी खुसी हुने काम हामी नेकपाभित्रकै साथीहरुबाट भैरहेको छ । घरभित्र झगडा भयो भने विपक्षी र छिमेकीले झ्यालभित्र टाउको छिराएर उपदेश दिने मौका पाउँछ ।

आफ्नो थैली दह्रो बनाएर राख्यो भने अरुलाई चोर दोष लगाइरहनु पर्दैन । थैली दह्रो बनाउनु भनेको घरभित्र मिलेर बस्नु भनेको हो । यो जति पनि स्थिति देखा परेको छ नि, अरुले उचालेर खुसी मनाए होलान् । तर मुख्य दोषी हामी नै हौँ ।

हामी बेला मौकामा इतिहासमा फुटेका छौँ । फुटेर पनि फेरि जोडिएका छौँ । हामी जो जो त्यो फुटमा अनुभव हासिल गरेका छौँ, फेरि पनि त्यहि गल्ती गरेर फुटको संघारमा अग्रसर भएको हो कि भन्ने प्रश्न उठ्ने मौका हामी आफैंले दिईरहेका छौँ ।

त्यसैले त हामी नै यसमा जिम्मेवार छौँ । हाम्रा दुई अध्यक्षले भन्नुभएको छ, ‘हामी छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’ हाम्रा कतिपय साथीहरुले बैरी हाँस्नेगरी बाहिर कुरा गरेर हिँड्दै हुनुहुन्छ ।

मैले उहाँहरुलाई यसो नगरौँ भनेर आग्रह गर्दै आईरहेको छु । मलाई लाग्छ, अब भने हामी ती सबै कुराहरु पार्टीभित्र नै छलफल गरेर निकास निकाल्छौँ।

धेरै पहिलेदेखि नै एक व्यक्तिले पार्टी चलाउने र अर्को व्यक्तिले सरकार चलाउने भनेर कुरा उठ्ने गरेको थियो । यो विषय हाम्रो पार्टीमा मात्रै उठेको होइन । नेपाली कांग्रेसले नै यसको सुरुवात गरेको हो ।

त्यसले नेपाली कांग्रेसलाई कहाँ पुर्यायो, हामीलाई पनि त बेला बेलामा कहाँ पुर्याउने गरेको छ त्यो सबै कुराबाट पाठ सिक्दै छलफल गर्दै एउटा निष्कर्षमा हामी पुग्नुपर्छ । निष्कर्षमा पुग्छौँ भन्ने मलाई पूर्ण विश्वास छ ।

केपी ओलीको स्वीकृति लिएर अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अधिकार चलाउनुपर्ने भन्ने कुरा ठिक होइन । यो विषयलाई हाम्रा दुई अध्यक्षले छलफलमार्फत नै टुंगोमा पुर्याउनुहुन्छ । यस विषयमा म ढुक्क छु । महाधिवेशन, आवधिक निर्वाचन सबै कुरा हामी आफैंले व्यवस्था गरेका प्रणाली हुन् ।

ती सबै कुराहरुमा निर्णायक भूमिका हामीले नै निर्वाह गर्ने हो । त्यसैले यो कुरालाई हामीले अवश्य पनि टुङ्गोमा पुर्याउँछौँ । एउटा अध्यक्षलाई एउटा कुरा भन्ने अनि अर्को अध्यक्षलाई अर्को कुरा भनेर उचाल्ने चलन पनि नजिकबाटै देखेका छौँ ।

यो समस्याको समाधान गर्न हामी सक्षम छौँ । अब छलफल पार्टी बाहिरभन्दा पार्टी भित्र केन्द्रित हुन आवश्यक छ । पार्टी, आफ्ना नेताहरु र सरकारसँग सम्बन्धित विषय कि त दुई अध्यक्षसँग कुरा गर्ने हो कि त संगठित भएको कमिटीमा छलफल गर्ने हो ।

त्योभन्दा बाहिर गएर बहस गर्नु भनेको आलोचनामा उत्रनु मात्रै हुनेछ । हाम्रो प्रक्रिया, प्रणाली र पद्धतिले पनि त्यही कुरा बताउँछ । अर्को पटक ढङ्ग पुर्याएनौँ र अहिलेकै अवस्था रह्यो भने आम नागरिकमा हिसाब किताब बुझाउन जाँदा कान समात्नुपर्ने पक्का छ । अब बाँकी रहेको अवधिमा हामीले हाम्रा गल्ती कमजोरीलाई सुधार गर्नुपर्छ । 

अझै पनि समय छ हामी सच्चिने । नत्र भने हाम्रो यो ठूलो अवसर गुम्ने खतरा छ । बेलैमा सबै कमरेडहरुले बुद्धि पुर्याउनुपर्छ ।

(नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत २, २०८०

सुवासचन्द्र नेम्वाङ

नेम्वाङ पूर्व सभामुख तथा नेकपाका नेता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया