तस्बिरमा पाटनको मतया

 साउन २२, २०७७ बिहिबार ८:४०:२१ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

ललितपुर - दिवंगत भएका आफन्तजनको सम्झनामा गर्दै पाटनको मतयाः दीपयात्रा सम्पन्न भएको छ । कोरोना सङ्क्रमणका कारण असहज परिस्थिति कायमै रहेकाले यसवर्ष साधारण किसिमबाट बाजागाजाविना मतयाः बुधबार सम्पन्न भएको हो।

हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयाःमा परम्परागत बाजागाजासहित  हजारौं भक्तजन सहभागी भएर पाटनका भित्री शहरमा रहेका विभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ । विशेष गरेर बौद्ध धर्मालम्बीले वर्षभरिमा दिवंगत भएका आफ्ना आफन्तजनको सम्झनामा धान , चामल, पैसालगायतका विभिन्न सामग्री दान दिंदै हातमा दीप लिएर मतयाः जाने गर्दछन् ।

यसरी हातमा पानस, मैनबत्ती, लगायत बालेर यात्रा गरिने भएकाले यस यात्रालाई मत(बत्ती) याः( यात्रा) भनिएको हो ।

मतयाः मंगलबजार, सौगल, नागबहाललगायत १० वटा टोलले पालैपालो व्यवस्थापनको जिम्मा लिएर संचालन गर्ने गरिन्छ। यस वर्ष श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं ७ को आयोजनामा मतयाः संचालन भएको हो ।

कोरोना सङ्क्रमणका बीच परम्परालाई निरन्तरता दिनको लागि सम्पन्न भएको मतयाःमा दुई जना बज्राचार्य गुरुजु, झण्डा, निसला, गुलुपा, देवा, बत्ती, कपुर, हर्रो चढाउनका लागि कजि, कजिनी, त्वाःमो, मतयाः सञ्चालन समितिका पदाधिकारी र सदस्य मात्र सहभागी भएका थिए ।

परिक्रमा टोलीले  व्यवस्थित रूपमा ६ घण्टाको अवधिमा पाटनका महत्वपूर्ण महाविहार, विहार, बहिल र अशोक स्तुप सहित जम्मा ६३ वटा मुख्य देवस्थल दर्शन गरेर मतयाः सम्पन्न गरेका हुन् ।  

श्रृगंभेरी न्येकू जात्रा पनि भनिने मतयाःको क्रममा नौबाजाको प्रस्तुति सञ्चालन गर्नुपर्ने परम्परा छ । मतयाःको रुटमा परम्परागत धाः, दम्वःखिं , न्येकू लगायतका नौवटा बाजा बजाएर निश्चत डबलीमा बाजाको प्रस्तुति देखाउने गरिन्छ ।

त्यस्तै मंगलबजारको कात्तिक डबलीमा नौबाजाको विशेष कार्यक्रम हुने गरेकोमा यसवर्ष बाजाको कुनै पनि प्रस्तुति भने भएन। नौबाजाको प्रस्तुतिका लागि धेरै नै जनशक्ति चाहिने र अवलोकनकर्ताको पनि बाक्लै उपस्थिति हुने भएकाले यसवर्ष बाजाको प्रस्तुति नभएको हो।

विगतका वर्षहरूमा बुंगमती, थेचो, खोकना लगायतका ललितपुरका अरू ठाउँका भक्तजनहरू पाटनको मतयाः मा सहभागी हुने गरेकोमा केहि वर्ष अघि देखि ती ठाउँहरूमा पनि छुट्टा छुट्टै मतयाः संचालन हुन थालेको छ।मतयाः लिच्छवी राजा बालार्चनदेवको पालादेखि सुरु भएको विश्वास छ ।

अन्तिम अपडेट: कात्तिक २५, २०७७

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया