प्रचण्ड र ओलीबीच भेटवार्ता हुने सम्भावना कम

 साउन २२, २०७७ बिहिबार १४:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षहरु केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पनि भेटवार्ता हुने सम्भावना कम देखिएको छ ।

बुधबार बेलुका ५ बजे हुने भनिएको भेटवार्ता बिहीबारका लागि सारिएको थियो । बिहीबार पनि उहाँहरुबीच भेटवार्ता हुने सम्भावना नरहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभएको छ ।

पार्टी अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेलगत्तै नेता नेम्वाङले उज्यालोसँग कुरा गर्दै आजका लागि भेटवार्ता हुने सम्भावना आफूले नदेखेको बताउनुभएको हो ।  

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुन नसकेको समयमा अध्यक्ष प्रचण्डकै आग्रहमा आफू खुमलटार पुगेको नेता नेम्वाङको भनाइ छ । 

अध्यक्ष प्रचण्डसँगको छलफलका क्रममा दुई अध्यक्षबीच तत्कालै कुरा मिल्ने विषयमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।

छलफल सकारात्मक भएको र सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गरेर अघि बढ्नेतर्फ केन्द्रीत हुनुपर्ने नेता नेम्वाङको भनाइ छ ।

बिहीबारकाे भेटमा अध्यक्ष प्रचण्डले नेम्वाङलाई ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ ।

नेम्वाङले भने महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको र त्यसो भन्दा दायाँबायाँ गरिए एकता भङ्ग हुने र समग्र देश नै सङ्कटमा पर्ने बताउनुभएको थियो । साउन १३ गतेको स्थायी कमिटी बैठक स्थगित भएसँगै नेकपाभित्रको विवाद थप चुलिँदै गएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया