आपूर्ति विभागले अबको १५ दिनसम्म अत्यावश्यक सेवामात्रै प्रवाह गर्ने

 साउन २५, २०७७ आइतबार ७:३१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि १५ दिनसम्म अत्यावश्यक सेवामात्र प्रवाह गर्ने भएको छ ।

काठमाण्डौ उपत्यकामा कोभिड-१९ को जोखिम बढेको भन्दै विभागले आजदेखि केही सेवा अनलाइनबाटै लिन सकिने व्यवस्था गरे पनि कार्यालयमा भीडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवा केही दिनका लागि स्थगन गरेको हो ।तत्कालका लागि विभागले नयाँ निजी र साझेदारी फर्म दर्ता, अत्यावश्यक वस्तु आयात गर्नेबाहेक अरु व्यापारमुलक प्रकृति भएका प्राइभेट लिमिटेड (प्रालि)को इजाजतसम्बन्धी सेवा स्थगित गरिएको जनाएको छ । 

यस्तै निजी र साझेदारी फर्म नवीकरण, संशोधन र खारेजी तथा एजेन्सी नवीकरणका काम दैनिक बढीमा २०/२० वटा गरिनेछ । ती सेवा लिन अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत निवेदन तथा कागजात पेस गर्नुपर्ने र पेस गरिएको निवेदन स्वीकृत भएपछि मात्र कार्यालयमा सम्पर्क गर्नुपर्ने विभागले निकालेको सूचनामा उल्लेख छ ।

यो अवधिमा बजार अनुगमन, आयात/निर्यात अनुमति तथा इजाजत र मुद्दासम्बन्धी काम भने नियमित सञ्चालन हुने विभागले जनाएको छ । विभागले अत्यावश्यक सेवा लिन आउँदा अनिवार्य मास्क लगाउन र व्यक्तिगत दूरी कायम गर्न पनि सेवाग्राहीसँग आग्रह गरेको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया