कुन जिल्लामा कति सङ्क्रमित ?

 साउन २६, २०७७ सोमबार ८:५९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउन खुलेसँगै काठमाण्डौमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९० पुगेको छ । पर्सापछि काठमाण्डौ सङ्क्रमित धेरै भएको जिल्ला हो । पर्सामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय ३ छ । 

काठमाण्डौसहित चार जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेको छ । काठमाण्डौ, रौतहट, महोत्तरी र पर्सामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुलाई मन्त्रालयले उच्च जोखिम भएका जिल्ला भनेको छ । यस्तै दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला पनि बढी जोखिम मानिएको छ । सर्लाही, धनुषा र मोरङमा सक्रिय सङ्क्रमितको संख्या दुई सयभन्दा धेरै छ । 

यस्तै एक सयदेखि दुई सयसम्म सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १० रहेको छ । ती जिल्लाहरुमा बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, बाँके, कपिलवस्तु, बारा, ललितपुर र सप्तरी हुन् । पाँचथर, तेह्रथुम, रसुवा र रुकुम पश्चिममा एक/एक जना मात्रै सक्रिय सङ्क्रमित छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना सङ्क्रमित नै छैनन् । बाँकी जिल्लामा सङ्क्रमितको सङ्ख्या २ देखि ७७ सम्म रहेको छ ।  

एक जना भेन्टिलेटरमा, ७३ जना आईसीयूमा

आइतबार थप तीन सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आइतबार ४० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको संख्या १६ हजार तीन सय १५ पुगेको छ । 

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या  ६ हजार ५ सय ४४ रहेको छ । तीमध्ये ७३ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा छन् । 

आइतबार थप तीन जनाको ज्यान गएको छ । पर्सा र बाँकेमा ज्यान गुमाएका दुई जनामा सङ्क्रमण पुष्टि भएको हो भने कास्कीमा एक सङ्क्रमितको ज्यान गएको हो । अहिलेसम्म जम्मा सङ्क्रमितमध्ये शून्य दशमलव ३ प्रतिशतको ज्यान गएको पाइएको छ । 

लकडाउन खुलेसँगै सङ्क्रमण बढेकाले अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा नाकमुख छोपिने गरी मास्क लगाउन, भौतिक दूरीको ख्याल गर्न र बेलाबेला साबुनपानीले हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न सरकारले आग्रह गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया