बैठक बाेलाएर प्रशासकीय अधिकृत जानकारी नै नदिइ हिँडेपछि...

 साउन २९, २०७७ बिहिबार १७:४३:३६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – शीतगङ्गा नगरपालिकाले साउन २६ गते कार्यपालिकाको बैठक छ भनेर सबैलाई खबर गर्‍याे । वर्षाकाे समयमा गाडी नचल्ने बाटो सात घण्टासम्म पैदल हिँडेर कार्यपालिका र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु नगरपालिकाको कार्यालय ठाडा आए । 

सबैजना ११ बजेको बैठक भेटाउन पैदल हिँडेर आए तर बैठक हुन सकेन । बैठक राखेर प्रमुख प्रशासकीय अधिकृत नै बेखबर बनेपछि बैठक बस्न नसकेको नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो । २५ गते कार्यलयमा भएका प्रमुख प्रशासकीय अधिकृतले आफै बैठक राखेर २६ गते विना जानकारी हिँडेको उहाँको भनाइ छ । 

कार्यपालिकाको बैठक राखेर प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम कसैलाई जानकारी नगराइ, कार्यलय प्रमुखको समेत निमित्तको जिम्मा कसैलाई नदिइकनै हिँडेको नगरप्रमुख अधिकारीको  भनाइ छ । 

'टाढा टाढाबाट हामीहरु पैदल सात घण्टासम्म हिँडेर बैठकमा सहभागी हुन भनेर आयौँ  तर बैठक हुन सकेन', वडा नम्बर ७ का वडाध्यक्ष मोहन पन्थीले भन्नुभयो, 'वार्षिक समीक्षा तथा विविध विषयमा छलफल गर्ने भनिएको थियो तर बैठक बस्न सकेन । बैठक भनेर हामीलाई दुःखमात्र दिइयो ।' 

भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिका शीतगङ्गा नगरपालिकामा गोरुसिङ्गे सन्धिखर्क सडक बाहेकका अन्य अधिकांश सडक पहिरोले बन्द छन् ।

कार्यालय प्रमुख कार्यालय छाडेर जाँदा नगर प्रमुखलाई जानकारी दिने र आफ्नाे मातहतकाे कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने चलन रहे पनि प्रमुख प्रशासकीय अधिकृत गौतमले कसैलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी नदिएको नगरपालिकाले जनाएको छ । विना जानकारी कसैलाई निमित्त पनि नदिइकनै प्रशासकीय अधिकृत हिँडेपछि कार्यलयका अधिकांश काम रोकिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले भने मेयर र उपमेयरले आफूलाई सरुवा गर्न काठमाण्डौ गएर आएको थाहा पाएपछि त्यसको प्रतिरक्षा गर्न आफू काठमाण्डौ आएको टेलिफोनमा बताउनुभयो । उहाँले निमित्त कसैलाई दिनु नपर्ने आफूमुनिकाे कर्मचारी स्वतः निमित्त हुने प्रतिक्रिया दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया