कोरोना सङ्क्रमित बढ्दै गएपछि निषेधाज्ञा थप्ने क्रम पनि बढ्यो

 भदौ १, २०७७ सोमबार ८:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमितको संख्या थपिदै गएपछि जिल्ला र पालिकाले निषेधाज्ञा गर्ने क्रम बढेको छ । त्यस्तै यसअघि जारी गरिएका क्षेत्रमा पनि निषेधाज्ञा थप गर्न थालिएको छ । 

अहिलेसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयकाअनुसार २८ जिल्लामा स्थानीय प्रशासनले सङ्क्रामक रोग नियन्त्रण ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् । रेडजोनमा भए पनि काठमाण्डौ उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । 

तर, विभिन्न सेवा बन्द गरिएका छन् । भक्तपुरको मध्यपुर थिमिमा लकडाउन र काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गरेको छ । सरकारले दुई सयभन्दा धेरै सङ्क्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ । 

काठमाण्डौ, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके रेडजोनमा छन् । पर्सामा सुरक्षाकर्मी परिचालन हुने गरी भदौ १३ गतेसम्म निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो । त्यस्तै चितवनको माडीबाहेक अरु पालिकामा निषेधाज्ञा लागू गरिएको छ । सुनसरीमा पनि एक हप्ताका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । 

गोरखामा एक हप्ता, सुर्खेतको वीरेन्द्रनगरमा ४ दिनसम्म र मुगुको गमगढीमा भदौ १५ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

 देशभर गरी अहिलेसम्म २६ हजार ६ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाकै कारण एक सय चार जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया