अन्त्येष्टिपछि कोरोना पुष्टि, एक सयभन्दा धेरै कन्ट्याक्ट ट्रेसिङमा

 भदौ २, २०७७ मंगलबार २०:४४:४३ | भावुक योगी
unn.prixa.net

बर्दिया – मधुवन नगरपालिका ९ का ७८ वर्षीय एक पुरुषको अन्त्येष्टि गरिसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छ । 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मङ्गलबार निधन भएका उहाँको घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

‘कोरोना रिपोर्ट नआउँदै शवको दाहसंस्कार भएको छ । मलामी गएका झण्डै ३० ३५ जना सबैलाई क्वरेण्टीनमा राख्ने तयारी भइरहेको र दुई वटा बस्ती पनि सिल गर्दैछौँ । किरियापुत्रीलाई पनि अलग्गै क्वरेण्टीनमा बस्न भनेका छौँ’, प्रजिअ अधिकारीले भन्नुभयो । 

कन्ट्याक्ट ट्रेसिङमा परेका घरपरिवार र छिमेकी गरी एक सय १३ जना रहेको प्रजिअ अधिकारीले बताउनुभयो । कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले कसरी शव हस्तान्तरण गर्‍याे त्यसबारे पनि स्पष्टीकरण माग्ने उहाँले बताउनुभयो । 

७८ वर्षीय पुरुषको बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कारमा गएका झण्डै ३५ भन्दा धेरै व्यक्तिलाई क्वरेण्टीनमा राख्ने तयारी भइरहेको र कन्ट्याक्ट ट्रेसिङमा परेका एक सय जनाभन्दा बढीको स्वाब परीक्षण गरिने मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताउनुभयो ।

मधुमेहको समस्या रहेका वृद्धलाई निमोनिया भएपछि सोमबार अस्पतालमा भर्ना गरिएको र मङ्गलबार बिहान निधन भएको थियो । 

कोरोना परीक्षणको रिपोर्ट नआउँदै अस्पातालले मृतकको शव मङ्गलबार बिहान दिएपछि आफन्तले बुझेर लगेका थिए । दाहसंस्कार सकिएलगत्तै दिउँसो ४ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको प्रजिअ अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया