कोरोनाबाट विदेशमा मात्रै ३४ हजार ७ सय नेपाली सङ्क्रमित, थप सचेत हुन आग्रह

 भदौ १४, २०७७ आइतबार १०:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको साता विदेशमा कार्यरत थप तीन नेपालीको कोरोनाबाट ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार गएको साता बेलायतमा १ र यूएईमा २ जना नेपालीको ज्यान गएको हो । यो सँँगै शनिबार साँझसम्ममा विश्वका १६ देशमा १९५ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको हो । अहिलेसम्म विदेशका विभिन्न ३८ देशमा रहेका ३४ हजार ७ सय १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना सङ्क्रमणबाट निको भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना सङ्क्रमण सामान्य बढेको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा सङ्क्रमण सामान्य रुपमा बढेको डा. सापकोटाले बताउनुभयो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि सङ्क्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नैपर्ने भए सीमित संख्या र सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभयो ।

डा. सापकोटाले कोरोना सङ्क्रमणका क्रममा मनोबल उच्च राख्नसमेत आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उहाँले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गर्नुभएको हो ।

आफूलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा. सापकोटाको भनाई छ । मानसिक तनावबाट सकेसम्म मुक्त हुन, एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगीत सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया