निषेधाज्ञा टेर्नै छाडे नागरिकले, प्रशासन भन्छ, 'धेरै लम्ब्याउन हुँदैन'

 भदौ १५, २०७७ सोमबार १४:२०:३५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – बुढीगंगा गाउँपालिका ३ का  बिर्खु चौधरी एक हल गोरू चराएर घर फर्किँदै हुनुहुन्थ्याे । दिउँसो ४ बजेको समयमा उहाँले चराएर ल्याउँदै गरेको हल गोरुलाई कोशी राजमार्गको नेमुवाबाट सडक पार गराउन झण्डै १० मिनेट लाग्यो । उहाँलाई दुई दिनदेखि यस्तै समस्या छ । 

यो समस्या उहाँको मात्र हैन, सडक पार गर्ने जो कोहीलाई केही बेर पर्खिएर सवारीको आवागमनको अवस्था हेरेरमात्र बाटाे काट्नु पर्ने अवस्था छ । निषेधाज्ञा गरिएका क्षेत्रमा पनि सवारीका चापका कारण सर्वसाधारणलाई बाटो काट्नै समस्या हुन थालेको छ । विराटनगर महानगरपालिकासहित बुढीगंगा गाउँपालिका वडा नम्बर १ देखि ४ सम्म तथा कटहरी र रंगेलीमा निषेधाज्ञा जारी गरिएको छ । तर सडकमा सवारीको चाप बढ्दो क्रममा रहेको छ ।

गएकाे चैत ११ गते सरकारले घोषणा गरेको लकडाउनको कारण सडकमा निकै पातलो सवारीका साधन कुदे । त्याे समय किसान सहजै वारपार गर्न सक्थे । सवारीको चाप नहुँदा सडक बिस्कुन सुकाउने थलो पनि बन्यो । तर पछिल्ला दिनमा सवारीका साधनको चाप सडकमा देखिन थालेको छ । 

विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै लकडाउन घोषणा गरिए पनि त्यो प्रभावकारी नभएको गुनासो आएपछि अहिले निषेधाज्ञा जारी गरिएको छ । तर निषेधाज्ञाको पनि पूर्ण पालना भएको छैन ।

निषेधाज्ञाको सुरुवात

जिल्ला प्रशासन कार्यालय मोरङले गएकाे भदौ ५ गते सुरक्षा समितिको बैठकबाट केही पालिकामा निषेधाज्ञा जारी गर्‍याे । विराटनगर महानगरपालिकासहित कटहरी, बुढीगंगा, रंगेलीलाई केन्द्रित गरेर भदौ ५ गते घोषणा भएको निषेधाज्ञा १० गतेदेखि सात दिनको लागि थप गर्‍याे । तर यो निषेधाज्ञाको मोडालिटी फरक थियो । पहिलो पाँच दिन अन्त्यन्त कडा भनिएको निषेधाज्ञा दोस्राे चरणमा जाँदा बिहान १२ बजेसम्मको लागि पसल खुल्न दिने निर्णय भयो । त्यहीअनुसार कार्यान्वयनमा पनि गयो । त्यसयता बजारमा बिहानभरि निकै चहलपहल देखिन्छ भने दिउँसो १२ बजेपछि सुनसान हुन्छ । बजार पसल बन्द भए पनि दिउँसोको समयमा सर्वसाधारणको आउजाउ भने बढ्दै जान थालेको छ । निषेधाज्ञाको प्रभावकारी कार्यान्वायन हुन नसकेको आरोप लाग्दै आएको छ ।

भदौ १६ गते राति १२ बजेसम्मको लागि भनेर गरिएको दोस्राे चरणको निषेधाज्ञा सकिँदैछ । तर यो अवधिमा निषेधाज्ञाको पूर्ण रुपमा पालना नभएर त्रास देखाउनको लागि मात्र निषेधाज्ञा भनिएको हुन सक्ने स्थानीयको बुझाइ छ । यो अवधिमा बिहानभरि बजार भिड गरेको नहेर्ने र यो समयमा कोरोना नै नसर्ने गर्ने गरिएको अनि दिउँसो मात्र सर्छ भनेर कडाइ गर्नु ठिक नहुने स्थानीय रीता न्यौपानेको भनाइ छ । ‘निषेधाज्ञा कि पूर्ण कार्यान्वयनमा लैजानुपर्छ हैन भने आधा दिन निषेधाज्ञा, आधादिन बुजार खुला हुनुहुँदैन', न्यौपानेले भन्नुभयो, 'कि पूरै खाेल्नु पर्‍याे हैन भने ठप्प बनाउनु पर्‍याे ।’

निषेधाज्ञा समस्याको समाधान हैन

कोरोनाको सङ्क्रमण समुदायस्तरमा पुग्यो भनेर विराटनगर महानगरपालिकाले साउन १६ गते राति १२ बजेदेखि ३० गतेसम्म १४ दिनकाे लागि पहिलो चरणमा महानगर क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गर्‍याे ।

त्यसपछि एक हप्ताको लागि थप गर्ने निर्णय भयो । त्यसयता भदौ ५ गतेदेखि निषेधाज्ञा अझै जारी छ । तर जिल्ला प्रशासन कार्यालय भने अब यो लकडाउन वा निषेधाज्ञाको रुपमा जनतालाई थप दुःख दिने पक्षमा देखिएको छैन । 

‘निषेधाज्ञा तथा लकडाउनको नाममा तल्लो तहका जनतामा निकै सकस भएको भन्ने जानकारीमा आएको छ, यसलाई कसरी लग्ने भन्नेबारेमा हामी छलफल गर्दैछौँ, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भन्नुभयो, ‘अब यो धेरै लम्ब्याएर जानु हुँदैन कि भन्ने पनि हो ।’ प्रशासनले आमनागरिकको समस्यालाई ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाएको जनाएको छ ।

प्रदेश १ मा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या २३ जना

प्रदेश १ मा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या २३ पुगेको छ । पहिलो पटक गएकाे असार १४ गते मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको ज्यान गएकाे थियो । त्यसयता मोरङमा १७, सुनसरीमा पाँच र झापामा एक जना गरी २३ जनाको ज्यान गएकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ बाट आएर उपचार गराउने क्रममा थप नाै जना सङ्क्रमितको पनि प्रदेश १ मै ज्यान गएकाे छ । याेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या ३२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगर महानगरपालिकामा मात्रै ११ जनाको ज्यान गएकाे छ । विराटनगर ५ का ७७ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण पहिलो पटक ज्यान गएकाे थियो । प्रदेश १ मा कोरोना सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या तीन हजार नाघेको  छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया