मकवानपुरमा निषेधाज्ञा भोलिदेखि हट्ने, बिहान १० बजेसम्म बजार खुल्ने

 भदौ १५, २०७७ सोमबार १८:१:२५ | हरि हुमागाईं
unn.prixa.net

मकवानुपर – मकवानपुरका चार  वटा पालिकामा लगाइएको निषेधाज्ञा मङ्गलबारदेखि हटाइने भएको छ । बजार क्षेत्रमा बन्द गर्ने स्वरुप पनि परिवर्तन गरिने भएको छ । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाभरि र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा मङ्गलबारदेखि हट्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।

सोमबार बिहान बसेको कमान्ड पोस्टको बैठकले निषेधाज्ञा हटाएर दिउँसोको समयमा बजार र यातायात भने बन्द राख्ने निर्णय भएको उहाँले बताउनुभयो । यही निर्णयपछि मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा लगाइएको निषेधाज्ञा पनि हटाइने उहाँले बताउनुभयो । निषेधाज्ञा हटेसँगै हेटौँडाका चोक चोकमा परिचालन गरिएका नेपाली सेना ब्यारेकमा फर्कने छन् ।

अहिलेको स्वरुपलाई मङ्गलबारदेखि भने केही सहज बनाइने प्रजिअ नेपालले बताउनुभयो । बिहान १० बजेसम्मका लागि सबै प्रकारका व्यवसाय सञ्चालन गर्न दिइने र यातायात भने बन्द नै गरिने भएको छ । दिउँसो केही घण्टा बैँक तथा कार्यालय खोल्नका लागि सहज बनाइएको उहाँले बताउनुभयो । 

बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको भए पनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २५ सम्म लागू हुनेछ ।

बिहान बजार सञ्चालन भए पनि सवारी साधनमा भने रोक लगाइएको छ । दिउँसो १० बजेदेखि टिप्पर सञ्चालन गर्न पाइनेछ भने भारी सवारी साधनहरु साँझ ७ बजेपछि मात्र सञ्चालन हुनेछन् । उद्योगको हकमा भने मजदुरलाई क्वरेण्टीनको व्यवस्था गरेर मात्र सञ्चालन गर्न पाइनेछ । 

मकवानपुरमा अर्को आदेश नभएसम्मका लागि विभिन्न सभा, समारोह, गोष्ठी, धार्मिक पर्वको नाममा भेला गर्न नपाइने र एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरिएको छ । मकवानपुरमा खाद्यान्नलगायत विभिन्न सामग्री लोड तथा अनलोड गर्न बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म समय निर्धारण गरिएको छ ।

बैठकले सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी, दुग्धजन्य र औषधिजन्य लगायतका अति आवश्यक वस्तु खरिद गर्न बिहान ५ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ ।

त्यसैगरी बैठकले जिल्लाभरका वित्तीय संस्था, बैंक मङ्गलबारदेखि दिनैभरि सञ्चालन गर्न दिनुको साथै उक्त प्रयोजनका लागि जाने सर्वसाधारणलाई निजी सवारी साधनमात्र प्रयोग गर्न दिने निर्णय गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया