सङ्क्रमितको बयान : आफ्नो ख्याल आफैले राखेर बाहिरिएँ

 भदौ १५, २०७७ सोमबार २०:२२:५३ | नवराज फुयाँल
unn.prixa.net

चीनको वुहान शहरबाट फैलिन सुरु भएकाे काेराेना भाइरसले अहिले विश्वको सबै देशको चक्कर काटिसकेको छ । 

यो भाइरस नेपाल नछिर्ने कुरै भएन । पहिलाे कुरा चीन हाम्रो छिमेकी देश हो । दोस्रो कुरा यसलाई कुनै राजनीतिक सीमाले बाँध्न सकेन । त्यसैले पनि यो भाइरस नेपाल भित्रिनबाट कसैले रोक्नै सकेन । 

एउटा कुरा चाहिँ पक्का के हो भने विश्वको सयभन्दा बढी देशको चक्कर काटेपछि मात्रै यो भाइरसले नेपालकाे यात्रा तय गरेको हो । 

पुस महिनाको दोस्रो सातातिर चीनमा देखिएको यो भाइरस नेपालमा भने माघको अन्त्यमा आएर देखियो ।

त्यसपछि फाट्टफुट्ट देखिएको यो भाइरस चैतमा आइपुग्दा भने यसले आफ्नो नेटवर्क विस्तार गर्न भ्यायो । 

सरकारले चैत ११ देखि देशभर लकडाउन घोषणा गर्‍याे र आजसम्म आइपुग्दा विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन जारी नै छ । 

यो त भयो कोरोना भाइरसको चर्चा । यसले गरेको विश्व भ्रमणको कुरा । 

अब भने आफ्नै कुरा गरौँ । माघ महिनादेखि मेरो पनि कार्यथलो परिवर्तन भएको थियो । काठमाण्डौमा रहेर उज्यालो मल्टिमिडियामा कार्यरत रहेको म माघ महिना वीरगञ्ज पुगेँ । अहिले पनि वीरगञ्जमै रहेर एउटा रेडियो सञ्चालनको जिम्मेवारी वहन गरिरहेको छु । 

कोरोना भाइरस नेपाल भित्रिसकेको छ । भर्खरै सञ्चालन गर्न सुरु गरिएको रेडियो लकडाउनका कारण बजार बन्द हुँदा विज्ञापनका स्रोत पनि बन्द भयो । यद्यपि छोटो समयमै रेडियोको परिचय स्थापित गराउन सफल भइएको छ । विज्ञापनकै आम्दानीमा निर्भर रेडियोले विज्ञापन नै नपाउँदा गोजीबाट लगानी गरेरै पनि सञ्चालकहरुले रेडियोको गुणस्तर खस्कन भने दिएका छैनन् ।

रेडियो सञ्चालनकै सन्दर्भमा विभिन्न ठाउँमा हिँडिरहनु पर्ने आफ्नो बाध्यता छ नै । कोरोनाको कहर बढिरहेकै छ । यसबीचमा नागरिकलाई कोरोनाबाट बच्न अपनाउनु पर्ने सावधानी तथा आवश्यक सुरक्षा सचेतना अपनाउन सन्देश प्रवाह गर्नुपर्ने दायित्वबाट पाखा लागेर रेडियो बन्द गरेर घरमै बस्ने कुरा पनि भएन । आफू सुरक्षित भएर आमनागरिकलाई पनि आवश्यक सावधानी अपनाउन रेडियोमार्फत सन्देश प्रवाह गर्दा गर्दै आफै भाइरसको चपेटामा परियो । 

असार तेस्रो हप्तादेखि साउनको पहिलो हप्तासम्म लकडाउन खुकुलो हुँदा भाइरस समुदायस्तरमै फैलिने मौका पाएछ । साउन दोस्रो हप्ता वीरगञ्जमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो । त्यसपछि एकपछि अर्को गर्दै वीरगञ्ज कोरोना भाइरस सङ्क्रमणको 'इपिसेन्टर' नै बन्न पुग्यो । 

भाइरस सङ्क्रमणको जोखिम बढेको भए पनि सूचना सन्देश प्रवाह गर्ने हाम्रो दैनिक कार्य रोक्ने कुरा पनि भएन । रोकिँदा पनि रोकिएन । महामारीका बेला सूचना प्रवाह गर्ने धर्मबाट विमुख हुनु हामीलाई थिएन । 

यसैबीचमा स्थलगत रुपमै विभिन्न ठाउँमा गएर रेडियो सामग्री तयार पार्ने काम निरन्तर भइरहेको थियो । मुखमा मास्क र हातमा स्यानिटाइजरको राज चलिरहेकै थियो । बेलाबेला साबुन पानीले हात धुने पनि गरिएकै हो । तर यसका बाबजुद पनि भाइरस शरीरभित्र छिरेको पत्तै भएन । हुन त हाम्रो नाङ्गो आँखाले देख्ने भए पो थाहा हुन्थ्यो ।  

भदौ महिनाको पहिलो दिन दिइएको स्वाब परीक्षणको नतिजा भोलिपल्ट आयो । नतिजा पोजेटिभ थियो । अर्थात् म पनि कोरोना सङ्क्रमित हुन पुगेँ । 

अलिअलि डर, अलिअलि तनाव अनि अलिअलि अचम्म लागिरहेको थियो । कसरी लाग्यो होला भन्नेमा म अचम्म थिएँ । 

सम्पन्न भनिएका देशमा पनि कोरोना सङ्क्रमितको अवस्था दयनीय रहेको विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखेकाले आफै सङ्क्रमित भएपछि डर, तनाव नहुने कुरै भएन । 

मन गह्राैँ पारेर मुटु दह्राे पार्ने प्रयास गर्दै रिपोर्ट आएको भोलिपल्ट कोभिड अस्पताल भर्ना भएँ । रिपोर्ट पोजेटिभ आउँदा शरीरमा कुनै लक्षण थिएन ।

त्यसैले घरमै सुरक्षित बस्ने निर्णय गरेर श्रीमतीले आवश्यक व्यवस्थापन पनि मिलाइदिइन् । तर पहिलो दिन बित्न नपाउँदै भोलिपल्टै घर वरपरकाले गरेको व्यवहारले अस्पताल जाने बाध्यता आइपर्‍याे ।  

भदाै ३ गते अस्पताल भर्ना भएको म भदाै १२ गते दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर फर्किए । 

३ गतेदेखि १२ गतेसम्मको अवधि वा भनौँ अस्पताल बसाइँकाे अवधि मेरो लागि स्मरणीय अवधि रह्यो । 

बाहिर बसेर रिपोर्टिङ गर्दा सङ्क्रमितको उपचार कसरी गरिन्छ होला ? के औषधि दिइन्छ होला ? भन्ने कुराको कल्पना गरिन्थ्यो । तर आफै सङ्क्रमित भएर अस्पताल पुगेपछि यी सबै कुराको एकमुष्ट जवाफ भेटियो । 

अस्पतालमा राखिएका सङ्क्रमितलाई डाक्टरले सेवा गर्ने होइनन् कि सफाइकर्मी र स्वास्थ्यकर्मीेले बढी सेवा गर्ने रहेछन् । त्यसमा पनि सफाइकर्मी त सङ्क्रमित राखिएका ठाउँको सफाइदेखि उनीहरुलाई खानपान गराउन थोरै पनि डर नमानी खट्दा रहेछन् । 

सङ्क्रमितहरुले सितिमिति डाक्टरको सेवा नै पाउँदैनन् । स्टाफ नर्स, एचए, अनमी तहका स्वास्थ्यकर्मी बरु बेलाबेला पुगेर गाह्राे–साह्राे भएका सङ्क्रमितको उपचार गरिरहेको भेटिन्छ । तर डाक्टरहरु भने सङ्क्रमितहरुलाई के भइरहेको छ भन्ने कुरा जान्न पनि पुग्दैनन् । 

स्वयं सङ्क्रमित भएर अस्पतालको बेडमा पुगेको यो पङ्तिकारलाई पनि त्यो १० दिने अस्पताल बसाइँका क्रममा कोही कसैले पनि तपाईँलाई अहिले कस्तो छ भन्दै सोध्नै आएन । 

मसँगै अस्पतालमा रहेका अर्का सञ्चारकर्मीलाई श्वास फेर्नै गाह्राे भएको र दुई/तीन दिनदेखि डाक्टरहरुलाई आफ्नो समस्याबारे बताउँदा पनि कुनै उपचार नगरिएको घटनाबारे जानकार रहेकाले पनि कुनै लक्षण नभएको मलाई आएर अस्पतालका कसैले सोध्लान् भन्ने आशा थिएन । 

आफ्नो ख्याल आफैले राख्नु बाहेक अर्को उपाय मसँग थिएन । अस्पताल भर्ना भएकै दिन विभिन्न थरीका औषधि दिइएको थियो । ती औषधि लक्षणअनुसार नै सेवन गर्नुपर्ने खालका थिए । ज्वरो आउँदा, घाँटी दुख्दा, श्वास फेर्न गाह्राे हुँदा प्रयोग गर्नुपर्ने औषधि र विभिन्न थरीका भिटामिनका चक्की दिइएको थियो । कस्तो लक्षण देखिएको छ ? कुन–कुन औषधि खाने भन्नेबारे केही पनि नभनी सबै खाले औषधि सबैलाई दिने गरिएको रहेछ । बुझ्नेले त लक्षणअनुसारकै औषधि प्रयोग गर्लान्, नबुझ्नेले त बिनासित्तिमा सबै औषधि सेवन गरिरहनुपरेको छ । त्यसले उनीहरुको स्वास्थ्यमा असर त पक्कै परेको होला । 

अस्पतालमा उपचारपछि निको भएर यति जना आज निस्किए भनेर मैले पनि समाचार बनाएको छु । तर अस्पताल पुगेका सबैको उपचार नहुँदो रहेछ भन्ने कुरा आफै अस्पताल पुगेपछि थाहा पाएँ । भिटामिनकै गोली खाएको भरमा हुने थियो भने म घरैमा बसेर निको हुने थिएँ । किन अस्पताल धाइरहनु पर्ने जरुरी थियो र ? 

अर्को रोचक कुरा पनि त्यही बसेपछि मात्रै थाहा भयो । 

सङ्क्रमित भइसकेपछि आइसोलेशनमा बस्नुपर्छ र आइसोलेसन भनेको चाहिँ सङ्क्रमितलाई एक्लै राख्ने भन्ने बुझिएको थियो । उसले प्रयोग गर्ने रुम, शौचालय सबै छुट्टै हुनुपर्छ भन्ने कल्पना थियो । डाक्टरहरुसँग कुरा गर्दा पनि उनीहरु त्यसै भन्थे । तर आइसोलेशन भनिएका अस्पतालमा के त्यसरी नै राखिने रहेछ त ? पहिला त यस्तै कल्पना हुन्थ्यो । पक्कै यसरी नै राखिन्छ होला भन्ने लाग्थ्यो । तर आफैले त्यो अनुभव बटुलेपछि भने यी सबै कुरा डर देखाउनका लागि मात्रै भनिएको रहेछ झैँ लाग्छ । 

किन भन्नुस् न, आइसोलेशन भनिएको मैले १० दिन बिताएको अस्पतालमा ५०/६० जना सङ्क्रमितले प्रयोग गर्ने शौचालय ६ वटा मात्रै थियो । 

नुहाउन त पालो कुरेर एकै ठाउँमा सबैले नुहाउनु पर्ने बाध्यता थियो । 

अनि यसरी एकैठाउँमा बसेका सङ्क्रमितहरु १०/१२ दिनमा नेगेटिभ हुँदै बाहिरिन्थेँ । यो अचम्म लाग्दो कुरा होइन र ? तपाईँ आफै भन्नुस् त । सङ्क्रमितहरु निस्किने र नयाँ थपिने क्रम चलि नै रहेको छ । 

यदि यो भाइरस एकैठाउँमा बस्दा सर्ने थियो भने अस्पतालमा राखिएका ती सङ्क्रमितहरु त कहिल्यै पनि निको नहुन पर्ने हो नि ! किनकि उनीहरु त सङ्क्रमित–सङ्क्रमित बीच नै बसेका छन् । हो बेड केही दुरीमा छ, त्यो बाहेक सबै कुरा साझा प्रयोग गर्नुपर्छ । 

खानेपानी एउटै ठाउँबाट भर्नु पर्‍याे, नुहाउन तथा मलमूत्र त्याग गर्न सबै साझा नै प्रयोग गर्न परेपछि कसरी सङ्क्रमित निको भइरहेका छन त ? कसरी १० दिनपछि नै रिपोर्ट नेगेटिभ देखाइएको छ ? यो कुरा बुझी नसक्नुको छ । 

मैले यसो भनिरहँदा स्वास्थ्यमा निकै समस्या भएका साथीहरु पनि अस्पतालमा उपचाररत छन् । कोरोनाकै कारण आफन्त गुमाएकाहरुले पनि यसलाई केही नभएकाले यस्तो भनेको जस्तो लाग्ला । तर यथार्थ के हो भने जुन रोगको उपचार गर्नुपर्ने आवश्यकता थियो, त्यसको उपचार नपाएर मानिसहरुले ज्यान गुमाउन पुगेका हुन् । मुटु रोगीलाई मुटुकै उपचार हुनुपर्थ्याे । टाइफाइड, निमोनिया भएकालाई त्यसैको । मिर्गाैलाकाे डायलासिस गर्न नपाएर मान्छे मर्छ तर भनिन्छ कोरोनाको कारण ज्यान गयो । यसैले पनि अस्पतालहरुले जुन रोगको बिरामी हो, त्यसैको पहिला उपचार गर्नुपर्छ । कोरोना रिपोर्ट पोजेटिभ आयो भन्नेबित्तिकै जटिल बिरामीको उपचार नपाउने स्थिति देखिएको छ । 

सङ्क्रमित हुनेबित्तिकै यो त खतरनाक राक्षस हो, यसले सबैलाई मार्छ भन्ने चिन्तन डाक्टरकै मानसिकतामा परेको देखिन्छ । 

कोरोना लाग्दैमा केही हुँदैन रहेछ भन्ने कुरा म आफैले भोगेर फर्किएको छु । अस्पताल बस्दा पनि मैले सामान्य भिटामिनका गोली बाहेक कुनै औषधि सेवन गरिनँ । तातोपानी र बरु आयुर्वेदिक जडीबुटी गुर्जोको सेवन गरेँ । 

त्यसैले कोरोनासँग डराएर होइन, यससँग सम्बन्ध बढाएर सँगै अघि बढ्नु जरुरी छ । न यसको ठोस उपचार छ, न त यसको कुनै औषधि नै । ज्वरो आउँदा, घाँटी दुख्दा, श्वास फेर्न गाह्राे हुँदा खाने औषधि त पहिलेदेखि नै प्रयोगमा छ नि । 

त्यसैले अहिले जारी राखिएको यो लकडाउन, शटडाउन, निषेधाज्ञा सबै हटाउँदै जनजीवन सामान्य बनाउनतर्फ सबै लाग्न जरुरी छ । होइन भने नागरिकहरु रोगले भन्दा बढी भोकले मर्ने छन् । अनि अर्को कुरा यदि सरकारले कोरोना सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको व्यवस्थापनका लागि कुनै सहयोगको आवश्यकता ठान्छ भने निसङ्कोच विना पीपीई नै सेवा दिन यो पङ्तिकार पछि हट्दैन ।

अन्तिम अपडेट: कात्तिक २, २०७७

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • krishna man Mali

    Sept. 2, 2020, 9:43 p.m.

    बास्तविकताको जानकारी गराउनुभएकोमा लेखकलाई धन्यवाद ! यो धेरै ठूलो षड्यन्त्र, के को लागि बनाइएको हो थाहा भएन, तर देशले (बिश्वले पनि ) ठुलो दु:खका साथै नोक्सानी बेहोर्नुपरेको छ , यो लकडाउनले तुरुन्तै बन्द गर्नुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया