ललितपुरमा बल्न थाले 'स्मार्ट' बत्ती

 भदौ २२, २०७७ सोमबार २१:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाका मुख्य सडकमा धमाधम ‘स्मार्ट’ बत्ती जडान भइरहेका छन् । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान गर्न थालिएको हो ।

अहिले सातदोबाटोदेखि लगनखेल, लगनखेलदेखि कुमारीपाटी, कुमारीपाटीदेखि जावलाखेल, जावलाखेलदेखि  पुल्चोक र  पुल्चोकदेखि कुपण्डोलसम्म पोल राखेर बत्तीको लाइन राख्ने काम भइरहेको छ । ६ सय ६९ बत्ती राख्न आवश्यक रहेकाे महानगरले जनाएकाे छ । त्यसमध्ये तीन सय ३२ नयाँ पोलमध्ये एक सय आठ पोल गाडिसकिएको छ । यसअघि भएका पुराना पोलको प्रयोग गरिएको छ । जुन ठाँउमा बत्ती राख्नुपर्ने हो त्यो ठाँउमा पहिलेकै पोल भएमा त्यही पोल प्रयोग गरिएको छ ।

ठाँउ–ठाँउमा नाङ्गो तार पनि छन्, त्यो हटाएर एबीसी तार राख्ने काम भइरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार १९ सय पाँच मिटर तार राखिसकिएको छ ।  कुपण्डोलदेखि पुल्चोकसम्म र  सातदोबाटोदेखि लगनखेलसम्म स्मार्ट बत्ती बल्न थालिसकेको छ । लगनखेल, कुमारीपाटी र जावलाखेल क्षेत्रमा भने पोल गाड्ने काम भइरहेको छ ।

ललितपुर महानगरले पहिलो चरणमा तीन वटा रूटमा सडक बत्ती जडान गर्दैछ । पहिलो रूट कुपण्डोलको वाग्मती पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो पर्छ भने दोस्रो रूट हिमालयन होटल, पाटन ढोका, अशोक हल, मङ्गलबजार हुँदै लगनखेल पर्छ । त्यस्तै पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्मको बाटोलाई तेस्रो रूट तोकिएको छ ।

पहिलो चरणको काम आधा सकिएको छ । त्यसपछि दाेस्रो चरणको काम गर्न अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । दोस्रो चरणमा एकान्तकुनाबाट बुङमती, खोकना र सातदोबाटोबाट सुनाकोठी हुँदै धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको छ ।

रातको समयमा सर्वसाधारणको आवत जावत सहज र सुरक्षित बनाउन स्मार्ट बत्ती जडान गर्न थालिएको प्रवक्ता महर्जनले बताउनुभयो । सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक हिसाबले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको उहाँको भनाइ छ ।

यो बत्ती सोलार बत्तीभन्दा कम खर्चमा जडान हुने महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बत्ती सोलार बत्तीभन्दा निकै किफायती र प्रभावकारी भएको एक अध्ययनले नै देखाएको छ ।’ यो परियोजनाको भ्याटसहित कुल लागत पाँच करोड बीस लाख रुपैयाँ रहेको महानगरले जनाएको छ । सडक बत्ती बालेबापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुने र मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्ने महानगरले जनाएको छ ।

यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । त्यसैले पोलैपिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न बत्ती जडान भएको ठाउँमा जानुपर्दैन, सर्भर रुमबाट नै गर्न सकिन्छ । सर्भर रुम भने विद्युत् प्राधिकरणमै रहने छ । यो बत्ती साँझको समयमा बढी चहकिलो हुन्छ तर मध्यराति भने केही मधुरो बल्छ । गाडी वा बटुवाको चाप हेरेर बत्ती स्वतः चहकिलो र मधुरो हुँदै जान्छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया