आङरिता शेर्पाको कोठामै आएर तत्कालीन युवराज दीपेन्द्रले भन्नुभयो, ‘अब सक्नुहुन्न, हिमाल नचढ्नुस्’

 असोज ५, २०७७ सोमबार १७:३१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'हिम चितुवा' उपनामले चिनिएका पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । सन् १९४८ मा सोलुखुम्बुको थामेमा जन्मनुभएका शेर्पाको ७२ वर्षकाे उमेरमा काठमाण्डौको जोरपाटीमा निधन भएको हो । शेर्पा कलेजो र मस्तिष्कसम्बन्धी समस्या भएर केही समयदेखि उपचार गराइरहनुभएको थियो । 

सोलुखुम्बुको तत्कालीन खुम्जुङ गाविसको थामेमा जन्मनुभएका शेर्पाले सन् १९८३ देखि सन् १९९६ सम्म १३ वर्षको अवधिमा १० पटक अतिरिक्त अक्सिजन विना सगरमाथा आरोहण गर्नुभएको हो ।

हिमाल आरोहणका क्रममा अक्सिजनको सिलिण्डर अनिवार्य हुने भए पनि उहाँले अक्सिजनको सिलिण्डर विना १० पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो । यही कारण उहाँलाई हिम चितुवाको उपनाम दिइएको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो । 

पुर्ख्यौली पेसा चौरी पालन रहेका आङरिता शेर्पा गाउँघरमा साथीहरुसँगै हिमाल आरोहणमा लाग्नुभयो ।  १५ वर्षको उमेरदेखि आरोहण पेसामा लाग्नुभएका शेर्पाले पहिलो पटक २० वर्षकाे उमेरमा चोयु हिमालको आरोहण गर्नुभएको थियो । शेर्पाको अन्तिम आरोहण सन् १९९६ मा भएको थियो ।

त्यो वर्ष सगरमाथामा गएको हिउँ पहिरोका कारण १२ जना आरोहीको ज्यान गयो । त्यसपछि उहाँ आरोहणमा जानु भएन । सगरमाथा आरोहणको इतिहासमा निकै ठूलो दुर्घटनाका रुपमा रहेको १९९६ को दुर्घटनामा साथीहरु गुमाएपछि उहाँ निराश बन्नुभएको थियो ।

त्यसबेला तत्कालीन राजा वीरेन्द्रले छोरा दीपेन्द्रलाई घरमै भेट्न पठाएर स्वास्थ्य खराब भएकोले अब आरोहण नजान आग्रह गरेपछि आङरिताले आरोहण छाड्नुभएको शेर्पाका परिवारले बताएका छन् । दश पटकको विश्व कीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । 

शेर्पाले आरोहणमार्फत नेपालको नाम विश्वमा चिनाउनुको साथै विश्वका आरोहीहरुलाई आकर्षण गर्नको लागि महत्त्वपूर्ण भूमिका खेलेबापत सुप्रबल गोरखा दक्षिण बाहु पहिलो, त्रिशक्तिपट्ट तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको थियो । तर पछिल्ला दिनहरुमा स्वास्थ्य अवस्था कमजोर हुँदा सरकारले बेवास्ता गरेको उहाँले गुनासो गर्नुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया