कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने

 असोज ७, २०७७ बुधबार ११:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् ।

कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि इम्प्लोइमेन्ट’ कार्यक्रम अन्तर्गत कतारभित्रै पुनः रोजगारीको अवसरहरु खोज्न सकिने छ । कोरोना महामारीका कारण बाहिरबाट नयाँ श्रमिक ल्याउनुभन्दा पनि देशभित्रै भएका श्रमिकलाई पुनः रोजगारीमा लगाउन कतारले विभिन्न पहलहरु गरिरहेको छ । जसअन्तर्गत अब श्रमिकले रोजगारदाता परिवर्तन गर्न पनि पाउने छन् ।

श्रमिकले चाहेमा पहिलो रोजगारदाताबाट कुनै पनि अनुमति नलिइकन काम परिवर्तन गर्न सक्नेछन् । तर आफूले काम छाड्दैछु भन्ने जानकारी भने दिनुपर्नेछ ।

कतारमा रहेको नेपाली दूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर लछुमन खनालले भन्नुभयो, ‘कतारको अहिलेको योजना भनेको बाहिरबाट कामदार ल्याउनेभन्दा पनि यहीँ भएकालाई रोजगारीमा जोड्ने भन्ने हो, कोरोना महामारी छ त्यसैले कुनै कम्पनीमा बढी श्रमिक छन् र कुनैमा कम छन् भने अब उनीहरुले अर्को कम्पनीमा गएर सजिलै काम गर्न पाउनेछन् ।

कतारबाट घर फर्कनका लागि २१ हजार २ सय २१ जनाले दूतावासमा निवेदन दिएका छन् । यसरी घर फर्कन खोज्नेमध्ये धेरैजसोको रोजगारी गुमेको छ । कतिपयलाई कम्पनीले कटौती गरेको छ । खाद्य तथा आवास समस्या भएका, तलब भुक्तानी नपाएका वा प्राप्त गर्नेहरूको पनि कटौती हुने श्रमिकको संख्या कतारमा उल्लेख छ ।

कतारबाट अहिलेसम्म चार्टर्ड उडानमार्फत ९ हजार ५५८ जना स्वदेश फर्किएका छन् भने अहिले पनि १० हजारभन्दा धेरै जना स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

कतारले पछिल्लो समय दुईवटा श्रम कानुनमा परिवर्तन गरेको छ । जसले नेपालीसहित आप्रवासी श्रमिकलाई फाइदा पुग्ने छ । पहिलो त कतार सरकारले श्रमिकको न्यूनतम ज्याला तोकेको छ । अब कतार जाने श्रमिकले करार सम्झौता गर्दा एक हजार रियाल न्यूनतम तलब, ५ सय आवास र तीन सय खाद्यान्न गरेर १८ सय कतारी रियाल पाउनेछन् ।

यो नियम ६ महिनापछि लागू हुने कतारले जनाएको छ ।

काम परिवर्तन गर्न सकिने

अब कतारमा काम परिवर्तन गर्न पनि सजिलै पाइन्छ । काम परिवर्तन गर्न पहिलो रोजगारदाताको पूर्वअनुमति लिनु पर्दैन । । तपाईँ काम परिवर्तन गर्न चाहानुहुन्छ भने तपाईँले आफूले काम परिवर्तन गर्न लागेको बारेमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको विद्युतीय माध्यमबाट जानकारी दिन सक्नुहुन्छ ।

तपाईँले दुई वर्ष या दुई वर्षभन्दा कम समयदेखि काम गरिरहनुभएको छ भने एक महिनाको समय अवधि दिएर काम परिवर्तन गर्न पाउनुहुन्छ । दुई वर्षभन्दा धेरै समयदेखि काम गरिरहनुभएको छ भने तपाईँले रोजगारदातालाई दुई महिनाको समय दिएर काम परिवर्तन गर्न पाउनुहुन्छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको विद्युतीय माध्यममार्फत तपाईँले आफूले काम छोड्न लागेकोबारे विभिन्न कागजात पेश गरेर जानकारी दिन सक्नुहुन्छ । मन्त्रालयको रोजगारदाता परिवर्तन गर्ने सम्बन्धित फारम, कार्यरत रोजगारदाताको हस्ताक्षरसहितकोे करार सम्झौताको प्रतिलिपि, यदि यो नभएमा कामको अवसरको कपि पनि पेश गर्न सकिन्छ ।

तर यो श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट प्रमाणित भएको हुनुपर्छ । साथै नयाँ कामको अवसरको कपि अरेबिक भाषामा लेखिएको हुनपर्छ । यी प्रक्रिया पूरा भएपछि श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता र श्रमिकलाई काम परिवर्तन निश्चित भएको म्यासेज मोबाइलमा पठाउने छ ।

नयाँ रोजगारदाताले श्रम तथा सामाजिक मामिला मन्त्रालयको वेवसाइट डिजिटल अथेन्टिकेशन सिस्टममार्फत विद्युतीय करार सम्झौताका गर्नका लागि काम थाल्नुपर्ने छ। र त्यो करारको कपि नयाँ रोजगारदाताले प्रिन्ट गरेर श्रमिकसँग छलफल गरी हस्ताक्षर गर्नु पर्नेछ ।

हस्ताक्षरसहितको नयाँ करार सम्झौता रोजगारदाताले मन्त्रालयको वेवसाइटमा अपलोड गर्नु पर्नेछ । प्रमाणीकरणका लागि रोजगारदाताले ६० कतारी रियाल शुल्क तिर्नुपर्छ । जब रोजगार करार सम्झौता प्रमाणीकरण हुन्छ, तब नयाँ रोजागरदाताले कतारी आइडीका लागि थप आवश्यक कागजातसहित कतारको आन्तरिक मन्त्रालयमा पेश गर्नु पर्नेछ ।

यी प्रक्रिया अनुसार श्रमिकले नयाँ करार सम्झौता, कतारी आइडी र स्वास्थ्य कार्डसहित नयाँ काममा जान सक्नेछन् । यसबारे थप जानकारीका लागि कतारको श्रम, प्रशासनिक विकास तथा सामाजिक मामिला मन्त्रालयको हटलाइन नम्बर १६००८ मा सम्पर्क गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया