‘चाडपर्वको मुखमा परदेश हिँड्नेको व्यथा नदेख्ने सरकारले रेमिट्यान्स बढ्दा किन गर्व गर्छ ?’

 असोज १२, २०७७ सोमबार ७:५७:४४ | डा. केशव आचार्य
unn.prixa.net

दशैं, तिहार छठलगायत ठूला चाडबाड नजिक-नजिक आइरहेका छन् । विगतमा दशैं तिहार, छठ लगायतका चाडबाड नजिक आउँदा परदेशीहरु घर फर्कन्थे, बजारमा रौनक हुन्थ्यो । गरिबले पनि एक जोर भए पनि नयाँ लुगाफाटाको जोहो गर्थे ।

एकछाक भए पनि मिठो मसिनो खान्थे । तर यसपटक अवस्था फरक छ, सरकारले जारी गरेको स्वास्थ्य मापदण्डका कारण धेरै परदेशीहरु घर फर्कन पाउँदैनन् । कयौँको रोजगारी गुमेको छ,  केही परदेशीहरु रित्तै हात घर फर्किँदैछन् । 

लकडाउनको सुरुमा भारतबाट घर फर्किएका नेपाली हातमुख जोर्न समस्या भएपछि चाडबाडको मुखैमा फेरि उतै फर्किएका छन् । चीनसँगका नाकाबाट सहज रुपमा मालसामान नेपाल भित्रिन नपाउँदा बजार सुनसान छ । ठूला चाडबाडमा कोरोनाको असर, नेपालीको आर्थिक अवस्थाका बारेमा अर्थविद् केशव आचार्यको टिप्पणी :

विचार नपुर्‍याइ लकडाउन गर्दाको असर

नेपालमा दुई जना कोरोना सङ्क्रमित देखिँदा सरकारले लकडाउन गर्यो । काठमाण्डौमा दुई जना सङ्क्रमित रहेको अवस्थामा सरकारले पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म र हिमालको मुस्ताङदेखि तराईको झापासम्म लकडाउन भयो । तीन महिनासम्म अत्यावश्यकबाहेक कुनै पनि व्यापार व्यवसाय भएन नागरिकले काम गर्न पाएनन् । सीमा क्षेत्र ठप्प भयो । बजारमा पैसा खेल्न पाएन ।

देशभरमा जम्मा दुई जना मात्रै सङ्क्रमित रहेकाले देशभित्रबाटै कोरोना सर्ने जोखिम थिएन । त्यसैले सरकारले विदेशबाट आउने नागरिकको परीक्षण अनिवार्य गरेर देशभित्र लकडाउन नगरेको भए पनि हुन्थ्यो, तर सरकार आत्तियो, योजना बनाएन, लकडाउन गरेर चुप लागेर बस्यो । 

सरकारले अपरिपक्व हिसाबले लगाएको लकडाउनको असर अहिले देखिन थालेको छ । कयौँ नागरिकले रोजगारी गुमाए, हजारौं साना तथा मझौला उद्योग बन्द भए, ६ महिनासम्म बन्द भएको व्यापार व्यवसाय उकास्न निकै हम्मेहम्मे परेको छ ।

तल्लो वर्गमा व्यक्ति अर्थात भुइँमान्छेलाई लकडाउन निकै ठूलो समस्या बनेर आयो । यातायात बन्द, उडान बन्द, उद्योग बन्द, होटल बन्द, हस्तकलाका उद्योग बन्द, भारी बोक्ने काम बन्द....जताजतै बन्द पनि मात्रै भयो ।

जताजतैको बन्दले गरिखाने वर्गको छाक बन्द हुने अवस्था आयो । अहिले पनि काठमाण्डौमा सडकमा मागि खानेहरु धेरै बढेका छन्, कुनै संस्थाले खाना खुवाउने कार्यक्रम राख्यो भने त्यहाँ पुग्नेहरुको लर्कोले पुष्टि गर्छ कि सरकारको योजनाबिहीन लकडाउनले तल्लो वर्गका नागरिक/मजदुरलाई कहाँ पुर्‍याएछ त ? 

उच्चस्तरीय समिति र सीसीएमसीले के काम गर्‍यो ?

सरकारले सुरुमा कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति गठन गर्‍यो, अहिले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी बनाएको छ । खासमा यी दुई वटा निकायले कोरोनाबारे गम्भीर भएर कहिल्यै सोचेनन् । हचुवाका भरमा लकडाउन लगाउने र खोल्न निर्देशन दिनेबाहेक काम गरेको देखिएन । आर्थिक क्रियाकलाप खोल्दै कोरोना रोकथामको लागि काम गर्ने अवसर हुँदा पनि काम भएन ।

नागरिकलाई भेँडाबाख्रा जसरी घरभित्रै थुन्नुलाई नै सफलता ठानियो । अहिले पनि व्यवस्थित क्वरेण्टीन छैनन्, आइसोलेशन नभएर गम्भीर बिरामी पनि घरमै बस्नुपरेको छ, भेन्टिलेटर छैनन्।

यस्तो संकटको अवस्थामा प्रधानमन्त्री स्वयं नै बेसारपानीको गफ लगाएर बस्नुहुन्छ । देश चलाउने जिम्मा पाएका व्यक्ति र संस्थाले यस्ता नहुने कुरा गर्दै दिन ठेल्ने र नागरिकलाई भ्रममा राख्ने काम गरेपछि कोरोना कसरी नियन्त्रण हुन्छ र ? 

दशैंको अर्थतन्त्र ध्वस्त

दशैं, तिहार, छठलगायतका चाडपर्वमा पैसा धेरै खेल्थ्यो । बजार चलायमान हुन्थ्यो, आम्दानी र खर्च दुवै बढ्नु चाडबाडको विशेषता जस्तै बनेको छ । तर यसपटक दशैं तिहारको अर्थतन्त्र ध्वस्त हुने देखिएको छ ।

एउटा सामान्य हिसाबमा नेपालमा वार्षिक ३० खर्ब रुपैयाँको वस्तु उपभोग हुन्छ । यसको ३० प्रतिशत दशैं, तिहार र छठमै खर्च हुने गरेको छ । ३० खर्ब रुपैयाँमध्ये १५ खर्ब रुपैयाँको हाराहारीमा नगदको कारोबार हुने र बाँकी १५ खर्ब घरायसी उत्पादनले धान्थ्यो । घरायसी उत्पादन, जस्तै खसी बोका, दाल, चामल, तोरीको तेल, घिउ लगायतका उत्पादनको उपभोगमा १५ खर्ब रुपैयाँ खर्च हुन्छ भन्न सकिन्छ । 

नगद कारोबार हुने १५ खर्ब रुपैयाँमध्ये ३० प्रतिशत अर्थात् साढे चार खर्ब रुपैयाँ दशैं, तिहार र छठमा खर्च हुन्थ्यो । तर यसपल्ट यसको एक तिहाइ रुपैयाँ पनि कारोबार हुन मुश्किल छ । यसको अर्थ यो वर्षका मुख्य चाडबाडमा डेढ खर्ब रुपैयाँको कारोबार हुने अनुमान छ । 

दशैं आउने समयमा कार मेला चल्थ्यो, मानिसहरुले गाडी किन्थे । घरमा ठूलाठूला टीभी किन्ने, अन्य विद्युतीय सामान किन्ने, रङ्गरोगन गर्ने लगायतका काम गर्थे । यो पल्ट त्यस्ता कुनै पनि गतिविधि देखिएका छैनन् ।

सम्पन्न मान्छेको लागि जमघट र रमाइलो गर्न नपाउँदा चाडबाड खल्लो हुने देखिएको छ । गरिब मान्छेको लागि छाक टार्न नसक्दा दशैं नरमाइलो हुनेछ  ।

दशैं दशा बन्दैछ 

दशैं तिहार जस्ता ठूला चाडपर्वका विभिन्न पक्ष छन् । आर्थिक पक्ष र धार्मिक पक्षको साथमा सामाजिक मनोविज्ञान चाडबाडमा जोडिन्छ । दशैं तिहारमा ऋण नै गरेर भए पनि एकसरो लुगा फेर्ने र मिठो मसिनो खाने चलन छ । तर कोरोनाका कारण आएको आर्थिक संकटका कारण मिठो खाने र नयाँ लुगा लगाउने मनोविज्ञान पनि भत्किएको छ । परपर भएका नातेदार आफन्तसँग भेटघाट गरेर रमाइलो हुन्थ्यो त्यो चलन पनि यसपटक भत्किने देखिएको छ । 

दशैंमा कम्तीमा चामल च्यूरा, दहीदूध तथा फलफूल त किन्नैपर्छ, तर यो पटक त गरिबहरुको लागि यही पनि नहुने भयो । घरमा, कुखुरा, राँगा, खसी बोका, सुँगुरलगायत जनावर पालेको छैन भने मासु खान पनि आपत पर्ने भयो । 

नातेदार, छरछिमेकी तथा साहुमार्फत ऋण लिएर पनि दशैं तिहारमा रमाइलो गर्ने चलन छ । तर अहिले त धेरैले रोजगारी नै गुमाएकाले ऋण पनि नपत्याउने अवस्था छ । गरिबको कमाइ पनि नहुने र ऋण पनि नपाउने अति दर्दनाक पीडाका बीचमा दशैं आइरहेको छ । 

आज कमाएर आजै टार्ने र भोलि कमाएर भोलिको छाक टार्नेहरुले काम नै पाएका छैनन्, नियमित छाक टार्न नसक्ने अवस्थामा पुगेका उनीहरुले दशैं कसरी मनाउलान् ? सबैभन्दा विकराल र एकदमै करूणामय अवस्थाबाट तल्लो वर्ग गुज्रिरहेको छ । उनीहरुको त्यो बिजोग अवस्था देख्दा जोकोही पनि भावुक बन्छ । तर सरकारलाई त्यो दुःख केही जस्तो पनि लागेको छैन ।

चाडबाडको मुख र महामारीको बीचमा परदेश जानेहरुको मन कति दुख्दो हो मर्नैपरे देशमै मरौँला भन्दै चर्को घाममा भारतबाट लाखौं नागरिक देश फर्किए । भारतबाट हिँड्दै नेपाल आइपुग्नेहरु पनि छन् ।

देश र सन्तानको मायाकै कारण उनीहरु हजारौँ किलोमिटर हिँडेरै घर आए । उनीहरुलाई लागेको थियो होला, देशमै सरकारले काम दिन्छ, यतै श्रम गरेर बसौँला । तर त्यस्तो भएन, अहिले उनीहरुको परिवारमा भोकको राँको बलेको छ, छाक टार्न मुश्किल भएको छ । चाडबाडमा परिवारको साथ छाडेर परदेशी हुने बाध्यतामा रहेकाहरुले भारतको बाटो तताइसकेका छन् ।

जीविका चलाउन कुनै विकल्प हुन्थ्यो भने चाडबाड र महामारीको बीचमा देश छाड्ने रहर कसलाई हुन्छ होला त ? श्रीमती र छोराछोरी रोएको हेर्दाहेर्दै पनि भारत जानुको अर्को बाटो  उनीहरुसँग छैन ।

जापान, कोरिया लगायतका युद्धग्रस्त देशहरुबाट सन् १९५० र ६० को दशकमा लाखौँ नागरिक अरु देशमा जान्थे । भीषण युद्ध भइरहेको बेलामा परिवार छाडेर मजदुरी गर्न अर्काको देश जानुपर्ने ती देशका नागरिक र अहिले भारत छिर्ने नेपाली नागरिकको अवस्थामा आखिर के नै फरक भयो र ? 

भारतमा दैनिक ८० हजारको हाराहारीमा सङ्क्रमित थपिएको र दैनिक ११ सयको हाराहारीमा ज्यान गइरहेका खबर सुन्दा सुन्दै पनि नेपालीहरु काम खोज्दै भारतको यात्रा गर्न बाध्य भए ।सरकारले देशमै काम दिन्छौँ भनेर ठूलाठूला गफ दिए पनि काम दिन सकेन । प्रधानमन्त्री रोजगार कार्यक्रम चल्यो भन्ने सुनियो तर त्यो पैसा गाई धपाउन, झार गोड्न र  बगैँचा सिगार्नमै सकियो क्यारे । 

देशभरी बाढी पहिरोले क्षति गरेको छ, बस्ती पुनर्निर्माण गर्नुपर्नेछ, तटबन्ध निर्माण गर्नुपर्नेछ, विकास निर्माणका आयोजनामा कि त मजदुर नै छैनन् कि भारतीय मजदुरले काम गरिरहेका छन् । यस्ता यस्ता ठाउँमा नेपाली दाजुभाइलाई नै काम गर्ने वातावरण सरकारले बनाउन सक्नुपथ्र्यो । तर सरकारले केही पनि गर्न सकेन । दैनिक ज्यालादारीको काम गर्न पनि भारत नै जानुपर्ने बिडम्बना आइपरेको छ । 

रेमिट्यान्स भित्र्याउने ‘हिरो’ हरुलाई प्रधानमन्त्री र मन्त्रीहरुबाटै अवहेलना !

रेमिट्यान्सको क्षेत्रमा धेरै अध्ययन गरेका गणेश गुरुङको भनाइ मलाई खुब मन पर्छ । उहाँले भन्नुहुन्थ्यो, ‘विदेशमा पसिना बगाएर वार्षिक ८/९ खर्ब रुपैयाँ नेपाल पठाउने र यहाँको अर्थतन्त्र चलायमान बनाउनेहरु मजदुर मात्रै होइन उनीहरु वास्तविक हिरो नै हुन ।’

यस्ता हिरोहरुलाई सरकारले कोरोनाको संकटको बेलामा निकै भेदभाव र बेवास्ता गर्‍यो । विदेशमा असुरक्षित ठानेर देश फर्कन लागेकाहरुलाई सरकार रोक्यो । आफ्नै देश फर्कन पनि रातको समयमा महाकालीको भेलमा हाम फाल्नुपर्‍यो । 

आठ/नौ खर्ब रुपैयाँ पैसा आउँदा हाम्रो रेमिट्यान्स बढ्यो, जीडीपीको एक चौथाइ भन्दा धेरै हिस्सा रेमिट्यान्स नै हो भनेर फूर्ति लगाउने सरकारले त्यै रेमिट्यान्स पठाउने नेपालीलाई गर्ने व्यवहार त्यही हो त ?

देश आउनलाई खाडीका देशबाट आसा गरेका नेपाली र सीमा क्षेत्रमा आएर बसेकाहरुलाई प्रधानमन्त्री र मन्त्रीले नै भन्नुभयो, ‘यो भावनामा बगेर हुने कुरा होइन,  अष्ट्रेलियाले एउटा जहाजमा दुई सय मान्छे लगेजस्तो लाखौँ नेपाली फर्काउन सजिलो छैन ।’ देश चलाउनेले यस्तो भन्नु भनेको त जवाफदेहिताबाट भाग्नु हो । 

यसरी दायित्वबाट पन्छिने प्रधानमन्त्री र मन्त्रीहरुले नै हामी कसैलाई भोको रहन दिन्नौँ, अब कसैले पनि सडकमा बस्नु पर्दैन भनेर भाषण दिनु बेकार छ ।

(अर्थविद् केशव आचार्यसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)


 

अन्तिम अपडेट: असोज २७, २०७७

डा. केशव आचार्य

वरिष्ठ अर्थविद् आचार्य अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार समेत रहिसक्नुभएकाे छ । 

1 Comments

  • हरिचन्द्र श्रेष्ठ

    Sept. 28, 2020, 11:26 a.m.

    नेपालका बुद्धिजीवी भनाउँदाहरु त कतिका बुद्धिमानी रहेछन् भनेर चाल पाई हालियो नी। भ्रष्ट र गोबर भरिएको दिमाग।

  •  0 Reply

तपाईको प्रतिक्रिया