कोरोनाबाट मरेकाले मलामी नपाउने यो कस्तो अमानवीय नियम !

 असोज १२, २०७७ सोमबार १५:५४:६ | मिलन तिमिल्सिना
unn.prixa.net

कोरोनाले जिउँदो छँदा मात्र होइन, मरेपछि पनि मान्छेलाई एक्लो बनाएको छ । कोरोनाका कारण ज्यान गयो भने शोक व्यक्त गर्ने परिवारका सदस्य र आफन्तहरु साथमा हुँदैनन् । मर्नेबित्तिकै डाक्टरले हतारहतार प्लास्टिकमा पोको पार्छन् । सेना र प्रहरीका केही मान्छेले साइरन बजाउँदै घाटमा पुर्‍याउँछन् । न विधि, न संस्कार, न परिवार र आफन्तको श्रद्धाञ्जली !

यस्तो लाग्छ, यो कोरोना सङ्क्रमण देखिनु भनेको मरेको मानिसले दुई चार जना मलामीसमेत नपाउने कुनै डरलाग्दो अपराध हो, जसको दण्ड परिवारले भोग्नुपर्छ ।  

मलामी हुनबाट बञ्चित गरिएका परिवार, आफन्त र छरछिमेकीले नदेख्ने गरी मृतकको हतारहतार अन्त्येष्टि सकिन्छ । राष्ट्रिय कीर्तिमान कायम गरेर मरेको कुनै ठूलाबडालाई झैँ सैनिकले सलाम गर्छन् । सलामीको कानुन बनाउनेलाई कोरोनाबाट मरेकालाई सलाम दिनुपर्छ भन्ने थाहा थिएन, तर नियम र कानुन दैवले जानून् भएको छ, कोरोना देखिएपछि वा मरेपछि देखिने व्यक्तिका लागि । लास हेर्न नपाएका परिवारका सदस्यलाई सान्त्वना दिन सैनिकले लासलाई सालमी दिने गरेको हो भने पनि एकातिर यो नियमसङ्गत छैन । अर्कातिर यो सलामले मरेका आफ्ना मान्छेको लाससमेत हेर्न नपाएका परिवार र आफन्तको मनमा मलम लगाएको देखिँदैन ।  

कोरोनाले मरेकै कारण आफ्नो मान्छेको लाससमेत हेर्न नपाइने नियमले परिवार र आफन्तलाई शोकमाथि अफसोस थप्ने गरेको छ । अन्त्येष्टिमा विधि पुर्याउन सकिएन भन्ने पश्चातापले मन भतभती पोल्ने गरेको छ । मृत्यु संस्कारको सम्पूर्ण विधिलाई अनिवार्य मान्नुपर्ने संस्कृति र परम्परामा ठेस पुगेको छ ।

नेपाली संस्कारअनुसार ‘जिउँदाले जन्ती र मरेकाले मलामी’ नपाउनु भनेको समाजको दृष्टिमा अयोग्य ठहरिनु हो । जन्ती धेरै लाने परम्परा खुसीमा सामेल हुने र मलामी धेरै जाने संस्कार एकलाई दुःख पर्दा अरुले साथ दिने अति असल नेपाली परम्परा र संस्कार हो । अहिले पनि फलानो मर्दा कति धेरै मलामी भनेर हरहिसाब गर्ने चलन कायमै हुनु सामाजिक सद्भावका लागि सुखद कुरा हो । मलामीको सङ्ख्या मृतक र उसको परिवारको मान र सम्मान जाँच्ने मापक पनि हो । ​जिउँदोमा जेजस्तो भए पनि मरेपछि मान्छेले परिवार, आफन्त र छिमेकीको मनग्य साथ पाउँछ । तर कोरोनाले मृत्युपछि पाइने मान, सम्मान र साथ समेत खोसेको छ । कोरोनाले मृत्युको मात्र होइन, मृतकसँग पनि त्रास पैदा गराउने काम गरेको छ ।

यस्तो कठोर नियम किन ?

अहिलेसम्म मरेको मान्छेबाट जिउँदो मान्छेमा कोरोना भाइरस सरेको कुनै प्रमाण छैन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार आवश्यक सावधानी अपनाउँदा मृतकको शरीरबाट भाइरस सर्दैन । सङ्क्रमित व्यक्तिले निकाल्ने थुक वा र्‍यालजस्ता तरल पदार्थको छिटाहरुबाट भाइरस सर्ने हो । बोल्दा, खोक्दा वा हाच्छियुँ गर्दा यस्ता छिटाहरु निस्कन्छन् । तर मरेको मान्छे न बोल्छ, न खोक्छ, न हाच्छ्युँ गर्न सक्छ । अहिलेसम्मका अध्ययनले, मृतकबाट कोरोना भाइरस सर्ने सम्भावना छँदै छैन भन्ने प्रमाणमात्र दिएका छन् ।  

डब्ल्यूएचओले परिवार र आफन्तले केही नियम पालना गरेर अन्तिम संस्कार हेर्न पाउने नियम बनाएको छ । डब्ल्यूएचओको निर्देशिकाअनुसार शवलाई म्वाई खान र छुन मात्र पाइँदैन । शव हेरिसकेपछि साबुनपानीले हात धुनुपर्छ । शव हेर्नका लागि कम्तीमा एक मिटरको दुरी कायम गर्नुपर्छ । श्वासप्रश्वाससम्बन्धी लक्षण भएकाहरुले भने अन्तिम संस्कारमा सहभागी हुन पाउँदैनन् । बालबालिका, ६० वर्षमाथिका र रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसले शवको नजिक जान हुँदैन । अरुले पनि हेर्न मात्रै मिल्छ, छुन मिल्दैन ।

डब्ल्यूएचओको यो निर्देशिकाकै आधारमा नेपाल सरकारले पनि परिवार र आफन्तले नियम पालना गरेर शव हेर्न सकिने व्यवस्था गरेको छ । स्वास्थ सुरक्षाका व्यवस्था अपनाएर परिवारलाई परम्पराअनुसार शवको सद्गति गर्न दिने सरकारले भनेको छ । 

तर आफ्ना मान्छेलाई अन्तिम पटक हेरेरमात्र चित्त बुझ्दैन । मुखमा जल र शरीरमा फूल, अबीर राख्नु त सामान्य हिन्दु संस्कार नै हो । शवलाई अङ्गालो मार्ने र म्वाई खाने गर्दा शवबाट निस्कने तरल पदार्थबाट सङ्क्रमण सर्ने हो कि भन्ने डरले छुन नदिइएको हो ।

डब्ल्यूएचओले आ–आफ्नो संस्कारअनुसार शवलाई गाड्न या जलाउन सकिने भनेको छ । तर नेपालमा जलाउनुपर्ने शव पनि गाडिएका छन् । आफ्नो मृत्यु संस्कार विपरीतको कर्म गर्नुपर्दा परिवार र आफन्त असन्तुष्ट छन् ।

यस्तै अन्त्येष्टिको बेला मृतक, उनीहरुको संस्कृति र धार्मिक परम्पराका साथै परिवारको प्रतिष्ठानलाई ख्याल गर्नुपर्ने डब्ल्यूएचओको निर्देशिकामा उल्लेख छ । तर नेपालमा कोरोनाबाट मृत्यु भएकाको शवलाई हतारहतार व्यवस्थापन गर्ने गरिएको छ । यसले परिवार र आफन्तलाई चोट थप्ने काम त भएको छ नै । मरेपछि व्यक्तिले पाउनुपर्ने संस्कार नपाउँदा समाजमा एक किसिमको मनोसामाजिक त्रासदीसमेत देखिन थालेको छ । 

सङ्क्रमित व्यक्तिबाट अरुमा भाइरस फैलिन्छ कि भनेर सचेत हुन त जरुरी भए पनि मृतकबाट भाइरस सरेको प्रमाण छैन । फेरि शवबाट निस्कने तरल पदार्थमा भाइरस केही घण्टा मात्रै जीवित रहन्छ भनेर विज्ञहरुले भन्दै आएका छन् । यस्तो अवस्थामा सुरक्षा सावधानी अपनाएर शव हेर्न दिएजस्तै आवश्यक नियम र मापदण्ड बनाएर मृतकका आफन्तलाई नै अन्त्येष्टि गर्न दिनु समाजलाई त्रासमा पर्नबाट जोगाउने उपाय हो ।  

अन्तिम अपडेट: असोज २७, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया