स्कुल खुलेपछिको उत्साह

 असोज १६, २०७७ शुक्रबार ६:९:४७ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - धादिङ ज्वालामुखी गाउँपालिकाकी सीता श्रेष्ठको दैनिकी केही दिनयता फेरिएको छ । अरु बेलाभन्दा २ घण्टा पहिला नै उठी सक्नुहुन्छ । घरको काम भ्याएपछि ९ बजेभित्र खाना पाकिसक्छ । 

असोज १ गतेपछि ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको कालिका माध्यमिक विद्यालय सञ्चालनमा आएपछि उहाँको व्यस्तता बढेको हो । बिहान चाँडै उठ्नु परे पनि फूर्ति बढेको छ । ‘कोरोनाका कारण  स्कुल बन्द भएपछि छोराको भविष्य के होला भन्ने चिन्ता बढेको थियो, अब भने ढुक्क भयो’ उहाँले खुसी साट्नुभयो ।  

कोरानाको कारण बन्द भएको स्कुल कहिले खुल्ला भन्ने चिन्ताले सताइरहन्थ्यो । अब भने स्कुल खुल्ने प्रतिक्षाको घडी सकिइसकेको छ । लामो समयपछि साथी र शिक्षकसँग भेट्न पाएर होला छोराको मुहारमा पनि खुसी फेरिएझैं लाग्छ उहाँलाई । 

‘स्कुल बिदा हुँदा छोराले स्कुलकोबारे कुरा गरिरहन्थ्यो’ सीता भन्नुहुन्छ  ‘कहिले फेरि छोरामा खुसी फर्किएलाझैं लाग्थ्यो साँच्चै फर्कियो ।’ फेरि पनि स्कुल बन्द हुने त होइन  भन्ने उहाँलाई अझै डर छ । उहाँलाई कुनै पनि अवस्थामा  स्कुल बन्द गरिनु हुन्न भन्ने लाग्छ । सुरक्षाका उपाय अपनाएर भए पनि स्कुल त खुलाउनु नै पर्छ भन्ने उहाँको सुझाव छ ।  

धादिङको कालिका माविजस्तै देशका धेरै ठाउँमा स्कुल खुल्न थालेका छन् । ६ महिनाभन्दा बढी समय बन्द भएका स्कुल खुल्न थालेपछि विद्यार्थी र शिक्षकसँगै अभिभावक पनि उत्साहित छन् ।

काठमाण्डौमा पनि स्कुल खुल्न थाले 

काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ महादेवस्थानमा रहेको प्रभात माध्यमिक विद्यालयमा पनि पठनपाठन सुरु भएको छ । ६ महिनापछि स्कुल खुल्दा विद्यार्थीहरु निक्कै खुशी भएका विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेतीले बताउनुभयो । 

भन्नुहुन्छ  ‘विद्यार्थी निक्कै खुसी छन् ।  त्यही भएर होला कक्षा १० मा यो वर्ष ६० जना विद्यार्थी रहेकामा सबै ६० जना नै स्कुल आउँछन् ।’ स्कुलले गएको असारमा अनलाइन कक्षा सञ्चालनका लागि विद्यार्थीहरुको लगत संकलन गरेको थियो । त्यतिबेला इन्टरनेट,  मोबाइल र ल्यापटप भएका विद्यार्थी संख्या एउटा निक्कै कम भयो । 

प्रधानाध्यापक रुपाखेती भन्नुहुन्छ “एउटा कक्षामा ६, ७ जनाभन्दा धेरैसँग इन्टरनेटको पहुँच थिएन । हाम्रा विद्यार्थीसँग पनि इन्टरनेट र डिभाइस भएन, । हामीले  किनेर दिन पनि सकेनौं । कुनै विकल्प नभएपछि चाहेर पनि विद्यार्थीलाई अनलाइनमार्फत् पढाउन सकेनौँ ।’

यति लामो समय हात बाँधेर बस्नुको विकल्प भएन । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै सुरक्षा मापदण्ड अपनाएर स्कुल सञ्चालन गरिएको उहाँले बताउनुभयो । नगरपालिकासँगको समन्वयमा स्कुल खोलिएको हो । अहिले २ सिफ्टमा कक्षा सञ्चालन हुन्छ । 

एक सिफ्टमा एउटा कक्षाका विद्यार्थीलाई मात्र बोलाउने गरिएको छ । एउटा बेन्चमा एक जना मात्र राखेर पढाइ हुन्छ । सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै समस्या भएमा नगरपालिकाले सहयोग गर्ने बचन दिएकाले सजिलो भएको उहाँको भनाइ छ। 

अघिल्लो वर्ष  ८ सय जना विद्यार्थी भर्ना भएका थिए । यो पटक ६ सय जना भर्ना भइसकेका छन् । अरु भर्ना हुने क्रममा छन्  उनीहरु पालैपालो स्कुल जान्छन् । बिहान १० बजे र दिउँसो १२ बजे दुई सिफ्टमा कक्षा सञ्चालन हुन्छ । 

विद्यार्थीलाई एक हप्ताभरिलाई पुग्ने गृहकार्य दिएर पठाउने गरिएको प्रधानाध्यापक रुपाखेतीले जानकारी दिनुभयो । विद्यालयमा प्रवेश गर्दा ज्वरो नाप्ने, मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । 

कपडाको मास्क लगाएर आउने विद्यार्थीलाई विद्यालयले नै सर्जिकल मास्क दिने गर्छ ।  जोखिमका बाबजुद विद्यार्थीको भविष्य हेरेर पढाइलाई निरन्तरता दिएको उहाँको भनाइ छ । भर्ना भएका विद्यार्थीहरू सबैले पाठ्यपुस्तक पाइसकेका छन् । अन्य विकल्प नभएपछि शैक्षिक सत्र खेर जान नदिन सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेको प्रधानाध्यापक रुपाखेतीले बताउनुभयो । 

पालिकासँगको अनुमति लिएर अरु धेरै स्कुलले यसैगरी पढाइ सुरु गरेका छन् । गोरखा, धादिङ, सुर्खेत, दाङ र हुम्लालगायतका ठाउँमा धेरैको संख्यामा स्कुलहरु सञ्चालनमा आइसकेका छन् 

हुम्लाको ताँजाकोट गाउँपालिकामा रहेका सबै स्कुलमा केही दिनभित्रै पठनपाठन सुरु हुने भएको छ । ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लका अनुसार गाउँपालिकामा अहिलेसम्म एक जना पनि कोरोना सङ्क्रमित भेटिएका छैनन् । त्यसैले आउँदो १८ गतेदेखि सामान्य अवस्थामा जस्तै गरी पठनपाठन सुरु गरिने उहाँले बताउनुभयो । 

गाउँपालिकाले साउनमा पनि स्कुल खोलेको थियो । तर कोरोनाको जोखिम हुन सक्ने भन्दै बन्द गरेको थियो । १८ गतेदेखि स्कुल सञ्चालनमा आएपछि दशैँमा पनि तीन दिन मात्रै बिदा दिने तयारी छ । 

गाउँपालिकासँगको सबै सीमा बन्द गरेर स्कुल खोल्ने निर्णय भएको अध्यक्ष मल्लले बताउनुभयो । स्कुलको गेटमै हात धुने व्यवस्था गर्ने, ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षा मापदण्ड अपनाएर स्कुल सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो । ताँजाकोट गाउँपालिका भित्रैका केही स्कुलमा भने पढाइ भइरहेको छ ।  

यस्तै मुस्ताङमा  सञ्चालित सामुदायिक तथा निजी केही स्कुल पनि खुल्न थालेका छन् भने केही स्कुल केही दिनमा खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेसँगै मुस्ताङका  विद्यालयले सम्बन्धित तहको अनुमतिमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ विद्यालय खोल्ने तयारी गरेका हुन् । मुस्ताङको घरपझोङ गाउँपालिकाका ८ वटा सामुदायिक विद्यालयमा पढाइ सुरु भएको छ । 

गाउँपालिका भित्रका २ वटा निजी विद्यालय भने केही दिनमै सञ्चालनमा आउने गाउँपालिकाका शिक्षा अधिकृत हिमलाल शर्माले  जानकारी दिनुभयो । सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शिक्षासँग सम्बन्धित सरोकारवालाबीचको छलफलपछि सहजीकरण निर्देशिका बमोजिम विद्यालयको शैक्षिक पठनपाठन अघि बढाउने निर्णय भएको उहाँले बताउनुभयो । 

देशका विभिन्न ठाउँमा धमाधम स्कुल खुल्न थालेका छन्  । सरकार भने अझै पनि पर्ख र हेरको अवस्थामा छ । शिक्षा मन्त्रालयका प्रवत्ता दिपक शर्मा कोरोनाको जोखिम कायम नै भएकोले तत्काल स्कुल खोल्न सम्भव नभएको बताउनुहुन्छ । शैक्षिक सत्र खेर जान नदिनका लागि बैकल्पिक माध्यमबाट पढाइ गर्न भनिएकोले स्कुल खोलन हतारिन नहुने उहाँको भनाइ छ ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्ला समन्वय इकाईमार्फत विद्यालय सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिइरहेको छ । तर अभिभावक, जनप्रतिनिधि र स्कुल सञ्चालक भने आवश्यक सुरक्षा मापदण्ड अपनाएर स्कुल खोल्न सकिने बताउँछन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया