कालीकाेटमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका ५६ बढी योजना अलपत्र

 असोज १७, २०७७ शनिबार १३:१८:१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - शान्ति तथा पुनर्निर्माण मन्त्रालयले क्रमागत रुपमा राखेको ५६ वटाभन्दा बढी योजना अलपत्र भएका छन् ।

मन्त्रालयबाट अनुदान पाउने गरी सुरु गरिएका २८ विद्यालय भवन, १७ देवी-देवताका मन्दिर (थान) फिल्ड र ११ खानेपानी आयोजना र स्वास्थ्यचौकी, गाविस भवन,  सामुदायिक पुस्तकालय भवन लगायतकाे पुनर्निर्माण मन्त्रालय नै खारेज भएर बजेट नआएपछि अलपत्र भएकाे हाे ।

मन्त्रालयबाट खाँडाचक्र नगरपालिका ७ पिलिको कालीका आधारभूत विद्यालय भवन निर्माण कार्य सुरु भएको पाँच वर्ष भयो । ४ सय विद्यार्थी रहेको यो विद्यालयमा भवन निर्माणका लागि पिलर ठड्याएर छोडिएको छ । 

१८ लाख लागत अनुमान गरिएकाे विद्यालय भवनमा ६ लाख ७५ हजार पिलर उठाउनमै सकिएको थियाे । विद्यालयका प्रधानाध्यापक पंखबहादुर शाहीले बाँकी रकम नआएपछि विद्यालय भवन निर्माण कार्य सम्पन्न गर्न कठिनाइ भएको जानकारी दिनुभयो ।

यस्तै शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत छानिएका आयोजनाको लागत १९ करोड ३३ लाख रुपैयाँ रहेकाे छ । गएको वर्षसम्म ४ करोडभन्दा बढी खर्च भइसकेको छ । ‘कतिपय योजना त कुन ठाउँका हुन् भन्ने समेत स्पष्ट छैन’ जिल्ला समन्वय अधिकारी चन्द्रबहादुर शाहीले भन्नुभयाे ।

मन्त्रालयले सञ्चालन गरेकाे धेरैजसो योजनाका ६ देखि ८७ प्रतिशतसम्म काम सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वमा क्षतिग्रस्त भएका विद्यालय, मन्दिर, खानेपानी, विद्युत, सामुदायिक भवन, पुस्तकालय र सिँचाइ योजनाकाे पुनर्निर्माणको कार्य अहिले अलपत्र अवस्थामा पुगेकाे छ । उपभोक्ता समितिमार्फत निर्माण हुने ती योजनाको लागत तीन लाखदेखि २ करोड रुपैयाँसम्म छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत हुने भनिएको सबैभन्दा ठूलो आयोजना राम्नाकोटको लाफागाड लघु-जलविद्युत आयोजना हो । मन्त्रालय नै खारेज भएपछि गाउँपालिकाले बजेट थपेर विद्युत सञ्चालनमा ल्याएको छ । विद्युत सेवा सञ्चालन भए पनि रकम अभावमा काम गर्ने कामदारले अझै पैसा पाउन सकेका छैनन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया