बुर्का छोडेर सेतो कोटमा बिरामीको सेवामा सक्रिय डाक्टर नजमु

 असोज १७, २०७७ शनिबार १८:३८:३० | सीताराम ओझा
unn.prixa.net

कैलाली - इस्लाम धर्ममा महिला र पुरुष दुवैका लागि बुर्का अनिवार्य गरिएको छ । 

तर बुर्का शब्द भन्ने बित्तिकै आम-मानिसको मानसपटलमा महिलाको आकृति मात्रै किन उभिन्छ ? जवाफ सहज छ, किनकी महिलाले नै बुर्का ओढेर हिँडेको देखिन्छ । यदाकदा मात्रै पुरुषले लगाएको देखिन्छ । नेपालको मुस्लिम समुदायका महिलाले बुर्काभन्दा पनि हिजाबलाई बढी प्राथमिकता दिएको पाइन्छ । 

बुर्काको वास्तविक अर्थ लुक्नुपर्छ भन्ने हुँदै होइन । बुर्का लगाएर हिँड्न, पढ्न, काम गर्न छुट छ । त्यही भएर पछिल्लो समय शिक्षामा मुस्लिम महिलाको संख्या केही बढ्दैछ । अनि ती मुस्लिम महिलाहरु बुर्काबाट उदाउँदै छन् । तिनै महिला मध्येकी एक हुनुहुन्छ स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी ।

मुस्लिम समुदायका महिलाहरुले मुखमा बुर्का लगाएर हिँड्नुपर्ने स्थिति रहँदा उहाँ भने सेतो कोट लगाएर बिरामीहरुको उपचारमा सक्रिय हुनुहुन्छ । उहाँ बाँकेबाट एमबीबीएस गर्ने मुसलमान समुदायकी पहिलो महिला हुनुहुन्छ । 

धनगढीमा विवाह भएपछि उहाँ जटिल र कठिन शल्यक्रिया गर्दै महिलाहरुलाई नयाँ जीवन दिइरहनु भएको छ । 

एमबीबीएस, एमडी हुँदै नेपालगञ्जबाट धनगढी 

कक्षा ९ पढ्दादेखि विज्ञानमा रुची राख्न थाल्नु भएकी नजमुले नेपालगञ्जको मोर्डन पब्लिक माविबाट २०५३ मा एसएलसी उत्तीर्ण गरेपछि महेन्द्र उच्च माविबाट विज्ञानमा प्लस टु सक्नुभयो ।  व्यापारमा जमेका उहाँका पिताले डाक्टर पढ्ने एक्ली छोरीको आग्रहलाई एकै पटकमा स्वीकारेपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना हुनुभयो । उहाँले २०६१ मा एमबीबीएस सक्नुभयो ।

त्यहीं काम गर्दै उहाँले २०६८ मा एमडी पूरा गर्नुभयो । उहाँलाई पढाउनेमा धवल शमशेर पनि एक हुनुहुन्छ । जो अहिले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुनुहुन्छ । आफूले पढेकै नेपालगञ्ज मेडिकल कलेजमा काम र पढाइ अगाडि बढाउनुभयो । मेडिकल कलेजमा उहाँ आफूले धेरै काम गर्नु पर्दैनथ्यो । डाक्टरी पास भएर अभ्यास गरिरहेकाहरुले उहाँलाई सघाउँथे । जटिल र ‘क्रिटिकल केसहरु’मा मात्रै उहाँले हात हाल्नु हुन्थ्यो ।

नेपालगञ्जबाट धनगढी आएपछि भने उहाँ सबै काम आफैँ गरिरहनु भएको छ । सुरुमा सेती प्रादेशिक अस्पतालमा कार्यरत उहाँ अहिले धनगढीको निसर्ग अस्पताल र सिटी पोलिक्लिनकमा कार्यरत हुनुहुन्छ । उहाँकोमा उपचारका लागि आउने ९० प्रतिशतभन्दा बढी बिरामीहरु जटिल प्रकृतिकै रहने गरेका छन् । कतिपय बिरामीहरु मेडिकल कलेजमा उपचार गरिएकाहरु छन् । नयाँ बिरामीहरुको संख्या निकै न्यून छ ।

काठमाण्डौ, नेपालगञ्ज रेफर गरिएका केसहरु उहाँको पुग्छन् । धनगढीका अन्य स्त्रीरोग विशेषज्ञहरुले आफूले गर्न नसक्ने केसहरु अन्तै रेफर गर्छन् । तर उहाँको पठाउँदैनन् । उहाँ  भने आफू ती केसहरु गर्न सक्षम भएको बताउनुहुन्छ । ती रेफर गरिएका कतिपय केसहरु भने उहाँको बारेमा बुझेर पनि आउने गरेका छन् । 

बिरामीलाई राहत, कम खर्चमा राम्रो उपचार 

डोटीको साजघाटकी ४३ वर्षीया उत्तरा बोगटीको पाठेघरको धनगढीमै जटिल शल्यक्रिया भयो । पाठेघरमा आन्द्रा, अण्डाशय र पिसाबथैली टाँसिएर समस्यामा रहनु भएकी उहाँ धनगढीमै अप्रेसन भएपछि टाढा जानुपर्ने आवश्यकता नभएको र अन्यत्र जाने आउने पैसाको बचत भएको बताउनुहुन्छ ।

यो जटिल शल्यक्रिया स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारीकै नेतृत्वमा भएको थियो । उहाँलाई सघाउनुभएको थियो उहाँका श्रीमान वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारी, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा लगायतको टिमले । 

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक दुरविन प्रविधिबाट पाठेघरभित्रको परीक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी सेवा धनगढीमा उपलब्ध हुन थालेको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत घर हुनु भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तित) को पनि यो सेवा लिनुभएको छ ।

३ वर्षदेखि बाँझोपनको समस्याबाट आजित उहाँ उपचारका लागि कोहलपुर, नेपालगन्ज पनि पुग्नु भएको थियो । त्यहाँ हरेक पटक जाँदा औषधि मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो भनेर पत्ता नलाग्ने हुँदा उहाँ धनगढी आएर डाक्टर नजमुस्सबालाई जाँच गराउनुभयो ।

दुरविन प्रविधिबाट गरिने हिस्टेरोस्कोपीबाट उहाँको दायाँ डिम्ब बाहिनी नलीको मुख बन्द भएको देखियो । दुरविन प्रविधिकै माध्यमबाट बिना चिरफार (घाउ नबनाइ) उहाँको बन्द भएको नलीको मुख खोलियो ।

यस किसिमको परीक्षण तथा उपचार प्रविधि बाँझोपनको समस्या थाहा पाउन, डिम्ब बाहिनी नलीको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरसम्बन्धी समस्यामा बायोप्सी जाँचहरु गर्न र अन्य थुप्रै अवस्थामा समेत यो परीक्षण तथा उपचार पद्धति लाभदायी हुने गर्छ । उहाँको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्राधानाध्यापक डाक्टर नजमुस्सबा लगायतकै टीम खटिएको थियो ।

उहाँकै नेतृत्वमा एक महिलाको पेटबाट ६ किलोको मासुको डल्लो निकालियो । कैलालीको भजनी नगरपालिका ६ की २९ वर्षीया रत्ना चौधरीको पेटबाट मासुको डल्लो निकालिएको हो । गाउँघरमा झारफुकबाट ठिक नभएपछि कोहलपुर गएर एमआरआई गरेपछि मात्रै पेटमा मासुको डल्लो भएको थाहा भएको थियो । मासुको डल्लोले पाठेघरलाई च्यापिसकेको रहेछ ।

डाक्टरले मासुको डल्लो निकाल्दा पाठेघर पनि निकाल्नु पर्ने सुझाव दिए । सुरुमा पेट बढ्दै गएपछि अनेक औषधि र झारफुकमा लागे पनि चौधरीको पेट झन ठूलो हुँदै गएको थियो । डाक्टर नजमुस्सबा अन्सारी लगायतको टिमले रानाको सफल शल्यक्रिया गर्यो । यी त केही उदाहरण मात्रै हुन् । हरेक दिन महिलाहरुका जटिल शल्यक्रिया गर्दै आउनु भएको छ उहाँ । 

सुदूरपश्चिमका महिलाहरुमा धेरै समस्या

सुदूरपश्चिमका महिलाहरुमा गाइनोसँग सम्बन्धी धेरै समस्या देख्नु भएको छ उहाँले । पाठेघरमा खराबी, पिप जमेको, सुत्केरीहरुमा रक्तश्राव भएको जस्ता धेरै समस्या भएका महिलाहरु उहाँको पुग्छन् ।

पुरुष स्त्रीरोग विशेषज्ञसँग खुलेर भन्न नसकेका समस्याहरु पनि महिला भएको हिसाबले भन्दा उपचारमा सहज हुने उहाँको अनुभव छ । उहाँले जटिल प्रकृतिका जति केसहरुमा हात हाल्नु भएको छ, अहिलेसम्म एउटा केसमा पनि असफल हुनु भएको छैन । उहाँ  धनगढी आएपछि हिस्टस्कोपी, पाठेघरको दुरविन विधिबाट धनगढीमै उपचार भइरहेको छ । जबकी यो सुविधा नेपालगञ्जमा समेत छैन । 

अन्यत्र जानुपर्ने अवस्था छैन 

धनगढीमै कम खर्चमा हुने उपचारका लागि अन्यत्र गएर बढी रकम खर्च गर्ने र त्यहाँ पनि उपचार नभएर थप समस्याहरु बल्झिएर आफ्नोमा आएपछि आफूले उपचार र शल्यक्रिया गरेको उहाँ बताउनुहुन्छ ।

भारतका ठूला शहरमा उपचारका लागि जानु ठीकै भए पनि स-साना शहरमा नजान उहाँको आग्रह छ । त्यहाँ बिग्रिएका धेरै केसहरु पछि उहाँकैमा आइरहेका छन् । आफूहरुको क्षमतामा विश्वास गर्न उहाँ महिलाहरुलाई अनुरोध गर्नुहुन्छ । 

इन्डो गाइनाे र बाँझोपनको सेवा दिने तयारी 

धनगढीको निसर्ग अस्पतालमा धेरै सुविधा र उपकरण भएका कारण अधिकांश जटिल किसिमका शल्यक्रिया उहाँ त्यहीँ गर्नुहुन्छ । एक दुई वटा जटिल शल्यक्रिया नगरेको प्रायः दिनै हुँदैन ।

बिरामी जाँच र उपचारका लागि दिनमा ४०/५० जनाभन्दा बढी आउने गरेका छन् । अब उहाँ धनगढीमा इन्डो गाइनाे र निःसन्तान अर्थात बाँझोपनको उपचार उपचार दिने तयारीमा हुनुहुन्छ ।  त्यसो भएमा कुनै पनि महिलाले अकालमा ज्यान गुमाउनु नपर्ने र उपचारका लागि अन्यत्र जानुपर्ने सबै समस्या समाधान हुने उहाँले आशा राख्नु भएको छ । 

जटिल शल्यक्रियामा श्रीमानको साथ 

स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारीलाई उहाँका श्रीमान  वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मिराज आलम अन्सारीको सधैं साथ रहँदै आएको छ । उहाँहरुको जोडी पछिल्लो केही वर्षदेखि धनगढीमा सफल शल्यक्रिया गर्ने दम्पतीको रुपमा स्थापित भइरहेको छ । सुदूरपश्चिमका मात्रै नभएर नेपालगञ्जसम्म पनि गर्न सकिँदैन भनेर फर्काइएकाहरुको उहाँहरुले अप्रेशनहरू गर्दै आउनु भएको छ । 

मुस्लिम समुदायका दुवै जनाको पुख्र्यौली पेशा व्यापार हो । तर उहाँहरु आफ्नो पहिचान र काम फेरेर बिरामीहरुलाई सेवा दिइरहनु भएको छ । 
 
हजुरबुबाको अडानले डाक्टर बन्नुभएका मेराज

२०३२ सालदेखि धनगढीमै हार्डवेयर व्यवसाय गरिरहेको थियो डाक्टर मिराजको परिवार । बाल्यकालका केही वर्ष धनगढीमै पढ्नुभयो । बीचमा पढाइका लागि नैनीताल जानुभयो । फेरि धनगढी फर्किनुभयो ।

जेसिज एभरेष्ट स्कुलबाट एसएलसी पास गरेपछि प्लस टु काठमाण्डौको डनबस्को कलेजबाट गर्नुभयो । त्यसपछि उहाँ अष्ट्रेलिया जाने सोचमा हुनुहुन्थ्यो । उहाँका साथीहरु पनि उतै गइसकेका थिए । रहर थियो फेशन डिजाइन पढ्ने । तर उहाँका हजुरबुबाले डाक्टर पढ्नुपर्ने अडान राख्नुभयो ।

हजुरबुबाको अडानलाई सुरुमा त उहाँले वास्ता गर्नुभएन् । तर पछि हजुर बुबाले अति गरेपछि उहाँ एमबीबीएस पढ्नुभयो । एमबीबीएसको पढाइ मरिससमा गर्नुभयो । पढेर फर्किएपछि वीर अस्पतालमा इन्टर्नसीप गर्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि काम गर्नुभयो । त्यसपछि मेराज महेन्द्रनगरको नागार्जुन अस्पतालमा काम गर्न जानुभयो । २० महिना काम गर्नुभयो । त्यसपछि उहाँ एमडी पढाइ गर्न नेपालगञ्ज मेडिकल कलेजमा भर्ना हुनुभयो । पास पनि हुनुभयो ।

कामसँगै लेक्चरको रुपमा मेडिकल कलेजमा काम पनि तीन वर्ष काम गर्नुभयो । सेती अस्पतालमा सर्जनको रुपमा एक्ला डाक्टर हुनुहुन्थ्यो डाक्टर बीएस बोहोरा । एक्लैलाई काम गर्न पनि गाह्रो ।

अलि जटिल बिरामीहरुको शल्यक्रिया हुने अवस्था थिएन । बिरामीहरुलाई उपचार र शल्यक्रियाका लागि अन्त पठाइने गरिएको थियो । डाक्टर बोहोरासँग कुराकानी भयो । उहाँ  सेतीमा आउन तयार हुनुभयो । तर उहाँलाई यहाँ आउन प्रक्रिया मिलाउनै सात आठ महिला लागेको थियो ।

बल्लबल्ल धनगढी आएपछि काम थाल्नुभयो सेतीमा । उहाँ अहिले पनि निरन्तर काम गरिरहनु भएको छ सेतीमै । निजी अस्पताल र क्लिनिकमा पनि जटिल शल्यक्रियाका लागि उहाँलाई नै बोलाउने गरिन्छ । हजुरबुबाको सपना साकार पार्न डाक्टर बन्नुभएका उहाँ अहिले यही फिल्डमा रमाउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया