स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्ने जिल्ला स्वास्थ्य कार्यालय पुरस्कृत

 असोज २५, २०७७ आइतबार १५:४३:१४ | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्ला स्वास्थ्य कार्यालय डोटीले स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै पुरस्कृत भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले वार्षिक समीक्षामा जिल्ला स्वास्थ्य कार्यालयलाई उत्कृष्ट घोषित गर्दै ४० हजार रुपैयाँसहित सम्मान गरेको हो । 

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई ४० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले यहाँका नौ वटै जिल्लाका पालिकामा रहेका स्वास्थ्य केन्द्रमध्ये जिल्ला स्वास्थ्य डोटीले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले जानकारी दिनुभयो । 

प्रदेश स्वास्थ्य निर्देशनालयले स्वास्थ्य क्षेत्रमा गरेको योगदान, कार्यक्रम कार्यान्वयनलगायत विषय हेरेर पालिका तथा स्वास्थ्य कार्यालयहरुलाई त्यही आधारमा अङ्क दिएर उत्कृष्ट छनोट गरिएको जनाएको छ । 

कोभिड–१९ को महामारी नियन्त्रणमा उल्लेख्य भूमिका खेलेको भन्दै शिखर नगरपालिकाका नगर स्वास्थ्य प्रमुख हरिष शाह पनि पुरस्कृत हुनुभएको छ । यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिका, कैलालीको टीकापुर नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, बझाङको जयपृथ्वी नगरपालिका, दार्चुलाको नौगाड गाउँपालिका तथा डोटीको आदर्श गाउँपालिका पनि उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत भएका छन् ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । उत्कृष्ट भएका नगरपालिका तथा गाउँपालिकालाई पनि ४० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

उत्कृष्ट भएका पालिका तथा स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व, बाल स्वास्थ्य सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन, संस्थागत सुत्केरीलगायत कार्यक्रम सन्तोषजनक रहेको र तथ्याङ्क अभिलेखीकरणदेखि पोषणको क्षेत्रमा राम्रो काम गर्दै आएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया