मध्यरातमा ‘नाद’ बजाउदै फेरी लगाउने ‘नाथ’को परम्परा संकटमा

 साउन २७, २०७५ आइतबार ७:४९:१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – मध्यरातमा घर घरमा फेरी लगाउने कानफटा जोगी (नाथ)हरुको परम्परा संकटमा पर्दै गएको छ । 

कनफट्टा (कान चिरेका) जोगीहरु गोरखनाथ र नरहरिनाथका शिष्य मानिन्छन् । भक्तका घरलाई नाथ योगीहरुले भाग लगाएर चैत र कात्तिक महिनामा घरघरमा गई ‘सह’ जगाउने परम्परा रहे पनि अहिले धेरै स्थानमा जोगीहरूले फेरी लगाउने क्रम घटेको छ । 

फेरीको महत्व

कानफटा जोगी(नाथ)हरु कात्तिक र चैत महिनामा फेरी लगाउने गर्छन् । फेरी लगाएमा घरको रक्षा हुने, भूत पिचाश नआउने जनविश्वास छ । कानफटा जोगीहरुलाई मंगलबार र शनिबार टीका लगाएर दान दिने गर्छन् । चामल, धान, बेसार, तरकारी, नुन, तेल, घिउ, दक्षिणा, कालो कपडा लगायतका वस्तु दान गर्ने चलन छ ।

रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा संकलन गरी जीविकोपार्जन गर्दै आएका छन् । फेरी लगाएर मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ ।

फेरी लगाउँदा छेद, भेद, मरिद, मसना, डंकिनी, भूत र पिचासले दुःख नदिओस् भनेर मन्त्रोचारण गर्ने गरेको उनीहरुको भनाइ छ । अघिल्लो रात फेरी लगाउने र भोलिपल्ट दान लिँदै हिँड्ने योगीलाई भक्तहरूले पनि अन्नबालीमा ‘सह’ बस्ने, घरमा भूतप्रेत तथा पिचासले बास नगर्ने विश्वासमा अन्न दान गर्दछन । 

थरसँगै पेशा पनि परिवर्तन

वास्तविक पहिचानले अपहेलना भोग्नु परेका भन्दै पछिल्लो पुस्ताले थरै समेत परिवर्तन गर्न थालेका छन् । योगी रुद्र नाथले तत्कालीन राजाहरुले नाथ योगीहरुलाई आफ्नो गुरु मानेर चार जातभित्र नराखी सम्मान दिएको भए पनि बुझाई कम हुँदा कमजोर सम्झेर थर समेत परिवर्तन गर्ने क्रम बढेको बताउनुभयो ।

पछिल्ला पुस्ताहरू योगी बन्नका लागि कान छेडेर कानफटा लगाउनसमेत रूची नदेखाउनु र मन्त्रपाठ ध्यान गर्न नचाहनुले मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । युवापुस्ताले परम्परालाई निरन्तरता भन्दा अन्य पेशा रोजेपछि संकटमा पर्न थालेको नारायणगढमा रहेको हरिहर मन्दिरमा बस्दै आएका रुद्रनाथ योगीले बताउनुभयो ।

युवाहरू फेरी लगाउनुभन्दा वैदेशिक रोजगारीसँगै अन्य पेसामा लागेपछि पहिचान संकटमा परेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

मध्यरातमा बजाईने नाद

नादको अर्थ हो आवाज निस्किनु हो । पवित्र काठ र धातुहरुबाट निर्माण गरिएको वस्तुलाई मुखले फुक्दा आवाज आउने हुनाले यसलाई नाद भनिएको हो । नादलाई नाथ योगीहरुले कुनै पनि शुभकार्य गर्नुअघि तीनपटक फुकेर मन्त्र जप गर्ने गरेको बताउँछन् ।

यो तीन पटकदेखि छ पटकसम्म पनि विभिन्न देवीदेवताहरुको स्मरण गर्दा फुक्ने चलन छ । गुरुलाई स्मरण गर्दा तीनपटक र अरु देवीदेवताहरुलाई स्मरण्म गर्दा छ पटक बजाउने चलन रहेको नाथयोगीहरु बताउँछन् ।

अशंमा समेत नाद

यो समुदायमा विवाहपछि परिवार छुट्टिँदा अंशका रूपमा फेरी लगाउने बराँठको सिङ दिने चलन थियो ।

अभिभावकले बराँठको सिङ दिँदै पुख्र्यौली पेशा नछाड्न फेरी लगाएर जीविकोपार्जन गर्न आशीर्वाद दिने गरेको उहाँ बताउनुहुन्छ । 

युवा पुस्ताले लाज मान्नु, पेशाबाट आत्मसम्मान नपाउनु, अन्य समुदायले हेयका दृष्टिले हेर्नु, वर्षभरि काम नपाउनु, आकर्षक कमाई नहुनुलगायत कारणले यो पेसा अँगाल्न नमानेको उहाँले बताउनुभयो ।

सुरक्षा र सम्मान आवश्यक

फेरी लगाउने जोगीहरु रातको समयमा गाउँ डुल्नुपर्ने भएका कारण सुरक्षाको अनुभूति हुनुपर्ने योगी रुद्रनाथले बताउनुभयो । रातको समयमा फेरी लगाउन जाँदा असुरक्षा बढेको कारण समस्या भएको उहाँले बताउनुभयो ।

संस्कृति र धार्मिक परम्परा धानेका योगीहरुको सम्मान गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । चलिआएको परम्परा र संस्कार संरक्षणका लागि कानफटा योगीहरुको सुरक्षा र सम्मानमा ध्यान दिन सके परम्परा जोगिने उहाँको भनाइ छ । 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया