ललितपुर महानगरमा अहिलेसम्म १६ ट्रक होर्डिङ बोर्ड हटाइयो, भोलिदेखि फुटपाथमा तरकारी बेच्न नपाइने

 कात्तिक १२, २०७७ बुधबार १७:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियानमा अहिलेसम्म १६ ट्रक होर्डिङ बोर्ड हटाइएको छ । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले महानगरलाई स्वच्छ र सुन्दर बनाउने अभियानमा १६ ट्रक होर्डिङ बोर्ड हटाएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो । 

उहाँका अनुसार महानगरलाई कुरुप बनाउने खालका होर्डिङ बोर्ड धमाधम हटाउन थालिएको हो । यस्तै, जाँड–रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड पनि हटाउने काम भइरहेको छ । 

भोलीदेखि फुटपाथ अतिक्रमण गरेर राखिएका तरकारी पसल हटाइने

नगर प्रहरीले भोलि (बिहीबार) देखि फुटपाथ अतिक्रमण गरी राखिएका तरकारी पसल हटाउने भएको छ । ललितपुरको मङ्गलबजारदेखि लगनखेलसम्मको फुटपाथमा राखिएका तरकारी पसल हट्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो । 

बुधबार बिहान दुई घण्टासम्म भोलिदेखि पसल नराख्न आग्रह गर्दै माइकिङ गरेको र अटेर गरेर भोलि पसल राखे हटाइदिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फुटपाथमा व्यापार व्यवसाय गर्न पाइँदैन, फुटपाथमा राखिएको तरकारी बजारमा होहल्ला हुँदा डिस्टर्ब भएको भनेर उजुरीसमेत परेको छ, अब फुटपाथमा तरकारी बेच्न दिँदैनौँ ।’

योसँगै नगर प्रहरीले भैँसीपाटीमा सडक अतिक्रमण गरी बनाइएका टहरा पनि बिहीबारदेखि नै हटाउँदै छ । १५ २० वर्षदेखि तरकारी बजार रहेको टहरा नगर प्रहरीले हटाउने भएको हो ।

'सेवाग्राहीले फोन गरेको १५ मिनेटमा पुग्छौँ'  

नगरबासीको सेवामा खटिँदै आएको नगर प्रहरीले हरेक दिन सेवाग्राहीको घरघरमै पुगेर कुनै समस्या भए नभएको सोधी खोजी गर्न थालेका छन् । 

हरेक दिनको तालिकाअनुसार विभिन्न ठाउँमा पुगेर नगर प्रहरीले रिपोर्टिङ गर्ने गरेको नगर प्रहरी प्रमुख हाछेथुले बताउनुभयो । उहाँका अनुसार यसरी रिपोर्टिङका क्रममा कहीँ कतै समस्या परेको भए समाधानका लागि तत्काल प्रयास थालिने छ । 

महानगरपालिका अन्तर्गत हुने काम भए तत्कालै नगर प्रहरीले गर्ने छ भने अन्य निकायको अधिकार भएको क्षेत्र भए सम्बन्धित निकायमा सम्पर्क गरी पहल गर्ने छ । 

नगरमा सडकमा लत्रिएका तार मिलाउने, फुटपाथ बनाउने र ढलको मर्मत गर्ने लगायतका काम अहिले नगर प्रहरीले गर्दै आएको छ । सेवाग्राहीले गुनासो गरेको १५ मिनेट भित्रै नगर प्रहरी पुग्ने पनि नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो ।

यस्तै महानगरपालिकाको मठ, मन्दिर र पाटी, पौवाको संरक्षणका लागि हरेक दिनको दुई घण्टा सरसफाइसमेत नगर प्रहरीले गर्दै आएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया