फ्रान्सकाे निस सहरमा चक्कु आक्रमण, तीन जनाकाे ज्यान गयाे

 कात्तिक १३, २०७७ बिहिबार १७:१८:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – फ्रान्सको निस सहरमा भएको चक्कु आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको बताइएको छ । फ्रान्सेली प्रहरीका अनुसार आक्रमणमा कैयौँ व्यक्ति घाइते भएका छन् । 

यो आक्रमण फ्रान्सको चर्चित नोट्रे डाम चर्च नजिक भएको हो । प्रहरीका अनुसार ज्यान गुमाएकामध्ये एक महिलाको शिरछेदन गरिएको छ । 

निस सहरका मेयर क्रिस्चियन एस्ट्रोसीले पत्रकारहरुसँग भन्नुभयो, ‘संदिग्ध आक्रमणकारीले पटक–पटक अल्लाह हु अकबर (अल्लाह महान् छन्) भनेका थिए ।’ आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । 

फ्रान्सको राष्ट्रिय आतङ्क विरोधी टिमले यो विषयमा जाँच सुरु गरेको छ । निस भूमध्य सागरको तटमा रहेको दक्षिणी फ्रान्सको एक प्रमुख शहर हो । 

आक्रमणपछि फ्रान्सको संसदमा शोक व्यक्त गर्नको लागि एक मिनेटको मौनधारण गरिएको छ । 

पछिल्ला केही वर्षमा फ्रान्सको निस सहर खतरनाक आक्रमणहरुको सिकार हुँदै आएको छ । सन् २०१६ मा यहाँ एक ट्युनिसियाली ड्राइभरले मानिसहरुलाई ट्रकले किचिदिएका थिए । यस घटनामा ८६ जनाको ज्यान गएको थियो । 

यसको केही दिन अघि फ्रान्सको राजधानी पेरिसमा एक आक्रमणकारीले एक शिक्षकको शिरछेदन गरेका थिए । त्यसको भोलिपल्ट चर्चमा सामूहिक प्रार्थनाको क्रममा एक पादरीको घाँटी काटेर हत्या गरिएको थियो ।      

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया