दशैँपछि काेराेना सङ्क्रमण बढ्ने आँकलन : ‘उपचारकाे तयारीसँगै समुदायस्तरमा पीसीआर परीक्षण गराैँ’

 कात्तिक १३, २०७७ बिहिबार १९:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ पछाडि घरबाट फर्किनेहरुबाट काठमाण्डाै उपत्यकामा कोभिड–१९ सङ्क्रमण झनै बढ्ने आँकलन भइरहेकाे छ । यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) को सङ्ख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्यविद्हरुले भने उपचारको तयारी सँगसँगै समुदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् । 

दशैँ सकिएसँगै अहिले देशका विभिन्न ठाउँबाट काठमाण्डौ उपत्यका आउनेहरुको भिड बढेको छ । उपत्यका त्यसै पनि कोभिड–१९ सङ्क्रमणको उच्च दर रहेको ठाउँ हो । विभिन्न ठाउँबाट आउनेहरुको सङ्ख्या बढेसँगै स्वभाविक रुपमा सङ्क्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ । सार्वजनिक यातायातमार्फत उपत्यका भित्रिनेहरुमा अझ बढी सङ्क्रमण हुन सक्ने सम्भावना पनि छ ।

यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्दा पनि काेराेना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमण बढ्ने जोखिमको आँकलन गरेर सरकारले पूर्वतयारी गरिसकेको बताउनुभयो । हाई डिपेन्डेन्सी युनिट र आइसोलेशन वार्डको तयारी गरिसकेको उहाँले बताउनुभयो । 'सङ्क्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कम गर्न सक्दैन', उहाँले भन्नुभयाे ।

यसैले व्यक्ति स्वयंले पनि काठमाण्डौ फर्किसकेपछि कम्तीमा एक हप्ता क्वरेण्टीनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताउनुभयो । 

जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षितले भने दशैँमा घरबाट फर्किएर काठमाण्डौ आउनेहरुबाट सङ्क्रमण फैलने भन्दा उपत्यकाभित्र रहेकाबाट नै सङ्क्रमण फैलने सम्भावना बढी रहेको बताउनुभयो । गाउँभन्दा काठमाण्डौ उपत्यकामा नै सङ्क्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने उहाँले बताउनुभयो ।

'काठमाण्डौमा सङ्क्रमणमा नपर्नका लागि नियमित रुपमा मास्क लगाउने, दुरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छ', दीक्षित भन्नुहुन्छ । जाडो मौसममा घरभित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घरभित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आफूबाहेक अरु सबै सङ्क्रमित छन् भन्ने सोच बनाइ सावधानी अपनाउन डा. दीक्षितको आग्रह छ ।

यस्तै सरकारले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उहाँले बताउनुभयो । जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौसमी रुघा खोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उहाँको भनाइ छ । 

सरकारले कोरोना सङ्क्रमण फैलिन नदिन विभिन्न माध्यमबाट नागरिकलाई सचेत गराए पनि नागरिक स्वयंले यसको कठोर पालना नगर्दा सङ्क्रमणको दर बढिरहेको छ । युरोपेली देशहरुमा सङ्क्रमण दोहोरिएर भइरहेको घटनालाई पनि सरकार र नागरिक दुवैले हेरेर सतर्कता अपनाउनुको विकल्प छैन । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया