चाकु : पात, खर्पन र डोकोदेखि अन्तर्राष्ट्रिय ब्राण्डसम्म

 कात्तिक १५, २०७७ शनिबार ८:७:४१ | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डौ - गुलियो र मिठो विशुद्ध नेपाली परिकार “चाकु” बनाउन प्रसिद्धि पाएको टोखाका “देय् नायः” अर्थात् सबैभन्दा ज्येष्ठ नागरिक १ सय ५ वर्षका तुलसी नारायण श्रेष्ठलाई चाकु व्यवसायीहरुका चौथो पुस्ताले चाकु उत्पादन र बिक्री वितरणको इतिहासकै जीवित धरोहर “भीष्म पितामह” को प्रतिरुप मान्दै अभिनन्दन गरेका छन् ।

टोखा नगरपालिका वडा नम्बर २, भिल्लीमा रहेकाे श्रेष्ठको घरमा मोहनी पर्वको “नखत्या” का कारण चहल-पहल थियो । कोरोना संक्रमणबाट सुरक्षित राख्न नातिहरुले उहाँ हजुरबुबालाई कोठामा बसालेका थिए । तर चाकु उत्पादन र बिक्री वितरण गर्दै नेपाली जिब्रोमा चाकुको स्वाद भरेर शताब्दी जीवन बिताएका श्रेष्ठको खुशीको बाँध त्यतिबेला फुट्यो, जब टोखा परम्परागत चाकु संरक्षण समाजको टोली उहाँको हातबाट टीका थापेर अभिनन्दन गर्न पुग्यो । 

“म आज एकदमै खुशी छु, तपाईंहरु सबैको जय होस्” भन्दै आशिष दिएर उहाँले दिँदै केही विगतका कुरा सुनाउन उत्साहित हुनुभयो । दशैँ-तिहार लगत्तै चाकु उत्पादन गर्नुपर्ने चटारो सामुन्ने आइसकेकाले चाकु उत्पादकहरुको समाजले पश्चिम नेपालको नवलपरासी र कपिलवस्तुका कृषकहरुसित ऊखु उपलब्धताका लागि सम्झौता गर्ने तयारी गरिरहेको छ ।

यसै क्रममा चाकु उत्पादकहरुले आफ्ना उत्पादनलाई विश्व बजारमा विश्वसनीय बनाउन एउटै “ब्राण्ड” निर्धारण गरिसकेको समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ बताउनु हुन्छ । वर्तमानमा विश्वका कैयौँ देशबाट माग हुने गरेको चाकुलाई यति लोकप्रिय बनाउन टोखाका तुलसी नारायण श्रेष्ठ जस्तै अनेकौँ उत्पादन र बिक्रेताहरुको अतुलनीय योगदान रहेको छ ।

आजभन्दा ८०-९० वर्षअघिदेखि चाकु उत्पादन र बिक्री-वितरणमा सक्रिय र साक्षी रहनुभएका तुलसी नारायणको स्मृतिमा त्यतिबेला ऊखु खेतीदेखि चाकु उत्पादनसम्म टोखामै हुने गर्दथ्यो । ४-५ घर-परिवार मात्रै ऊखु पेल्नेदेखि चाकु उत्पादन गर्ने सम्मको व्यवसायमा संलग्न थिए ।

ती परिवारमध्ये पनि कोही काठमाण्डौको असन, मरुतिर व्यापार गर्न आउँथे भने कोही ललितपुरको मंगलबजार, कोही भक्तपुर, थिमितिर र कोही गोकर्ण, साँखुसम्म व्यापार गर्न जाने गर्दथे । तुलसी नारायणको कार्यक्षेत्र टोखाबाट उत्तरतर्फको नुवाकोट, रसुवा जस्ता दुर्गम पहाडतर्फ थियो। उत्पादित चाकुका डल्लाहरु परम्परागत खर्पनमा राखेर गुर्जे भञ्ज्याङ हुँदै नुवाकोट र रसुवासम्म पुगेर पहाडी जनजीवनमा चाकु उपलब्ध गराउने उहाँको दिनचर्या नै थियो ।

उत्तरी दुर्गम पहाडी क्षेत्रका बासिन्दा उहाँलाई “चाकु बेच्न आउने नेवार” का रुपमा राम्रै चिन्थे । स्थानीयकै माग अनुसारका “डल्ले चाकु” बनाएर दैला-दैलामा पुर्याउने गर्नुभएका तुलसी नारायणका अनुसार अहिले चाकु उत्पादन र बिक्री वितरण धेरै सजिलो भएको छ ।

तुलसी नारायण जस्तै काठमाण्डौ उपत्यका बाहिर पुगेर चाकु बिक्री-वितरण गर्ने गरेका टोखाकै ९३ वर्षीय भाइनारायण श्रेष्ठ आफूले उत्पादित चाकु डोकोमा राखेर बिक्रीका लागि लाने गरेको र गाउँगाउँ पुगेर खुर्सानी, कोदो र अण्डा जस्ता खाद्य पदार्थसित साटेर पनि ल्याउने गरेको सम्झिनु हुन्छ ।

उहाँको स्मृतिअनुसार एक धार्नी सख्खरबाट १५-१६ डल्ला चाकु बन्ने र त्यसको मूल्य तत्कालीन समयमा एक मोहरदेखि एक रुपैयाँसम्म हुने गर्दथ्यो । अहिले स्थानीयहरु टोखामा बढ्दो शहरीकरणका कारण ऊखु खेती गर्ने खेत बाँकी नरहेकोमा दुःखेसो गर्छन् ।

उहिले ऊखु खेतीका लागि “तुख्यः” अर्थात् ऊखु खेत प्रशस्त रहेकै कारण त्यसै नामबाट बस्तीकै नामांकरण भएको टोखाका चाकु उत्पादकहरु अहिले देशको पश्चिमी जिल्लाबाट सख्खर आयात गर्छन् । उत्पादकहरुका लागि दशैँ-तिहारबीचमा सख्खर आयात निश्चित गर्ने समय हुन्छ भने तिहारपछि उत्पादनमै व्यस्त हुने गर्दछन् । 

मंसिर र पुस महिना चाकु उत्पादकका परिवारको फुर्सदै नहुने महिना हुन् । ती दुई महिना चाकु उत्पादक परिवारका कोही घरभन्दा टाढा जाँदैनन् । माघ १ गते मकर संक्रान्ति (घिउ-चाकु सँल्हू) आउनु केही दिनअघि नै बजारमा चाकु पर्याप्त पुर्याइसक्नुपर्ने उनीहरुको अपरिहार्य र निर्विकल्प कर्तव्य हुने गर्छ ।

टोखा चाकु उत्पादकहरुले पुस्तैनी पेशाकै रुपमा यसलाई अँगालेका छन् । ८२ वर्षीय भक्त श्रेष्ठले पनि आफ्नो पुस्तैनी पेशाका रुपमा पाएको चाकु उत्पादनमै जीवन बिताउनुभयो । ०१५ सालमै पश्चिम नेपालबाट सख्खर कालीमाटी आइपुग्ने गरेको, त्यसलाई ठेलागाडामा राखेर सामाखुसीसम्म ल्याएर चाकु बनाउने गरेको र टोखाबाट सबैतिर आपूर्ति गर्ने गरेको उहाँ सम्झिनु हुन्छ । उहाँ भन्नुहुन्छ- “त्यतिबेला हामी चाकु पातमा पोको पारेर बेच्ने गथ्यौँ, पछि ०४० सालतिर प्लाष्टिकको प्रचलन भित्रियो ।”

उहाँ चाकुको कच्चा पदार्थ सख्खर छोएरै त्यसको गुणस्तर पत्ता लगाउने गर्नुहुन्थ्यो । छुँदा चिप्लो र लस्सादार भयो भने त्यो सख्खर चाकुका लागि राम्रो हुने गर्दछ भने खस्रो सख्खर चाकुका लागि उपयुक्त नहुने अनुभव उहाँ जस्तै अन्य सबैले गर्ने गरेका छन् । 

यसैगरी ७३ वर्षीय काशीलाल श्रेष्ठ पनि पुस्तैनी पेशा अँगाल्दै सानै उमेरदेखि चाकु उत्पादन र बिक्री-वितरणमा संलग्न हुनुभयो । धार्नीको ५ रुपैयाँ दरमा सख्खर किनेर ल्याउने साथै सम्पूर्ण कठिन प्रक्रिया पुर्याएर चाकु बनाइसकेपछि काठमाण्डौको असनदेखि साँखुसम्मका बिक्रेताहरुलाई बेच्ने गरेका उहाँले उत्पादन गर्नुभएको चाकु बिक्रेताहरुले टिनमा हालेर लाने गरेको र १५ दिनपछि भुक्तानी दिने गरेको सम्झिनु हुन्छ । 

आफूहरुले उतिबेलै उत्पादित चाकुका डल्लामा “श्री टोखा” डाम्ने गरेको र त्यतिबेलै टोखा चाकुका लागि प्रसिद्ध रहेको उहाँ बताउनु हुन्छ । टोखा चाकुका उत्पादकहरुमध्ये कतिपय काठमाण्डौमै डेरा लिएर उत्पादन गर्ने गरेका पनि छन् ।

प्रमुख बजार असन नजिक कःमिलाछि, कुसुमबियालाछि र नःघः र ढल्कोमा डेरा लिएर चाकु उत्पादन गर्नेमा ७१ वर्षीय नातिभाइ डंगोल पनि एक हुनुहुन्छ । उहाँ आफूले उत्पादित चाकु भक्तपुर र साँखुसम्म पुगेर बिक्री-वितरण गरेको सम्झनु हुन्छ । 

वर्तमानमा टोखा परम्परागत चाकु संरक्षण समाजमा आवद्ध व्यवसायीहरु अधिकांश यिनै अग्रजहरुका सन्तति छन् । परम्परागत रुपमा बनाइँदै आएको चाकु निर्माणमा कच्चा पदार्थदेखि प्रविधिमा समेत धेरै परिवर्तन आइसकेका छन् ।

समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ, महासचिव रामराज श्रेष्ठ, कोषाध्यक्ष सकली श्रेष्ठ साथै सदस्यहरु बाबुराज डंगोल र न्हुछे नारायण श्रेष्ठहरु वर्तमानमा टोखा चाकु उत्पादनका अगुवा छन् । उहाँहरु एकबद्ध भएर टोखाको पहिचान चाकुलाई यसै वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा राम्रो छविका साथ निर्यात गर्ने तत्परतासाथ अघि बढिरहेको बताउनुहुन्छ । 

यस्तोमा अघिल्लो पुस्ताका भक्त श्रेष्ठको स्पष्ट भनाई यस्तो थियो- “समाज तीव्र रुपमा परिवर्तित हुँदै गएको छ, नयाँ पुस्ताले पुरानो ढंगबाट होइन, नयाँ ढंगबाटै अगाडि बढ्नु पर्दछ ।” मौलिक उत्पादन चाकुलाई पात, डोको र खर्पन हुँदै अन्तर्राष्ट्रिय ब्राण्डसम्म पुर्याएका उत्पादकहरु अहिलेसम्म घाटामा परेका छैनन् । 

६३ वर्षीय कृष्ण श्रेष्ठ ४८ किलो सख्खरको चाकु बनाउँदा १० देखि १५ रुपियाँसम्म नाफा हुने गरेको सम्झनु हुन्छ । ०४५ साल अघिसम्म हातैले मुछ्ने गरेको चाकु त्यसपछिका दिनमा डण्डीमा फिट्ने गरिँदै आएको उहाँ बताउनु हुन्छ ।

हाल बजारमा पाइने गरेका विभिन्न मसलायुक्त चाकुहरुको उत्पादन ०५० सालपछि मात्रै हुन थालेको उहाँको अनुभव छ । “समयको माग अनुरुप हामी चाकु उत्पादन गर्न सक्षम छौँ” समाजका महासचिव रामराज श्रेष्ठले भन्नुभयो।  

अन्तिम अपडेट: बैशाख ३०, २०७९

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया