वैदेशिक राेजगारीबाट फर्केर गाउँमै बट्टाईपालन

 कात्तिक १७, २०७७ सोमबार १६:१७:५२ | रासस
unn.prixa.net

कैलाली – जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहनु भएको हो ।

बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उहाँले बताउनुभयो । ‘‘पाँच वर्ष जापान बसेर फर्किएँ । अहिले स्वदेशमै केही गरौँ भनी बट्टाई पाल्न थालेको छु’’, उहाँ भन्नुहुन्छ । बिन्तीरामको खोरमा पाँच सय वटा बट्टाई रहेका छन् ।

बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उहाँको भनाइ छ । सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हुँदा सहजरुपमा पालन गर्न सकिने भएकाले बट्टाईपालन गर्न थालेको उहाँ बताउनुहुन्छ ।

‘‘चरा चिसो मौसममा बढी बिक्री हुने रहेछ । घरमै खानका लागि किन्नेहरु धेरै आउँछन्’’, बिन्तीराम भन्नुहुन्छ, ‘‘बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ ।’’

बट्टाईपालनका लागि थोरै लगानीबाट शुरु गर्न सकिने र चरा डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाईपालनमा लागेको अर्का युवा टीकापुर–१ का बलराम भगोरियाले बताउनुभयो । ‘‘अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ’’, भगोरियाले भन्नुभयो, ‘‘अहिले व्यावसायिकरुपमा पाल्न थालेको छु ।’’

एउटा बट्टाई दुई सय रुपैयाँमा र अण्डा प्रतिगोटा १० रुपैयाँमा बिक्री हुने गरेको छ । लम्की चुहाका रमेश चौधरीले गएकाे वर्षबाट बट्टाईपालन शुरु गर्नुभएको हो । उहाँले यसबाट एक वर्षमा तीन लाख रुपैयाँ आम्दानी भएको बताउनुभयो ।

‘‘पालेको डेढ महिनादेखि बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु धेरै आउँछन्’’, चौधरीले भन्नुभयो, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गरिरहेको छु ।’’ 

कृषिलाई पेशा बनाउन थालेका युवा स्थानीय सरकारले व्यावसायिकरुपमा कृषि, पशुपालन गर्नेलाई अनुदान, प्राविधिक ज्ञानजस्ता कुरामा सघाउन आवश्यक रहेको बताउँछन् । टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदी किसानले माग गरे स्थानीय सरकारले यस किसिमका योजना ल्याउन सक्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया