मध्यरातमा कार्तिक डबलीमा जब बराह अवतार देखाइयो (फोटो फिचर)

 मंसिर १३, २०७७ शनिबार १८:१०:१५ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

ललितपुरका राजा सिद्धिनरसिंह मल्लका पालामा पनि अहिलेको जस्तै महामारी व्याप्त भएर देशमा अशान्तको वातावरण छाएको थियो । यसको समाधान के हुन सक्छ भनेर राजाले आफ्ना दुईजना गुरु हरिवंश राजोपाध्याय र विश्वनाथ राजोपाध्यायसँग सल्लाह माग्नु भएछ । ​गुरूहरूले मघा नक्षत्रमा परेकोले देशमा अशान्त व्याप्त रहेको भन्दै समाधानको लागि नरबली दिनु पर्ने सल्लाह दिएछन् ।

तर नरबली दिनु त्यति सहज थिएन । त्यसैले मनोरञ्जन पनि हुने र समस्याको समाधान हुने जुक्ति खोज्दै जाँदा गुरूहरूले विष्णुपुराणमा आधारित नृसिहं अवतारको नाच देखाउने सल्लाह दिएछन् । फलस्वरूप नेपालसम्वत् ७६१ अर्थात विक्रम सम्वत १६९७ मा नृसिहं अवतारको नाचमा अरू नाच थपेर कार्तिक नाचको शुरूवात भएको भन्ने मल्लकालिन इतिहासमा उल्लेख गरिएको छ ।

हाल पनि विश्वभरी नै कोरोना महामारीले व्याप्त गएको अवस्थामा परम्परा कायम गर्नको लागि २ दिनभए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्तिक नाच प्रदर्शन गरिएको छ। शुक्रबार यसै नाचअन्तर्गत बराह अवतार प्रदर्शन गरियो। स्वास्थ्य सुरक्षाका लागि दर्शकबिना नाच देखाइएकोले पाटन दरबार क्षेत्र  रातको समयमा सुनसान थियो र चिरागको उज्यालोमा सन्नाटालाई चिर्दै  खिँ, ता, झ्याली जस्ता परम्परागत बाजा र रागसहित नाच देखाइएको थियो ।

भगवान विष्णुले आफ्नो तेश्रो अवतारको रूपमा बराह भएर दैत्यराज हिरण्याक्षलाई  बध गर्ने पौराणिक कथामा आधारित नाच देखाइएको थियो । 

बराहको रूपमा विवेक कृष्ण श्रेष्ठले भूमिका निर्वाह गर्नु भएको थियो भने हिरण्याक्षको रूपमा किरण चित्रकारले भूमिका निर्वाह गर्नु भएको थियो। नेवार समुदाय भित्रको विभिन्न जातले कार्तिक नाच अन्तर्गतका नाचहरूमा भूमिका निर्वाह गरेको हुन्छ। यसै अनुरूप बराह श्रेष्ठ जातले र दैत्य चित्रकार जातले भूमिका निर्वाह गर्ने गर्दछन्।

कार्तिक नाच अन्तर्गत आज बेलुकी ९ बजेपछि मंगलबजारको कार्तिक डबलीमा नृसिंह अवतारको नाच दैखाइँदैछ। आज पनि दर्शकबिना दैत्यराज हिरण्यकश्यपुलाई नृसिंहले बध गर्ने नाच देखाइने छ।

(फोटोःकुमारराजा महर्जन)

अन्तिम अपडेट: बैशाख १४, २०८१

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया