सुदूरपश्चिम सरकारको अधुरो काम : आईसीयू र भेन्टिलेटर पुग्यो, पुगेनन् जनशक्ति

 मंसिर १६, २०७७ मंगलबार २०:११:४३ | सीताराम ओझा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई आईसीयू र भेन्टिलेटर खरिद गरी हस्तान्तरण गरे पनि सञ्चालनमा ढिलाइ भएको छ ।  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गरी विभिन्न अस्पताललाई हस्तान्तरण गरिएका उपकरण सञ्चालनमा आउन ढिलाइ भएको हो । 

प्रदेशका विभिन्न अस्पतालहरुले आईसीयू जडान हुने क्रममा रहेको भए पनि दक्ष जनशक्तिको अभावका कारण सेवा सञ्चालनमा समस्या हुने बताएका छन् । प्रदेश सरकारले गएको वर्षको चैत १५ गते कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । निर्णय गरेको लामो समयपछि मात्र प्रदेश सरकारले भेन्टिलेटर खरिद गरेको थियो । तर अस्पतालमा भौतिक संरचना र दक्ष जनशक्तिको व्यवस्थापन नहुँदा उपकरण जडान र सञ्चालनमा समस्या देखिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डाक्टर निरज अर्यालले भन्नुभयो, ‘प्रदेश सरकारले सात पहाडी जिल्लाका अस्पतालसहित सेती, टीकापुर र महाकाली अस्पतालका लागि दुई÷दुई थान भेन्टिलेटर दिने हो । बाँकी व्यवस्थापन भने सम्बन्धित अस्पतालहरुले गर्नुपर्छ । भौतिक पूर्वाधारको अभावले अस्पतालहरुले उपकरण जडान गर्नमा ढिलाइ भएको हो ।’ आईसीयू र भेन्टिलर सञ्चालनमा तराईका भन्दा पहाडी जिल्लाका अस्पतालमा समस्या देखिएको हो । जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुपचन्द्र विश्वकर्माले पनि जनशक्ति अभावले उपकरण सञ्चालनमा ल्याउन  समस्या देखिएको बताउनुभयो ।’

जिल्ला अस्पताल अछाममा सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीद्वारा तालिम दिइएको छ । त्यस अस्पतालमा भेन्टिलेटर जडानको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालले बताउनुभयो । पहाडी जिल्लामा उपकरण मात्रै पठाएको प्रदेश सरकारले जनशक्ति भने सम्बन्धित अस्पतालले नै व्यवस्थापन गर्नुपर्छ भन्दै पन्छिएपछि सेवाको प्रभावकारिता नहुने सम्भावना देखिएको छ । केही दिनको लागि अहिले रहेका जनशक्तिबाट काम सुरु गरे पनि जनशक्ति थप नगरे सेवाको गुणस्तरमा सुधार नहुने चिकित्सको भनाइ छ ।

टीकापुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रेमकुमार राई भन्नुहुन्छ, ‘मेसिन आयो तर हामीसँग जनशक्ति छैन, जसका कारण उपकरण सञ्चालनमा आउन नसकेको हो ।’

(साथमा प्रदीप पाठक) 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया