दाइजोमा नगद !

 मंसिर २१, २०७७ आइतबार ९:४७:३३ | रासस
unn.prixa.net

कैलाली - कैलालीको टीकापुर नगरपालिका-५ का झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो । झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टि लेखिएको थियो ‘कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला ।’ आफ्नो परिवार वा आफन्तका छोरीको विवाह हुँदा सरसामान नै दाइजो दिने झरनालाई यो कार्डले नगद नै दाइजोमा दिन बाध्य बनायो ।

'कार्डमै सामान नदिनु भनिएको छ, यसको अर्थ नगद नै दिनुहोला भनेको हो नि', झरनाले भन्नुभयो, 'रकम दिए काम लाग्छ, सामान राख्ने ठाउँ अभाव हुन्छ भनेर होला । आजभोलि अधिकांशले दाइजोमा सामान लिन मान्दैनन् ।'

टीकापुरकी टङ्कमाया पोखरेललाई पनि साथीको विवाहको निम्ता कार्ड आयो । कार्डमा जिन्सी सामान नल्याउन र सामाजिक दूरी कायम गरेर आउन उल्लेख गरिएको छ । 'सामान आफूले चाहेजस्तो किनौँ भन्ने हुन्छ, आजभोलि मानिसले दाइजो नगद नै होस् भन्ने चाहन्छन्', टङ्कमायाले भन्नुभयो, 'सरसामान बोक्न झन्झट हुन्छ, रुपैयाँ भए काम लाग्छ भनेर नगद नै चाहनेहरु बढेका छन् ।'

विगतमा जिन्सी सामान दाइजोले भरिने विवाहमा आजभोलि जिन्सी सामान कमै देखिन्छन् । समाजशास्त्री शिवचरण चौधरी विगतमा कसको दाइजो कति आयो भनी हेर्ने समाज बिस्तारै परिवर्तन हुँदै गएको बताउनुहुन्छ ।

'केही वर्ष पहिला दुलही ल्याएमा दाइजो हेर्ने गाउँले जम्मा हुन्थे तर आजभोलि समय परिवर्तन भएको छ', समाजशास्त्री चौधरीले भन्नुभयो, 'आजभोलि हुने विवाहमा दुलही कति पढेकी छ, कहाँ जागिर गर्छ भन्ने चर्चा हुन्छ । यो विवाह संस्कारमा आएको सकारात्मक परिवर्तन हो ।' समाजशास्त्री चौधरीका अनुसार समाजले पढेलेखेकी र जागिरे बुहारी खोज्न थाल्नुले छोरीको महत्त्व बढेको छ ।

नेपालको कानुनले दाइजो लेनदेन गर्नु अपराध मानेको छ तर नेपाली समाजमा दाइजो प्रथा अझै कायम छ । विगतजस्तो दाइजो दिनेलिने चलन केही परिवर्तन भए पनि अन्त्य भने हुनसकेको छैन । आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन नमिल्ने भए पनि अझै दाइजो प्रथा अन्त्य नहुनुले पनि महिलामाथि हिंसा बढिरहेको अधिकारकर्मी नयनतारा श्रेष्ठ बताउनुहुन्छ ।

'परिपक्व बनाएकी छोरीको कमाइखाने बेला अर्काको घर पठाउनुपर्छ', श्रेष्ठ भन्नुहुन्छ, 'पढेलेखेकी, जागिरे छोरी विवाह गरी पठाउँदा पनि सरसामान भरिभराउ गरेर पठाउने चलन गलत होइन त ? सामाजिक व्यवहार ऐन, २०७५ मा विवाह गर्दा दाइजो लिन दिन नहुने उल्लेख छ तर समाजमा कार्यान्वयन हुनसकेको छैन । जन्ती जाँदा बाजागाजासहित ५१ जनाभन्दा बढी लैजान नहुने पनि ऐनमा उल्लेख छ । केटा वा केटी पक्षले विवाहभोजमा नजिकका नातेदारबाहेक छरछिमेक र इष्टमित्रमध्ये ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने व्यवस्था छ ।
 
'विवाहसम्बन्धी ऐनले छोरीको विवाह गर्दा अभिभावकलाई आर्थिक भार खप्नै नसक्ने अवस्था आउन नदिन केही सहयोग गरेको छ', शिक्षक हस्तलाल चौधरी भन्नुहुन्छ, 'नेपाली समाजमा धेरै छोरी दाइजोकै कारण हिंसा सहन बाध्य छन् । यसलाई रोक्न सबैभन्दा पहिले अभिभावक सचेत बन्नुपर्छ ।'

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया