पुल निर्माणमा काम गरेका सय मजदुरले डेढ वर्षसम्म पनि पाएनन् ज्याला

 मंसिर २४, २०७७ बुधबार १४:२६:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्वकाे सिस्ने गाउँपालिका २ र भूमे गाउँपालिका ५ जोड्ने वाबाङ्ग छिपतरा झोलुङ्गे पुल

रुकुम पूर्व – रुकुम पूर्वमा एक झोलुङ्गे पुल निर्माणमा काम गरेका एक सय मजदुरले निर्माण सम्पन्न भएको डेढ वर्षसम्म पनि ज्याला पाएका छैनन् । सिस्ने गाउँपालिका २ र भूमे गाउँपालिका ५ जोड्ने वाबाङ्ग छिपतरा झोलुङ्गे पुल निर्माणमा काम गरेका मजुदरले अहिलेसम्म पनि ज्याला नपाएका हुन् ।

२०७६ सालको असारमा निर्माण सम्पन्न भएकोे पुलमा काम गरेका सिस्ने गाउँपालिका ६ का डिल्लीबहादुर केसीले ठेकेदारले अहिलेसम्म पनि ज्याला नदिएर सम्पर्कविहीन भएको गुनासो गर्नुभयो । उहाँले आफूलाई सिमेन्ट सप्लायर्सको जिम्मासमेत दिएको बताउँदै सिमेन्टको झण्डै ७० हजार र ज्यालाको रकम पनि नभएको दुखेसो गर्नुभयो । सबै जनाको गरेर नौ लाख १९ हजार रुपैयाँ ठेकेदार नदिएर भागेको उहाँले जनाउनुभयो । 

सिस्ने गाउँपालिका ३ की यमुना केसीले आफूले सकि–नसकि गिट्टी र बालुवाको काम गरेको तर अहिलेसम्म ज्याला नपाएको बताउनुभयो । ‘म जस्तै सय मजदुरले पैसा पाएका छैनौँ’, उहाँले भन्नुभयो, ‘हामीले पेट छाक टार्नलाई काम गर्‍याैँ, काम सकेपछि ठेकेदार सम्पर्कमा छैन ।’  

कामदारहरूले ठेकेदारको खोजी र ज्यालाको लागि विभिन्न निकायमा अनुरोध गर्दै आएका छन् । सबै विवरण र पाउन बाँकी ज्याला रकम खुलाएर प्रहरीमा निवेदन पेस गरेको पुल निर्माणमा काम गर्नुभएका सिस्ने गाउँपालिका ५ का विश्व केसीको भनाइ छ । 

त्यस पुल निर्माणको ठेक्का बाजिरो मस्त निर्माण सेवा प्राली त्रिपुराकोट डोल्पाले लिएको थियो । यस विषयमा ठेकेदार बोद्ध सिंह कठायतलाई कामदरहरूबाटै प्राप्त उनको मोबाइल नम्बरमा पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । 

यस विषयमा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले यसअघि जानकारीमा नआएको तर अब तत्कालै छानबिन गरेर ठेकेदारको खोजी गरिने बताउनुभयो । कामदारलाई ज्याला नदिएको पाइएमा सह्य नहुने प्रजिअ राईले जनाउनुभयो ।  

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया