व्यङ्ग्य - गदगद नेपाल, खुशी र सुखी नेपाली !

 पुस ११, २०७७ शनिबार १०:५०:५३ | मिलन तिमिल्सिना
unn.prixa.net

चुनावमा भोट माग्ने बेला कम्युनिष्टहरुले भनेका थिए-पाँच वर्षमै देशले कोल्टे फेर्छ ।

नेपाल समृद्ध हुन्छ, नागरिक सुखी र खुशी हुन्छन् । तर उनीहरुले भने अनुसार हेर्न र भोग्न पाँच वर्ष पनि पर्खनु परेन । कम्युनिष्टको सरकार बनेको तीन वर्ष पुग्दानपुग्दै देशले कोल्टे फेर्यो । सरकार र सरकार चलाउने पार्टीले कोल्टे फेर्यो । आमनागरिकको आशा र विश्वासले कोल्टे फेर्यो ।

अस्तिताकासम्म देश पहिले जस्तो थियो, उस्तै थियो । कहीँ कतै हलचल नभइ ठिङ्ग मात्रै । प्रतिनिधि सभा पनि ठिङ्ग । दुई जना पाइलट भएको पार्टी पनि ठिङ्ग । जे गर्न खोज्यो त्यही गर्न सक्ने बलियो सरकार पनि ठिङ्ग । मन्त्री पनि ठिङ्ग, सांसद पनि ठिङ्ग । सबै स्थिर । हलचल त के अलिअलि चलमल समेत गर्न सकेनन् । कोल्टे फेर्नै सकेनन् । 

तर एकाएक यी सबै ठाउँमा एकैपटक हलचल आयो । प्रतिनिधिसभा गर्ल्यामगुर्लुम ढल्यो । देश र नागरिकको लागि के के न गर्छौं भनेर दौरासुरुवाल लगाएर सरकारमा गएका मन्त्रीहरु राजीनामा दिएर रातारात मन्त्री निवासबाट हिँडे । झण्डै दुई तिहाइको सरकारमा पहिरो गयो, सरकारले कोल्टे फेर्यो । 

अब हामी कहिल्यै झगडा गर्दैनौं भनेर अंकमाल गर्दै एक भएका कम्युनिष्ट पार्टीका नेताहरु जम्बो जेटबाट एकाएक भुईंमा पछारिए । दुई पाइलटले दुईतिर मोडेपछि जम्बो जेट टुक्राटुक्रा भयो । दुई पाइलटले हाँकेको जेटले पनि कोल्टे फेर्यो । 

बसिरहेको ठाउँले कोल्टे फेरेपछि पूर्वप्रधानमन्त्री र मन्त्रीहरु चिल्ला कार र आरामदायी कुर्सी छोडेर सडकमा झरे । चिसो भुईंमा पलेँटी कसेर बसे । छँदाखाँदाको पद र सुविधा छोडेर वरिष्ठहरु सडकमा पुगे । उनीहरुको आसनले कोल्टे फेर्यो ।

सबैतिर सबैले कोल्टे फेर्न पर्ने गरी बालुवाटार र खुमलटारलाई अलग अलग केन्द्रबिन्दु भएर निस्केको जालझेल र षडयन्त्रको धक्काले अहिले प्रदेश, पालिका र गाउँका वडा वडासम्म परकम्प ल्यायो । देशभरीकै मान्छे जर्याकजुरुक भए, जुर्मुराए । अर्थात पुरै देशले कोल्टे फेर्यो । देशले कोल्टे फेर्न पाँच वर्ष त के, तीन वर्ष पनि लागेन । भोट माग्ने बेलामा कम्युनिष्टहरुले जे भनेका थिए, त्यही भयो । देशले कोल्टे फेरेसँगै नेपाल र नेपालीको अवस्थामा पनि आमूल परिवर्तन आयो । सुखी, खुशी, अनि समृद्ध नेपाल र नेपालीको नारा यथार्थमा परिणत भयो ।

अस्तिताकासम्म कोरोनाको चिन्ता थियो । खोप कसरी आउला भन्ने पिर थियो । कोरोना सर्ला कि भन्ने डर थियो । गास, बास र कपास कसरी जुटाउने भन्ने अलमल थियो । छटपटी र निराशा थियो । सबैका अनुहारबाट हाँसो हराएको थियो । हाँस्न गाईजात्राको दिनसम्मै पर्खनुपर्ने हो कि भन्ने पनि चिन्ता थियो । तर हाँस्न गाईजात्रा पर्खनै परेन । पुसमै गाईजात्रा हेरेर हाँस्न पाइयो । बालुवाटारमा गाईजात्रा, खुमलटारमा गाईजात्रा, माइतीघरमा गाईजात्रा । दिनदिनै घोचपेच र दाउपेचको रमाइलो प्रहसन !

डाक्टरहरु भन्छन्, हाँस्ने मान्छे स्वस्थ हुन्छ । अरु तरिकाले नागरिकलाई स्वस्थ बनाउन नसके पनि सरकार र नेताहरुले हँसाएरै भए पनि नागरिकको स्वास्थ्यलाई सबल राख्न जोड दिएका छन् । राजनीति नतातेको भए पुसमा योभन्दा बढी जाडो हुन्थ्यो । जाडोमा झन् कोरोनाको डर हुन्थ्यो । तर एकाएक राजनीति तात्यो, जाडो हरायो । हाँसोसँगै मन तातो भयो । नेताहरुको दौडधूप बाक्लिएपछि र राजनीति तातिएपछि कोरोना पनि बेपत्ता भयो । 

यति मात्र होइन अब धमाधम रोजगारी पनि खुलेको छ । गफको मेलो मिलेको छ । कम्युनिष्ट एकता, चुनाव, संसद पुनस्र्थापना, सूर्य चुनाव चिन्ह, निर्वाचन आयोग, अदालत, माइतीघरको पलेँटी, ओली, प्रचण्ड, नेपाल, वामदेव, बादल, देउवा कसको मात्रै कुरा गरेर भ्याउनु ? दिनरात कुरा गरेर पनि नसकिने कुरा मिलेको छ । अब मान्छेलाई दिन कटाउन सास्ती भएन । के काम गर्ने भनेर झोक्राउन पनि परेन । कुरा गर्ने कुरा पाइयो । हाँस्न पाइने मसला मिल्यो । हाँस्नु र कुरै गरेर दिन कटाउन पाउनु भनेको सुखी र खुशी हुनु हो । 

अहिले गफ गर्ने काम पाइएको छ ।

अलि पछि चुनाव हुने छाँट आउन थाल्यो भने म्यादी प्रहरीमा भर्ना खुल्छ । हरेक दलका झण्डा बोक्ने र नारा भट्याउने काम पनि पाइन्छ । सित्तैमा खाजा र मासुभात खान पाइन्छ । काम भने काम, माम भने माम । कोरोनाले रुनु न हाँस्नु भएका नागरिकका लागि योभन्दा ठूलो अवसर के हुन सक्छ !

नेपाली मात्र होइन, नेपाल झन् बढी खुशी छन्, झन् धेरै दंग छन् । नपत्याए माधव नेपाललाई हेर्नुहोस् । पहिले दुई दुई ठाउँबाट चुनाव हारेर पनि प्रधानमन्त्री भएका थिए । अहिले महाधिवेशनमा हारेर पनि पार्टी अध्यक्ष हुन पाए । यसबीचमा ओलीले कहिल्यै अघि बढ्न दिएनन् । पेलेको पेल्यै गरे । पहिले एमालेमा छँदा पार्टी अध्यक्षमा हराए । पछि पार्टी एकता हुँदा झण्डै वरिष्ठबाट पनि मिल्काएका थिए ।

अध्यक्ष हुन पाउने त कहिले कहिले ? अहिले ओलीले देश र पार्टीलाई कोल्टे फेरिदिएपछि नेपालको भाग्य चम्कियो । गुमेको र ठेगान नभएको अध्यक्ष पद मिल्यो । त्यसैले नेपाल झन् धेरै खुशी र दंग छन् । नेपाल खुशी हुनु भनेको नेपाली खुशी हुनु हो, नेपाल समृद्ध हुनु हो ।

यसबीचमा रेल र तेल नआएर के भयो त ? अनेक खेल, जालझेल, बेमेल र संसद र पार्टी नै बगाउने भेल आयो । पानीजहाज नआएर के भयो ? पानीजहाज कार्यालय आयो । हुँदाहुँदै एकैपटक चुनाव आयो । हेर्दाहेर्दै चुनावी घोषणापत्र, नारा, भाषण, आश्वासन सुनेर त्यसैत्यसै गदगद हुन पाइने दिन पो आयो !
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया