ताप्लेजुङ आगलागी : पाथीभरा मन्दिर सुरक्षित, डढेलो भने फैलिँदै

 पुस १४, २०७७ मंगलबार ७:२७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङकाे पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ ।

मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलाे मन्दिर परिसरमै पुगेपछि हिजो (साेमबार) हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेकाे र तत्कालका लागि मन्दिरको जोखिम हटेको प्रजिअ चापागाईँले बताउनुभयो । तर आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको उहाँले बताउनुभयो ।

आज (मङ्गलबार) पनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्ने उहाँले बताउनुभयो । स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि हिजो (साेमबार) बिहान एक्कासी फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । रातको समयमा डढेलो केही कम भए पनि बिहान हावा चल्न थालेपछि फैलने गरेको प्रजिअ चापागाईँकाे भनाइ छ । 

डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने त्यहाँ रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ ।

आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ । फुङलिङ नगरपालिका–११ को पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि सुरु भएको आगो कसरी फैलियाे भन्नेबारे खुलेकाे छैन । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया