मुस्ताङमा नौ महिनापछि खुले होटल, पर्यटकको चहलपहल( फाेटाे फिचर )

 पुस २०, २०७७ सोमबार १२:२१:२२ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ - हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड-१९ का कारण बन्द होटल व्यवसाय खुलेसँँगै पर्यटकको चहलपहल सुरु भएको छ । विश्वभर फैलिएको कोभिड-१९ को सङ्क्रमण फैलन नदिन लकडाउनले ९ महिनादेखि बन्द होटल व्यवसाय सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरु मुस्ताङ पुग्न थालेका छन् । 

बन्द होटल, व्यवसाय खुला गर्ने निर्णयपछि अहिले पोखरा, बुटवललगायत विभिन्न ठाउँका पर्यटकहरु भ्रमणमा आएको मुस्ताङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो ।

लामो समयसम्म बन्द होटल तथा रेष्टुरेण्टहरु खुलेपछि अहिले पर्यटकको आगमन सुरु हुन थालेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार संघको निर्णयबाट गएकाे बिहीबारदेखि मुस्ताङमा होटल, व्यवसाय खोलिएको हो । 

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं पर्यटन व्यवसायी समेत रहनुभएका तुलाचनले जिल्लामा बन्द होटल व्यवसाय सञ्चालनमा आएको विषयमा जानकारी दिँदै भन्नुभयो- ‘सबैलाई मुस्ताङ भ्रमणको चुले निम्तो छ, आउनुहाेस् मज्जाले घुमेर जानुहाेस् ।’ 

मुस्ताङ जिल्लाको कला, संस्कृति र परिवेशसमेत छुट्टै रहेकाले यसको विविध आयामहरुको अध्ययन तथा अवलोकनका लागि धेरै क्षेत्रहरु रहेको उहाँको भनाइ छ । कोरोना भाइरसकै कारण लामो समयसम्म होटल व्यवसाय बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष असर परेपछि पछिल्लो समय लकडाउन खुला भएसँगै अन्य क्षेत्र पनि खोलिएको छ । 

यसैगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर पनि आउँदो मङ्गलबार सर्वसाधारणहरुका लागि खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । 

मुक्तिनाथ विकास समिति, स्थानीय प्रशासन, संघ तथा प्रदेशका सांसदहरु, जिल्ला समन्वय समिति, गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी बैठकमा मन्दिर खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो ।

मन्दिर खुला गरिने हुँदा सर्वसाधारणलाई स्वास्थ्यका सम्पूर्ण मापदण्डहरुको पालना गर्न आग्रह गरिएको छ । 

मुस्ताङमा स्याउको राजधानी मानिने मार्फा, थकाली समुदायको उद्गमस्थल ठिनीगाउँ, जोमसोम बजार, यारुजो डाँडा, ढुम्बाताल, प्रमुख पर्यटकीय एवं धार्मिकस्थल मुक्तिनाथ, कागबेनी, लोमान्थाङ र मुस्ताङ–तिब्बत कोरला नाका पर्यटकको आकर्षणका केन्द्र मानिन्छन् । 

विगत केही वर्षयता मुस्ताङमा विदेशीभन्दा नेपालको विभिन्न जिल्लाबाट स्वदेशी पर्यटकहरुको चाप बढेको होटल व्यवसायीको भनाइ छ । हिमाली जिल्लाको छुट्टै पहिचान बनाएको मुस्ताङ जिल्ला आफैँमा पनि निक्कै सुन्दर तथा आकर्षक मानिन्छ । 

म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि लेते, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्म कुल १ सय ६५ ओटा पर्यटकीय होटलहरु सञ्चालनमा रहेका छन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा छोन्हुपमा ४२ ओटा साना, मझौला र ठूला होटलहरु सञ्चालन गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया