‘वाईसीएल र युथ फोर्स होइन टोलटोलमा साइबर सेना बनाउनुपर्छ’

 पुस २१, २०७७ मंगलबार १९:५४:३४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्डले सूर्य चिह्नलाई माया गर्नु नक्कली माया भएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

नेता बस्नेतले प्रचण्डलाई २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको चुनावमा सिराहामा लीलानाथ श्रेष्ठले जितेको सूर्य चिह्नको मतपत्र च्यातेर चुनाव जितेको बताउँदै २०७४ सालमा सम्पन्न पालिका चुनावमा चितवनमा आफ्नी छोरी रेणु दाहाललाई मतपत्र च्यातेर चुनाव जिताएको आरोप लगाउनुभयो । त्यसैले उहाँले भन्नुभयो– ‘प्रचण्डले छातीमा सूर्य चिह्न टाँसेर हिँड्नु त्यो नक्कली माया मात्रै हो ।’

प्रचण्ड कहिले रोल्पाबाट, कहिले सिराहा र कहिले चितवनबाट चुनावमा लड्ने गरेको आरोप लगाउँदै नेता बस्नेतले आगामी चुनावमा प्रचण्ड कहाँबाट उठ्ने हो भन्ने ठेगान नभएको बताउनुभयो । 
उहाँले चितवनको चुनावमा प्रचण्डले नेपाली कांग्रेसलाई त्यहाँको निर्वाचन क्षेत्रमा विक्रम पाण्डेलाई नउठाइदिनसमेत आग्रह गरेको आरोप लगाउनुभयो । नेता बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालय कब्जा, बैंक खाता रोक्का गर्ने जस्ता कार्य नगर्न प्रचण्ड आग्रह गर्दै त्यस्तो गरेमा सह्य नहुने चेतावनी दिनुभयो । 

पूर्वमन्त्री तथा राष्ट्रिय युवा सङ्घका इञ्चार्जसमेत रहनुभएका नेता बस्नेतले अहिले नेकपामा जति पनि पार्टीका कमिटीहरु गठन भएका छन्, जति पनि सदस्यहरु मनोनित भएका छन्, ती सबै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा भएकाले आधिकारिक भएको बताउनुभयो । उहाँले आगामी चुनावका लागि केपी ओली नेतृत्वको नेकपाले सूर्य चिह्न पाउनेमा कुनै विवाद नभएको तर्क गर्नुभयो । उहाँले अहिले नेकपा विभाजित भएर प्रचण्ड–नेपाल पक्षमा लागेका नेता, कार्यकर्ताहरु फेरि केपी ओलीको पार्टीमै फर्किने दाबी गर्नुभयो ।   

नेता बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव संसदीय दलको बैठकमा दर्ता गर्नुपर्नेमा प्रचण्ड–नेपाल पक्षले संसदीय सचिवालयमा दर्ता गरेपछि नेकपा आधिकारिक रुपमा विभाजित भएको बताउनुभयो ।

केपी ओलीले सरकार गठन गर्दा दुई महिनासम्म अल्झाएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘त्यो लोकतान्त्रिक हुने अनि बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनावको घोषणा गर्नु कसरी अलोकतान्त्रिक हुन्छ ?’ भन्दै प्रश्न गर्नुभयो । 

‘समृद्ध नेपाल र सुखी नेपाली’ योजनाको परिकल्पनाकार केपी ओली भएको बताउँदै नेता बस्नेतले अहिलेको सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त बनाएको बताउनुभयो । उहाँले आजको भू–राजनीतिमा चीन र भारतलाई गाली गर्ने नभइ अन्तर्राष्ट्रियस्तरमा नेपालको सुमधुर सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता बस्नेतले अब वाईसीएल र युथ फोर्स बनाउने नभइ टोलटोलमा साइबर सेना बनाउनुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

1 Comments

  • Arrobaca

    Jan. 6, 2021, 1:31 a.m.

    अलि लाज लाग्नुपर्ने हो नि २०६४ पछिको सम्पत्ति हेर्नुहोला यो मान्छेको ............

  •  0 Reply

तपाईको प्रतिक्रिया