डेढ महिनासम्म पनि नियन्त्रणमा आएन मनाङकाे वनमा लागेकाे आगाे

 पुस २८, २०७७ मंगलबार २०:१:२० | रासस
unn.prixa.net

मनाङ – हिमाली जिल्ला मनाङको चामे गाउँपालिका २ थानचोकको वनबाट मङ्सिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । अहिले यो आगलागी नासो गाउँपालिका ८ ताचैसम्म पुगेको छ । 

आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर पर्‍यो भन्ने लेखाजोखा छैन । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेसीसहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दुरीमा पर्दछ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षणमा रहेको छ । 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । ‘हाम्रो प्रयत्न छ । हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ । मानवले गर्न सक्नेसम्म जति हामी गर्छौं । मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ’, उहाँले भन्नुभयो, ‘अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुन सक्छ ।’

अर्का स्थानीय तथा यस क्षेत्रका सीएमसीका अध्यक्ष याद घलेले हिमाली क्षेत्रको जङ्गलमा लामो समयदेखि लागेको आगोबाट महत्त्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप भएको बताउनुभयो । ‘प्रशासन र जनप्रतिनिधिले पनि सहयोग गरेनन्, छिमेकी पनि मुकदर्शक बने’, उहाँले भन्नुभयो । आगलागी भएको क्षेत्र जङ्गलमा थार, घोरल, कस्तुरी, मृग, हिउँचितुवा जस्ता वन्यजन्तु र  पाँचऔँले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बालगायत जडीबुटी पाउने गरिन्छ ।

आगलागी फैलँदै जाँदा नजिकैको ताचै गाउँ जोखिममा परेको छ । ताचैमा ६० घरपरिवारको बसोबास रहँदै आएको छ । डेढ महिनामा मात्र प्रशासनको उपस्थिति देखिएको छ । स्थानीयवासीले हारगुहार गर्दासमेत प्रशासनले नसुनेको उनीहरू बताउँछन् । सोमबारमात्र प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र एक्यापका प्रतिनिधि आगलागी भएको क्षेत्रमा पुगेको छ । आगलागीले मानव बस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले आफ्नो उपस्थिति देखाएको हो । 

स्रोत, साधन अभाव र भौगोलिक विकटताले आगो नियन्त्रणमा चुनौती थपिएको छ । स्थानीयवासी र सुुरक्षा निकायले स्याउलाको प्रयोग गरेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । यसबाहेक सुरक्षा निकायसँग रहेको सामान्य साधनबाहेक अरू केही छैनन् । जसले आगो नियन्त्रणमा चुनौती थपिएको छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया