दाना–खुर्कोट प्रसारण लाइन जोड्ने तयारी अन्तिम चरणमा

 पुस २९, २०७७ बुधबार २०:५:० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सब–स्टेशन परीक्षण गरी जोड्ने तयारी सुरु भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को दानादेखि पर्वतको खुर्कोट खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनः परीक्षणको काम थालिएको हो । 

यसअघि दाना सब–स्टेशन र पर्वतको खुर्कोट सब–स्टेशनमा पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि पुनः दोस्रो अर्थात् अन्तिम चरणको परीक्षण भइरहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाले जनाएको छ । अहिले कुस्माको तल्लो मोदी १३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका काम भइरहेको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले जानकारी दिनुभयो । 

तल्लो मोदी आसपासका क्षेत्रको अनुगमन तथा बाटोमा पर्ने रुख काट्ने तथा अन्य काम पनि भइरहेको छ । दाना–खुर्कोट खण्डमा निर्माणका सबै कामलाई अन्तिम चरणमा पुर्‍याइएको आयोजनाका सहायक निर्देशक भट्टराईले बताउनुभयो । उहाँका अनुसार खुर्कोटभन्दा अगाडि बुटवलसम्मको खण्डमा पनि आयोजना निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेको छ । दानादेखि खुर्कोटसम्म यसअघि नै प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर निर्माण तथा तार तान्नेलगायत सबै काम सकिएको छ । 

म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सब–स्टेशन तथा त्यसबीचमा ११० वटा टावर निर्माण गरी ३९ दशमलव ६ किलोमिटर लामो तार टाँगिएको छ । एसियाली विकास बैंकको तीन अर्ब रुपैयाँ ऋण सहयोग तथा नेपाल सरकारको झण्डै ८० करोड रुपैयाँको लागतमा दाना–खुर्कोट खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक भट्टराईको भनाइ छ ।

कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो । आर्थिक वर्ष २०७१/०७२ मा निर्माण सम्झौता भइ आव २०७५/०७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको छ । 

निर्माणका क्रममा विभिन्न ठाउँमा बाढी पहिरो, टावर ठड्याउने तथा तार तान्ने ठाउँमा स्थानीयको अवरोध, मुआब्जा वितरणमा समस्या र पछिल्लो समय विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले गएको चैत ११ गतेदेखि गरिएको लकडाउनले तोकिएको समयमै आयोजना सम्पन्न हुन ढिलाइ भएको जनाइएको छ ।

अब भने छिटै आयोजनामार्फत बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने तयारी सुरु भएको छ । अहिले विभिन्न जलविद्युत् आयोजनाको पावर हाउसबाट उत्पादित विद्युतलाई दाना सब–स्टेशनमा पठाएर जडान गर्ने कामलाई अगाडि बढाइएको छ । 

अहिले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको दाना–खुर्कोट खण्डमा ९८ प्रतिशत काम सकिएको छ । दाना सब–स्टेशनमा ४२ मेगावाट क्षमताको मिरिस्ती खोला र ५ मेगावाट क्षमताको घलेम्दी खोलाबाट उत्पादित विद्युतसहित ४७ मेगावाट विद्युत् तुरुन्तै जोडिने भएको छ । यसपछि मुस्ताङको थापाखोलाको १३ दशमलव ६ मेगावाट विद्युत् पनि दाना सब–स्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया