हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै मनाङकाे आगाे

 माघ २३, २०७७ शुक्रबार १७:१८:२६ | रासस
unn.prixa.net

मनाङ – लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ । 

झण्डै दुई महिनादेखि लागेको आगो नियन्त्रणमा आउन कठिन भएको अवस्थामा मौसमी परिवर्तनले मनाङको आगो नियन्त्रणमा आउँदै गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । मौसमी परिवर्तनले पहाडी तथा तराई क्षेत्रमा वर्षा भएसँगै हिउँ परेपछि आगो आफै नियन्त्रणमा आउन लागेको लामिछानेले बताउनुभयो ।

‘हिउँ नपर्दा मनाङका जङ्गलमा लागेको आगो नियन्त्रणमा कठिन भएको थियो, शुक्रवार बिहानैबाट हिउँ पर्न थालेपछि आगो नियन्त्रणमा आइरहेको छ, हिउँ पर्न थालेपछि पूर्णरूपमा आगलागी नियन्त्रणमा आउनेछ’, उहाँले भन्नुभयो । मानव संशाधन प्रयोग गरेर नियन्त्रणमा लिन नसकेको आगलागीलाई प्रकृतिले नियन्त्रण गरेको उहाँको भनाइ छ । 

लामो समयदेखि मनाङका विभिन्न जङ्गलमा लागेको आगोले केही गाउँ, बस्ती जोगाउन हम्मेहम्मे परेको थियो । हिउँ नपर्दा लागेको आगोले त्यस क्षेत्रका मानवीय बस्ती जोगाउन मुस्किल भएकै थियो भने जङ्गली जनावरको बासस्थान मासिएका छन् । कति जङ्गली जीवजन्तु मासिएका छन् भन्नेसमेत यकिन गर्न सकिएको छैन ।

मनाङको जङ्गलमा संरक्षित पशुपक्षीको बासस्थान मासिँदा स्थानीयवासीसमेत चिन्तित बनेका छन् । मनाङको जङ्गलमा घोरल, चितुवा, भालुलगायतका विभिन्न पशुपक्षीको बासस्थान मासिएको छ । मानव बस्ती जोगिए पनि जङ्गली पशुपक्षीको बासस्थान भने जोगिएको छैन । 

हिउँ परेपछि आगो नियन्त्रणमा आउँदा सुरक्षित महसुस भएको नासो गाउँपालिका ८ ताजैगाउँकी स्थानीय काशी गुरुङले बताउनुभयो । ‘आगलागी हुँदा कैयौँ दिन खान र सुत्नसमेत सकेका थिएनौँ, हिउँ परेपछि आगो नियन्त्रणमा आएको छ, खुसी लागेको छ’, उहाँले भन्नुभयो । हिउँ परेपछि मनाङवासी अहिले हर्षित भएका छन् । हिउँ परेपछि आगो नियन्त्रणमा आउनु र हिउँले उत्पादनमा टेवा पुर्‍याउने भन्दै मनाङवासी हर्षित भएका हुन् ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया