वर्षासँगै म्याग्दी र मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (तस्बिरसहित)

 माघ २४, २०७७ शनिबार १४:१२:५० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – शुक्रबार बिहानैदेखि परेको वर्षासँगै भएको हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीका डाँडाकाँडाहरु सेताम्य बनेका छन् । विभिन्न स्थानमा हिमपात भएको छ । वर्षा र हिमपातसँगै चिसो बढेपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा चराङमा एक फीटसम्म बाक्लो हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले टेलिफोनमा बताउनुभयो । यसैगरी मुक्तिनाथ, कागबेनीमा पनि एक फीटसम्म हिउँ जमेको छ भने हिमपातकै कारण कागबेनीभन्दा माथि यातायात चल्न नसकेको उहाँले जानकारी दिनुभयो ।

मुस्ताङमा बिहानसम्म हिउँ परेको भए पनि सदरमुकाम जोमसोममा भने अहिले सामान्य घाम लागेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो । उहाँका अनुसार मुस्ताङको लेतेमा समेत आधा फीट हिउँ जमेको छ । मुस्ताङको तापक्रम माइनसमा झरेको छ भने चिसो बढेपछि सर्वसाधारणहरु घरभित्रै बस्न बाध्य छन् ।

यसैगरी म्याग्दीमा पनि यो वर्षको पहिलो हिमपात भएको छ । मौसममा आएको परिवर्तनका कारण यसवर्ष माघ महिनाको अन्तिममा एक्कासि वर्षा र हावाहुरीसँगै म्याग्दीको सदरमुकाम नजिकका बस्तीहरूको माथिल्लो भेगमा हिमपात भएको हो । शुक्रबार बिहानैदेखि परेको वर्षासँगै भएको हिमपातका कारण स्थानीयबासीन्दालाई सास्ती भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुईनेमङ्गले, टोड्के, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा, नांगी लगायतका क्षेत्रमा हिमपात भएको छ ।

यसैगरी बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, पुलाचौर, डडुवा, गाजने, ढोल्ठान, पात्लेखेतसहितका माथिल्लो क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । जिल्लाको उच्च भेगहरुमा एक फीटबढी हिमपात भएको छ भने तल्लो बस्तीका अधिकांश ठाउँहरुमा झण्डै आधा फीटसम्म हिउँ जमेको छ । लेकाली बस्तीहरुको घर आँगनको कुना कुनासम्म हिउँ जमेको छ ।

हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर निस्कन, शौचालय जान र वस्तुभाउलाई घाँसपानी र कुँडोफाँडो खुवाउन समस्या भएको छ । हिमपातपछि सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने यातायात सेवा अवरुद्ध बनेको छ भने सवारीसाधनहरु नचल्दा सडक सुनसान छन् । २०६३ साल फागुन २ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा समेत हिमपात भएको थियो । पछिल्लो समय विगत तीन वर्षदेखि जिल्लाको तल्लो क्षेत्रमा पनि हिमापात हुँदै आइरहेको छ ।

म्याग्दी सदरमुकाम बेनीबजारमा भने बिहानदैखि मध्य दिउँसोसम्म पानी परेको थियो । अहिले पानी पर्न रोकिएको भए पनि हिजो अस्तिको तुलनामा आज चिसो बढेको छ । चिसो बढेपछि स्थानीयले सडक र चोकचोकमा आगो बालेर तापेका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया