लकडाउनमा सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

 माघ ३०, २०७७ शुक्रबार १३:४७:४६ | भावुक योगी
unn.prixa.net

बर्दिया - आफ्नै गाउँमा तरकारी खेती गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बर्दियाको ठाकुरबाबा नगरपालिका-४ लसिउरा फाँटा मुक्तकमैया बस्तीका तीन जना कृषकले दिनुभएको छ । 

थारु समुदाय विकास मञ्च भुरिगाउँले कोसेली परियोजना अन्तर्गत लसिउरा फाँटा गाउँमा गठन गरेको लसिउरा कृषक समूहका विपन्न समुदायका सदस्यहरुले उदाहरणीय तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । 

सुकुम्बासी तथा मुक्तकमैयाको बस्ती विपन्न समुदायहरुको बसोबास रहेको बर्दिया ठाकुरबाबा नगरपालिका-४ सैनवार गाउँ लसिउरा फाँटाको लसिउरा कृषक समूहमा २५ जना सदस्यहरु छन् । जसमध्ये समूहकी सचिव जानकी थारुसहितका तीन जनाले मात्रै सामूहिक रुपमा सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरेर गतिलो उदाहरण दिएका छन् । 

बेमौसमी तरकारी बेचेर सुरुवाती पहिलो लटमै २८ हजार रूपैयाँ आम्दानी गर्न सफल भएको जानकीले बताउनुभयो । जानकी भन्नुहुन्छ ‘पहिले परम्परागत रुपमा तरकारी गरिन्थ्यो । दुई/चार सय पनि अर्कासँग सापटी माग्नु पर्थ्यो । अहिले त व्यवसाय गर्न थालेपछि हातभरि पैसा हुन्छ, खुसी लाग्छ ।’ 

 थारु समुदाय विकास मञ्चले कोसेली परियोजना अन्तर्गत गठन गरेको कृषक समूहमा बचत गर्न थालेपछि केही गरौँ भन्ने सोच लिएर झण्डै एक वर्ष अघिदेखि सामूहिक तरकारी खेती सुरु गरेका हुन् । 

‘तरकारी बेचेर हरेक हप्तामा ८ देखि १० हजार अथवा दुई/तीन हप्तामा २० देखि २५ हजार रुपैयाँ भयो भने बाँडिहाल्छौँ । लकडाउनका बेलादेखि सुरु गरेको तरकारी खेतीबाट तरकारी बेचेरै एक जनालाई मासिक ८ हजारसम्म आम्दानी भइहाल्छ’ जानकीले भन्नुभयो । बेमौसमी तरकारी खेतीबाट भएको आम्दानीले घर खर्च चलाउन र समूहमा मासिक बचत गर्नसमेत सहज हुन थालेको उहाँले बताउनुभयो ।

उनीहरुले गाउँमै ११ कठ्ठा ५ धुर जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका हुन् । ' तरकारी खेती गर्नका लागि सीता र बुद्धिरामसँग भएको दुई जनाको ४/४ कठ्ठा जग्गा र मेरो ३ कठ्ठा ५ धुर जग्गा गरेर ११ कठ्ठा ५ धुर जग्गा भाडामा लिएका हौँ, तीन वर्षका लागि एक जनालाई १५ हजार रुपैयाँ जग्गा भाडाबापत दिने सम्झौता गरेर तरकारी खेती सुरु गरेको हुन् 'उहाँले भन्नु भयाे । 

 तरकारी खेतीमा कुल लागत २ लाख २६ हजार भएकोमा ठाकुरबाबा नगरपालिकाको कृषि शाखाबाट २ लाख ४ हजार ५ सय रुपैयाँ अनुदान पाएको जानकीले बताउनुभयो । 

 २१ हजार ५ सय रूपैयाँबाट तरकारी खेती सुरु गरेको उहाँले बताउनु भयाे । 'काउली, बन्दा, टमाटर, खुर्सानीलगायतका तरकारीका बेर्ना पनि तयार गरिरहेका छाैं । अहिले त च्याउ खेती पनि सुरु गरेका छौँ । नगरपालिकाको कृषि शाखाबाट अनुदानबापत आर्थिक सहयोग पाएपछि तरकारी खेती गर्ने आँट बढेको छ' उहाँले भन्नुभयो ।

आयआर्जनका लागि थारु समुदाय विकास मञ्चको कृषक समूहमा आबद्ध हुँदा त्यहाँबाट पाएको तालिमले गर्दा आफू तरकारी खेतीमा आकर्षित भएको र ठाकुरबाबा नगरपालिकाको कृषि शाखाले प्रदान गरेको सहयोगले थप हौसला मिलेको मञ्चका अध्यक्ष​ चल्टुराम थारुले बताउनु भयाे ।

'बेमौसमी तरकारी खेती गर्न सुरु गरेको पहिलो लटमै खर्च कटाएर २८ हजार रुपैयाँ आम्दानी भयो, अब त आम्दानी बढ्दै जानेमा विश्वास बढेको छ । बेमौसमी तरकारी खेतीबाट कमाइ हुन थालेपछि अब उनीहरुलाई महिनामा १०/१२ हजार कमाउन दुःख छैन । ठाकुरबाबा नगरपालिकाको कृषिशाखाले पनि अनुदान सहयोग गर्यो खुसी लागेको छ' उहाँले भन्नुभयो ।

सुरुकै वर्षमा तरकारी खेतीका लागि सहयोग पाएपछि तरकारी खेती गर्नमा थप हौसला मिलेको उहाँको भनाइ छ । 'अहिले खेतबारीमा उत्पादन भएको तरकारी बेच्न समस्या छैन, घर नजिकैको भुरिगाउँ बजारमा लगेर बेचिन्छ । कहिलेकाँही बजारबाट तरकारी लिन घरमै आउँछन् । बजारको समस्या छैन' उहाँले भन्नुभयो । 

जानकी गाउँमै बसेर पनि मेहनत गरे राम्रो कमाइ गर्न सकिन्छ भन्ने सुझाव दिनुहुन्छ । बेरोजगारीका कारण भन्दै सयौँ युवाहरु रोजगारीको खोजीमा छिमेकी देश भारतलगायत खाडी देश पलायन भइरहेको अवस्थामा मेहनत गरे जहाँ पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण जानकीको समूहले दिएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया